कोसी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार सरकार गठनको दाबी पेस गरेका छन्।
एमालेका ३९ र माओवादी केन्द्रका १३ गरी ५२ सांसदको हस्ताक्षरसहित आफूले मुख्यमन्त्रीमा दाबी पेस गरिसकेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बताए।
एमालेबाट उपसभामुखबाहेक ३९ सांसदले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।
‘जसपाका साथीहरूले पनि हामीलाई समर्थन गर्नुभएको छ’, कार्कीले नेपालखबरसँग भने, ‘प्रक्रिया पूरा भइनसकेकाले उहाँहरूबोहक हामी ५२ जनाको हस्ताक्षर बुझाएका छौँ।’
संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति २८ गते शुक्रबार अपराह्न ५ बजेभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै सांसदलाई मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए।
९३ सदस्यीय प्रदेश सभामा एमालेका (उपसभामुखबाहेक) ३९ र माओवादी केन्द्रका १३ गरी हिक्मत कार्कीका पक्षमा ५२ सांसद छन्।
कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो।
तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसैअनुकूलका समीकरण बन्न थालेका हुन्।
२०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।
कोसी प्रदेश सभा सचिवालयले २०८१ वैशाख १० गते प्रदेश सभाबाट बहुमतले संकल्प प्रस्ताव पारित गरेको र वैशाख २६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्थाबमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको जनाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
यसअघि एमाले र माओवादी संसदीय दलका नेताहरुले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका थिए।
प्रदेश प्रमुख खापुङले संघीय सरकारका महान्यायाधिवक्ता डा दीनमणि पोखरेलसँग कानुनी परामर्श पनि लिएका थिए।
पोखरेलसँगकाे परामर्शपछि उपधारा २ मा फर्किने र दुई वा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेस गर्न आह्वान गर्ने तयारी भएको थियो।
तर अन्तिम समयमा उपधारा ५ बाटै दोस्रोपटक सरकार आह्वान गर्ने निष्कर्षमा प्रदेश प्रमुख पुगेका हुन्।
Shares
प्रतिक्रिया