जग्गा फुकुवा माग गर्दै आन्दोलित विराटनगर विमानस्थल क्षेत्रका स्थानीयले आइतवार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पुत्ला जलाएका छन्।
विमानस्थल विस्तार गर्ने भन्दै सरकारले रोक्का राखेको जग्गा फुकुवाको माग राखेर असार ७ देखि चरणबद्ध आन्दोलनरत स्थानीयले प्रदेश १ का मुख्यमन्त्रीको कार्यालयअगाडि पुगेर आलेको पुत्ला जलाएका हुन्।
त्यसक्रममा स्थानीयले आले र सरकारविरुद्ध नाराबाजी पनि गरेका छन्। लामो समयदेखि जग्गा रोक्का राखेको मुआब्जा नदिएको र बजेटमा समेत मुआब्जा सुनिश्चित नगरेको गुनासो उनीहरुको छ।
संघर्ष समितिका संयोजक बेदराज पौडेलका अनुसार आगामी आर्थिक वर्षको बजेटमा पनि आलेले विमानस्थल प्रभावितका लागि बजेट व्यवस्था गर्न नसकेको भन्दै स्थानीय आक्रोशित छन्।
सङ्घर्ष समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ दिने अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको थियो।
समितिले यसअघि नै आलेको पुत्ला दहन, प्रमुख राजनीतिक दलहरूलाई आन्दोलनप्रति समर्थन र अपनत्व ग्रहणका निम्ति पत्राचार तथा शीर्ष नेताहरूसँग अन्तरक्रिया तय गरेको थियो।
डेढ वर्षदेखि सरकारले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन अधिग्रहणका लागि विराटनगर विमानस्थल क्षेत्र आसपासका १२६.४६ बिघा जमीन रोक्का राखेको छ।
यसअघि आलेले विराटनगर विमानस्थल पीडितलाई मुआब्जाको रकम बिनियोजन गर्ने वचन दिएका थिए। तर आलेले बजेटमा एक रुपैयाँ मुआब्जाको रकम छुट्याउन नसकेपछि उनको पुत्ला दहन गरिएको हो।
यसैबीच आलेले आइतवार पर्यटनमन्त्रीबाट राजीनामा दिएको पत्र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाइसकेका छन्।
प्रतिक्रिया