खामबन्दी गरेर समयले
ढुङ्गा पो पठाएको रहेछ।
उपहार खोल्नुअघि सोचेथेँ,
मेरा लागि गुलाबको एउटा फूल होला
प्रेमको गीत गाउँदै हिँड्ने गाइनेको एउटा लय होला
पखेँटामा टाँसिएको
एउटा उज्यालो सपना होला
पागल कविकै सही,
सुन्दर कविताजस्ता केही कोमल हरफहरू होलान्।
म पोखरीको डिलमा
ध्यान गरीरहेको त्यही दयालाग्दो बकुल्लो थिएँ,
जहाँ प्रेमको एउटै माछा पनि पौडँदो रहेनछ।
यतिबेला प्रश्न छ आफैसँग
के अक्करेभीरको टुप्पाबाट हाम फालेकै हो त मैले?
सम्झिन्छु,
चम्चाको पानीमा नुहाउने सपना पो देखेछु कि?
गमलाको माटोमा ताराहरू खोजेछु कि?
वा घाटको क्यानभासमा जीवनको हाँसो खोजेछु?
कि रोजेछु?
उनिउँको जिन्दगीमा वसन्तको रङ?
यी आँखाका नानी टिलपिल भएर
खस्दै गरेको जीवनको अन्तिम गीतले भन्छ, –
बरु, अलिकता पेट्रोल र सलाई पठाएको भए हुने
कुनै गहिरो ईनार
वा सुनामी हिँड्ने बाटो चिनाई दिएको भए हुने
तर, केही पनि नगरेर उसले
उपहारमा केवल ढुङ्गा पठाएछ।
प्रिय समय ठीकै छ,
खडेरीको बिउ छरेर तिमी आफैँले
डँढेलो लगाएको जङ्गलमा
प्रेमको एउटा भग्न मन्दिर अझै छ
म त्यो ढुङ्गालाई त्यँही देउता बनाएर राख्नेछु।
Shares
प्रतिक्रिया