स्थानीय तहको निर्वाचनमा देशका अधिकांश पालिकाहरुमा सत्तारुढ दलहरुको गठबन्धन बन्यो। नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी, जसपा, जनमोर्चा लगायतका पार्टीहरु एक भए। तर झापाको दमकमा भने गठबन्धन मात्रै बनेन महागठबन्धन बन्यो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा एमालेका उम्मेदवारलाई हराउन कांग्रेस-माओवादीको सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत मिसियो।
दमकमा राप्रपाका राम थापा १७ हजार ५२५ मत ल्याएर मेयरमा विजयी भए। महागठबन्धनका उम्मेदवार राम थापाले एमालेकी गिता अधिकारी भन्दा ५५९ मत ल्याए। अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन्।
उपमेयरमा पनि गठबन्धन दल कांग्रेसकी रेगिना भट्टराईले एमालेका अम्बिका खनाल भन्दा ४९८ बढी मत ल्याइन्।
स्थानीय तहको निर्वाचन सकिएको ६ महिनापछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। यो निर्वाचनको मौसम मात्रै फेरिएको छैन, राजनीतिक समीकरण पनि फेरिएको छ। महागठबन्धनमा रहेर दमकमा प्रमुख पद जितेको राप्रपा अहिले एमाले क्याम्पमा छ।
स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष ओलीको कडा आलोचना गर्ने थापाले झापा क्षेत्र नम्बर ५ प्रतिनिधि सभा निर्वाचनमा मनोनयन दर्ता गराएका उनै ओलीलाई सयपत्री फूलको माला लगाउँदै विजयको शुभकामना दिए। थापाले ओलीलाई माला मात्रै लगाएनन्, ओलीलाई जिताएर पठाउने वचनसमेत दिए।
५ महिना पनि नबित्दै दमक ५ मा फेरिएको राजनीतिक समीकरण जति रोचक छ, त्यो भन्दा पनि रोचक चुनावी प्रतिस्पर्धा सुरु भएको छ।
झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष ओलीसँग सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन्। उनी २०७४ को निर्वाचनमा पनि ओलीका प्रतिस्पर्धी थिए।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओलीले ५७ हजार १३९ मत ल्याउँदा अधिकारीले २८ हजार २९७ मत पाएका थिए।
यस पटक एमाले अध्यक्ष ओलीसँग भिड्ने झापा ५ को चुनावी मैदानमा १४ जना त स्वातन्त्र उम्मेदवार नै छन्। ती मध्ये एक हुन् दीपककुमार पाठक अर्थात् युग पाठक।
उनी लामो समय काठमाडौं केन्द्रित रहेर पत्रकारिता र विश्लेषण गर्दै आएका व्यक्ति हुन्। स्वतन्त्र मध्ये उनको चर्चा झापामा मात्रै होइन देशैभरी छ। उनले एक महिना अघिबाटै आफ्नो चुनावी अभियान थालेका छन्।
झापाका ५ वटा निर्वाचन क्षेत्रमध्ये प्रतिनिधि सभामा सबैभन्दा बढी २७ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए।
राप्रपा–एमाले घाँटी जोडियो मन बाँकी
झापामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रभाव जति छ, त्यति नै झापा ५ मा प्रभाव राख्न सक्ने व्यक्ति हुन् राम थापा। उनको यही प्रभावका कारण सत्ता गठबन्धले मेयर पद छाड्न तयार भएको थियो। व्यक्तिगत प्रभावकै कारण उनले एमालेलाई हराउँदै मेयर पनि जिते।
निरन्तर दमक क्षेत्रको विकास निर्माण र जनताको सुख दु:खमा सहभागी थापाले स्थानीय तहको निर्वाचनका बेला यो गठबन्धन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म रहने बताएका थिए।
तर ५ महिना नबित्दै उनले बोली फेरेका छन्। उनी अहिले परिस्थिति फेरिएको भन्दै एमालेसँग तालमेल गर्नु परेको बताँउछन्। उनले नेपालको राजनीतिक समीकरण फेरिरहने भन्दै परिस्थितिअनुसार राजनीति हुने बताए।
‘हामी स्थानीय तहमा पनि नीति सिद्धान्त मिलेर कांग्रेस-माओवादीसँग गठबन्धनमा गएका थिएनौँ’ उनले भने, ‘परिस्थिति मिलेकाले भएको थियो। अहिले एमालेसँग परिस्थिति मिलेकाले गठबन्धन भयो।’
राप्रपा दमकका अध्यक्ष हेम सुवेदीले एमाले अध्यक्ष ओलीलाई मत माग्न समस्या नहुने बताए।
‘कार्यकर्ताका बीचमा पहिलाबाटै छलफल भइरहेको छ। राप्रपालाई राष्ट्रिय पार्टी बनाउन एमालेसँग तालमेल गर्नु परेको भन्नेमा कार्यकर्ता कन्भिस छन्’, उनले भने।
शुभचिन्तक र मतदातामा फेरिएको परिस्थिति बुझाउन नेता–कार्यकर्ता पुग्ने उनले सुनाए।
एमाले नेता तथा कार्यकर्ताहरु पनि स्थानीय तहको निर्वाचनलाई भुलेर नयाँ स्पिरिटमा पार्टी अगाडि बढेको बताउँछन्।
एमाले स्थायी कमिटी सदस्य तथा त्यही क्षेत्रबाट प्रदेश सभाका उम्मेदवार हिक्मत कार्की परिस्थति फेरिएका कारण राप्रपासँग चुनावी तालमेल गरिएकाे दाबी गर्छन्।
‘एउटा परिस्थितिले स्थानीय तहको निर्वाचन भयो। भिन्न परिस्थितिमा प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा हामी होमिएका छौँ’, कार्की भन्छन्, ‘राप्रपा र एमाले एक भएर चुनावी मैदानमा होमिएका छौँ। भिन्न परिस्थितिमा सत्ता गठबन्धन विरुद्धमा एमाले–राप्रपा गठबन्धन अगाडि बढेछ।’
स्थानीय निर्वाचनमा एमाले बलियो
झापा क्षेत्र नम्बर ५ मा २९ वटा वडा रहेका छन्। झापाको दमक नगरपालिका, कमल गाउँपालिका सबै यसै क्षेत्रमा पर्छन्।
गौरादह नगरपालिकाको वडा नम्बर १, २,३,४,५,६,७ र वडा र गौरीगञ्ज गाँउपालिकाको ३,४,५,६ वडा सो क्षेत्रमा पर्छ। दमकका १० वटा वडा मध्ये ७ वटा वडा एमालले जितेको छ। दुई वटा कांग्रेसले जित्दा राप्रपाले एउटा वडा अध्यक्ष जितेको छ।
कमल गाउँपालिकामा भने अध्यक्ष कांग्रेसले जितेको छ। १२ हजार ८ सय ६८ मत ल्याएर कांग्रेसका हुकुम सिंह राई विजयी हुँदा उपाध्यक्षमा भने एमालेका प्रमिला न्यौपाने १० हजार ८४५ मत ल्याएर विजयी भएकी थिइन्।
एमालेले कमल गाउँपालिकामा ३,४,६ र ७ नम्बर वडा अध्यक्षमा विजय हासिल गरेको छ भने कांग्रेसले वडा नम्बर १ माओवादीले ५ नम्बर र एकीकृत समाजवादीले वडा नम्बर ५को वडाअध्यक्ष जितेको छ।
झापा क्षेत्र नम्बर ५ मा पर्ने गौरादह नगरपालिकाको मेयर र उपमेयर नै एमालेले जितेको छ। यो क्षेत्रमा पर्ने सात वटा वडाका अध्यक्षमध्ये एमालेले ४ वटा वडा अध्यक्ष जितेको छ। कांग्रेसले २ वटा वडा अध्यक्ष जितेको छ भने वडा नम्बर ३को वडा अध्यक्षमा स्वतन्त्र विजयी भएका थिए।
गौरीगञ्ज गाँउपालिकामा पनि एमालेले अध्यक्ष उपाध्यक्ष नै जितेको छ। झापा क्षेत्र नम्बर ५ अन्तरगत पर्ने ४ वटा वडा मध्ये एमालेले ३ वटा वडाअध्यक्ष जितेको छ। एउटा वडाअध्यक्ष भने कांग्रेसले जितेको छ।
स्थानीय तहको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेले वडामा पाएको मत हेर्दा सबै भन्दा अगाडि छ।
त्यहाँ एमालेको वडागत मत ४१ हजार ६ सय १९ हो। कांग्रेसले २२ हजार, माओवादीेले १० हजार ७८८, राप्रपाले ८ हजार ३५९ र एकीकृत समाजवादीले १ हजार ९८८ मत पाएको छ।
सो क्षेत्रमा राप्रपालाई समेत वडामा आएको मत जोड्ने हो भने एमाले राप्रपा गठबन्धनको मत ४९ हजार ९७८ हुन आउँछ भने सत्ता गठबन्धनको मत ३४ हजार ७७६ मात्रै देखिन्छ।
प्रतिक्रिया