मौसम परिवर्तनसँगै विशेष गरेर नाक, कान, घाँटीमा विभिन्न समस्याहरु देखा पर्दछन्। यो मौसममा धेरैमा नाकको एलर्जी हुन्छ। हावामा आर्द्रता घट्ने मौसम भएकाले साना–साना धुलोका कण नाकमा छिर्ने र सुक्खा धुलोका कणले नाकमा एलर्जी गराउने, नाकबाट रगत बग्ने लगायतका समस्या देखा पर्ने गर्छ।
गर्मी मौसम सुरु भएसँगै धेरैमा नाकबाट रगत बग्ने समस्या देखिन्छ। विभिन्न खाले सङ्क्रमण र अत्यधिक गर्मीले नाक सुक्खा हुँदा नाकबाट रगत बग्ने (नाथ्री फुट्ने) समस्या बढी देखिन्छ। तर, नाकबाट रगत बग्ने ९० प्रतिशत मानिसमा त्यसको कारण नै पत्ता लाग्दैन।
नाक कोट्याउने बानी, चोटपटक, पिनास, नाकको भित्रको मसिनो पर्दा (रक्तनली) फुटेर रगत बग्ने सम्भावना बढी हुन्छ। त्यस्तै, रगत जमाउने तत्वमा कमी आउँदा, रगत पातलो बनाउने औषधिको सेवनका कारणले पनि रगत बग्ने गर्छ।
अत्यधिक धुलोले नाकलाई सुक्खा बनाउँदा नाकको भित्री भागमा रगतको सम्पे्रषण हुने नली फुट्नसक्छ। कसैलाई रगत बगेर केही समयमा रोकिन सक्छ तर लामो समयसम्म रगत बगिरहेमा चिकित्सकसँग सल्लाह लिनुपर्छ।
नाकबाट रगत बग्ने समस्याले धेरै बच्चालाई सताउँछ। यो उमेरका केटाकेटी बढी नाक कोट्याउने, घाममा बढी खेल्ने भएकाले बढी प्रभावित हुन्छन्। धेरै रगत बग्दा रक्तचाप कम हुने, चक्कर लाग्ने, नाकमा अन्य समस्या देखापर्ने र अत्यधिक रगत बग्दा ज्यानलाई जोखिम हुने भएकाले समयमा उपचार गराउनु पर्छ।
नाकबाट रगत बग्नुका कारण
–एलर्जी, साइनस सम्बन्धी समस्याका कारण नाक पोलेमा।
–चिसो वा सुख्खा हावाका कारण।
–नाकमा चोट लागेमा, नाक भाँच्चिएमा वा नाकमा कुनै वस्तु फसेमा।
–नाकमा प्रयोग गरिने स्प्रेको प्रयोग।
नाकबाट रगत बग्ने समस्यपछिका घरेलु उपचारका बारेमा घरेलु आयुर्वेदिक उपचार पुस्तकमा निम्न विधि उल्लेख गरिएका छन् :
–टाउको माथि गरेर चिसो पानीको धारा बनाएर खन्याउने। यसो गर्दा नाकबाट रगत बग्न बन्द हुन्छ।
–नाथ्री फुटेको अवस्थामा नाकको सट्टा मुखले श्वास लिनुपर्छ।
–काटेको प्याजको टुक्रा सुँघ्दा रगत बग्न बन्द हुन्छ।
–रगत बग्नबाट रोक्न टाउको माथितिर फर्काउनुपर्छ।
–अलैँचीको धूलोलाई चिसो पानीमा राखेर पिउँदा फाइदा हुन्छ।
–एक गिलास पानीमा बेलको पात पिसेर राख्ने। त्यसमा मिश्री मिसाउने। यसरी मिसाएको पानी पिउँदा बिरामीले छोटो समयमै आराम महसुस गर्छ।
–दुबो र अमलालाई चिसो पानीमा पिसेर मस्तिष्कमा लेपन गर्नाले नाकबाट रगत बग्न बन्द हुन्छ।
–पाकेको गुलेर (एक प्रकारको रुख) या खजुर या अंगुरलाई महसँग खानाले रगत बग्न ठीक हुन्छ।
(डा. प्रियंका गुप्ता थापाथलीस्थित ब्लुबर्ड इन्टरने;नल क्लिनिकका नाक, कान घाँटी रोग विशेषज्ञ हुन्)
प्रतिक्रिया