प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मत गणना जारी छ।
हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मत गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
पछिल्लो नतिजाअनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङले अग्रता बढ्दो क्रममा छ।
सत्ताइस हजार ६ सय १५ मत गनिसक्दा सुहाङ ३ हजार ७ सय ५४ मतान्तरले अगाडि छन्।
नेम्बाङले ११ हजार ७८ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत मात्र प्राप्त गरेका छन्।
त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिम (मुढा चिह्न) ले ६ हजार ९ सय एक मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु १ हजार ५ सय १२ मतसहित चौथोमा सीमित छन्।
माङ्सेबुङ गाउँपालिका–५ को भने अप्रत्याशित मत परिणाम आएको छ।
यहाँ पहिचानवादी स्वतन्त्र उम्मेदवार थेगिमले १ हजार ३२ मत ल्याउँदा ठूला दल एमाले र कांग्रेसले ६९ मत पनि कटाएनन्।
सो वडामा एमालेका नेम्बाङले ६९ र कांग्रेसका खड्काले ४९ मतमात्र प्राप्त गरे।
रास्वपाका लिम्बूले ३ मत मात्र पाएका छन्। सो वडामा किराँत धर्मगुरु आत्मानन्द लिङ्देन बसोबास गर्छन्।
अहिले माई नगरपालिका–६ र ७ मा मतगणना भइरहेको छ।
एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए।
इलाम–२ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन भएको हो। रासस
Shares
प्रतिक्रिया