प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम २ मा यही वैशाख १५ गते भएको उपनिर्वाचनमा तेस्रो स्थान हासिल गरेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफूलाई मत दिने इलामेलीप्रति आभार प्रकट गरेका छन्।
त्यस क्षेत्रमा एमालेका तत्कालीन उपाध्यक्ष दिवंगत सुवास नेम्बाङका छोरा विजयी भए भने मतका हिसाबले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का दोस्रा तथा मुढा चिह्नमा चुनाव लडेका थेगिम तेस्रा।
निर्वाचित सुहाङले २७ हजार ७७२, खड्काले २१ हजार ९४२ र थेगिमले ११ हजार ४५७ मत पाए।
छोटो अवधिको प्रयासमा पनि आफूले यति धेरै मत पाएको भन्दै थेगिमले मतदाताको प्रशंसा गरेका हुन्।
‘तपाईं १२ दिन वा दुई हप्तामा के गर्न सक्नुहुन्छ? चुनाव चिह्न मुढा पाएपछि केवल १२ दिनको छोटो चुनावी प्रचारप्रसार अवधिमा सबै मतदातासँग भेटघाट गर्न नभ्याएर कतिले त उम्मेदवार र चुनाव चिह्न नचिनेर पनि तेस्रो सम्मानजनक मतदान गर्ने इलामेली जनताहरूको प्रशंसा गर्ने मसँग शब्द छैन, उहाँहरूलाई सलाम छ।’
साथै उनले आफ्ना पक्षधरलाई हारियो भनेर गालीगलौजमा नउत्रिन आग्रह पनि गरेका छन्।
उनले बुधबार बिहानै सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गालीगलौज नगरौँ। अर्को कुरा याद रहोस्– नेपाली राजनीतिमा तेस्रो सधैँ हिरो हुन्छ।’
लामो समय पत्रकारिता गरेका माओवादी केन्द्र पृष्ठभूमिका पहिचानवादी थेगिम चुनावअघि स्वतन्त्र बनेका थिए।
Shares
प्रतिक्रिया