धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूर्वमेयर तिलक राई र पूर्वउपमेयर मञ्जु भण्डारी सुवेदीलाई उनीहरूको कार्यकालमा सञ्चालित खानेपानी आयोजनाका सन्दर्भमा पत्र पठाउँदै सात दिनभित्र लिखित स्पष्टीकरण दिन आग्रह गरेका छन्।
मेयर साम्पाङले लेखेको पत्रमा धरान उपमहानगरमा तिलक मेयर र मञ्जु उपमेयर रहेका बेला खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न भनी एसियाली विकास बैंक (एडीबी) को ऋण लिएको तर खानेपानीको समस्या समाधान नगरेको आरोप लगाइएको छ।
सो सम्बन्धमा साम्पाङले बिहीबार पत्र लेखी पूर्वमेयर र पूर्वउपमेयर दुवैलाई ९ प्रश्न सोधेका हुन्। यसको जवाफ लिखित रूपमा ७ दिनभित्र दिन उनले अनुरोध गरेका छन्।
यस्तो छ साम्पाङले लेखेको पत्रको व्यहोरा-
श्री तिलक राईज्यू,
निवर्तमान प्रमुख, धरान उपमहानगरपालिका ।
निवर्तमान उप प्रमुख, धरान उपमहानगरपालिका।
विषयः स्पष्ट पारिदिने सम्बन्धमा।
उपर्युक्त सम्बन्धमा एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदान सहयोगमा नगरको खानेपानी समस्यालाई समाधान गर्नका लागि सम्झौता गरेबमोजिम खानेपानीको दीर्घकालीन समस्याको समाधान नै नभई पूर्ण रूपमा सफल नभएको आयोजना सफल भएको भनी तपाईं नगरको प्रमुख/उपप्रमुख भएको कार्यकालमा खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरी हालसम्म पनि नगरवासीहरूलाई उक्त आयोजनाबाट पानी उत्पादन गरी वितरण गर्न नसकेको र आयोजना सञ्चालन हुँदा चरम लापरबाही तथा भष्टाचार भएको भनीसमेत जनगुनासो आएको सन्दर्भमा उक्त आयोजनासम्बन्धी तपसिल बमोजिम के कसो भएको हो सो विषयमा ७ (सात) दिनभित्रमा लिखित स्पष्ट पारिदिन हुन अनुरोध छ।
१. एडीबीको ऋण लिने निर्णय कुन मितिमा को कसले गरेको हो?
२. एडीबीबाट ऋण किन र कति ल्याएको हो?
३. ल्याएको ऋण कति खानेपानी र अन्य कुनै शीर्षक भए ती शीर्षकहरूमा खर्च गरिएको हो?
४. एडीबीको प्रोजेक्ट चालु कहिलेदेखि भएको हो?
५. तत्कालीन बोर्ड गठन हुँदा के कस्ता प्रावधानलाई पूरा गरी गठन भएको थियो र सदस्यहरू थपिँदा के कसरी थपिएका थिए?
६. खानेपानी आयोजनाले सम्झौताअनुसार दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने सर्तानुसार उत्पादन गर्न नसकेको तथ्यलाई लुकाएर आयोजनालाई जिम्मा लिनुपर्ने कारण के थियो?
७. आयोजना जिम्मा लिनअघि निर्माण कम्पनीको तिनपर्ने ऋण किन चुक्ता नगरेको?
८. आयोजना निर्माणको अवधिमा गुणस्तर सम्बन्धी के कस्ता र कति मापदण्ड पूरा गरिएका थिए जानेजति प्रस्ट्याइदिन हुन।
९. पाइप विस्तार कार्य गराउँदा मूल निर्माण समितिले नै गरेको थियो या अन्यले गरेको थियो? अन्य पेटी ठेकेदारहरूले गरेका थिए भने कुन कुन ठेकेदारले के कति कारणले गरेका थिए?
Shares
प्रतिक्रिया