ad ad

कोशी


सपनामा पनि एमालेकै नाममा भाषण गरेको देख्छु, पार्टी छाड्नै मन थिएन : राजेन्द्र राई

मुख्यमन्त्रीलाई भने- एमालेले भोट चाहिने बेलामा मात्र सम्झियो
सपनामा पनि एमालेकै नाममा भाषण गरेको देख्छु, पार्टी छाड्नै मन थिएन : राजेन्द्र राई

कोशी प्रदेशसभा बैठकमा बिहीबार सम्बोधन गर्दै एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई।


नेपालखबर
असार १४, २०८० बिहिबार १६:५५, काठमाडौँ

नेकपा एकीकृत समाजवादी। कोशी प्रदेशका संसदीय दलका नेता राजेन्द्र राईले आफूहरूलाई नेकपा एमाले छाड्न मन नहुँदा नहुँदै पनि हेपिएको र पेलिएको कारण छाड्न बाध्य भएको बताएका छन्। 

कोशी प्रदेशसभा बैठकमा बिहीबार सम्बोधन गर्दै उनले अहिलेपनि नेकपा एमालेकै नाममा भाषण गरिरहेको सपना आफूले देख्ने गरेको पनि बताए।

‘त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन। सपनामा पनि त्यही पार्टीकै नाममा भाषण गरेको देखिन्छ,’ राईले भने, ‘त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ। त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन।’

पूर्व मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका सचिव राईले भोट चाहिने बेलामा मात्र आफूहरुलाई एमालेले सम्झने गरेको गुनासो गरे। उनले हिजोका गल्ती सच्याउने हो भने आफूहरु पार्टी एकता नै गर्न चाहेको बताउँछन्। 

‘अहिले पनि हिजोका गल्ती सच्याउने हो भने हामी त पार्टी एकता नै गर्न चाहन्छौं। हैन गल्ती नसच्याउने हो भने चाहीँ त्यो समर्थन कसरी गर्न सकिन्छ त?,’ उनले भने।

कोशी प्रदेशसभामा राइले एमालेका विषयमा राखेको धारणाः
सरकारलाई समर्थन नगरी प्रतिपक्षीमा बस्नुको कारण, एमाले संविधानको पटक पटक खिलापमा उत्रियो, परिवर्तनलाई प्रतिगमनमा धकल्न खोज्यो भनेका थियौं। अहिलेपनि अध्यादेश, त्यसबाट बजेटको कुरा गर्दा अध्यादेशबाट बजेट ल्याउन कहिँ कतै काम छैन। संविधानलाई कागजको खोस्टो बनाउने कोसिस एमालेले गरिरहेको छ त्यसले गर्दा समर्थन गर्न सकिने अवस्था छैन। 

वास्तवमा हाम्रो समर्थन त त्यति खोज्दैन पनि एमालेले। हामीलाई त विश्वासको मतको समर्थन होइन, घ्वाप्पै पार्टी मिलाउन मन लागेको छ। त्यो पार्टी हामीलाई छाड्न मन लागेकै थिएन। सपनामा पनि त्यही पार्टीकै नाममा भाषण गरेको देखिन्छ। त्यही पार्टीकै झन्डा उठाएर उबेला ढुंगामुढा गरेको देखिन्छ। त्यो पार्टी छाड्न त हामीलाई मन नै थिएन। बरू बेहुलीले घर छाड्दा अहिले रूने चिच्याउने, चित्त दुखाउने गर्दैनन्, त्यो पार्टी छाड्न मनै थिएन। हामीलाई निकालेर, पिना पनि पेलेर तेल निकाल्न खोजेको हो। अहिले पनि यो सरकार आइसकेपछि हाम्रा नियुक्त कानुनविपरित ढंगले धमाधम हटायो। अदालतले फिर्ता बोलायो। यहाँ ४ जना छौं बाटो हिँड्दा पनि बाटो छेकेर गमक्क परेर बाटो छेकुँला जस्तो व्यवहार छ। हाम्रो समर्थन एमालेले खोज्ने होइन, यो भोट चाहिएको बेला भोटे माया हरर जागेर आउँछ र हामी फेरि पनि मिल्ने भन्ने सम्मका कुरा आउँछ। अहिले पनि हिजोका गल्ती सच्याउने हो भने हामी त पार्टी एकता नै गर्न चाहन्छौं। हैन गल्ती नसच्याउने हो भने चाहीँ त्यो समर्थन कसरी गर्न सकिन्छ त मुख्यमन्त्रीज्यू?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .