यज्ञराज उपाध्यायको स्थापित परिचय हो- डेउडा गायक। डेउडामा पनि उनले राईझुमा बोलको गीतका कारण नसोचेको चर्चा कमाए।
त्यो गीत उनले पहिलोपल्ट २०४५ मा रेडियो नेपालमा स्वर परीक्षाका क्रममा स्वरांकन गराएका थिए। पछि त्यही शीर्षकमा उनले क्यासेट एलबम नै प्रकाशन गरे।
हुन त उनले आफ्नो गायकी जीवनमा चुँदरी, रानीवन, नासो, सुनगाभालगायतका लोकप्रिय एल्बम दिएर संगीतप्रेमीलाई मोहित नपारेका होइनन्। तर, उनलाई उही राईझुमाको चर्चाले थिचिरह्यो।
कुरा राईझुमाको मात्र होइन। कुरा यज्ञराज उपाध्यायको मात्र होइन। समग्र सुदूरपश्चि र कर्णाली प्रदेश (काली–कर्णाली) प्रदेशको सारा संस्कृतिमाथि डेउडा हावी भयो। काठमाडौँदेखि सारा नेपालभरि सुदूरपश्चिमको संस्कृति नै डेउडा हो भन्ने छाप बस्यो।
उपाध्यायलाई यही कुरा निको लागेन। के हाम्रो संस्कृति भनेको डेउडा मात्र हो त?
‘होइन,’ उनलाई पूर्णप्रकाश नेपाल यात्रीले कुनै बेला सुनाएका थिए, ‘डेउडाजस्ता अरु पनि कयौँ सांस्कृतिक सम्पदा यहाँ छन्। काली–कर्णाली क्षेत्र लोकसाहित्यको भण्डार हो। लोकसाहित्य र प्रतिभाको उर्बर भूमि हो। ती रन्तहरु टिपेर संगृहित गरेर अभिलिखित गर्न सक्नुपर्छ। नत्र यत्तिकै हराउनेछन्।’
उपाध्यायको कलिलो दिमागमा यी कुरा अमीटरुपमा बसेका थिए।
उनलाई लाग्नु स्वाभाविक थियो, हामीकहाँ यति धेरै अन्य मौलिक सांस्कृतिक सम्पदा छन् तर डेउडाको मात्र किन चर्चा? ‘हुँदाहुँदा होरी र गौरा पर्वको उत्सव मनाउँदा पनि मान्छेहरुले डेउडा भनेर चिन्ने भए,’ उपाध्याय सुनाउँछन्, ‘हाम्रा अरु सम्पदा र संस्कृति त छँदै छैनन् कि भन्नेजस्तो भयो।’
यस प्रश्नले उनलाई निकै सतायो।
अब के गर्ने त?
उनी आफै कस्सिए, काली–कर्णालीका सांस्कृतिक बान्कीहरुलाई टिप्न।
२०५५ सालमा उनले यस कामको थालनी गरे। सुरुमा जिल्लाजिल्लामा उनले प्रश्नावली पठाए। आफै गएर पनि संकलन गरे।
सामग्री जम्मा भएर त्यसै थुप्रिएको थियो। कोभिडले उनलाई थप झक्झक्यायो। लकडाउनले एकान्तवास र साधनाको अवसर पनि दियो। त्यही अवधिमा उनले यसलाई टुंग्याउने निधो गरे।
काली–कर्णालीबाट संकलन भएका सामग्री केलाएर पुस्तकको आकारमा ढाल्न अरु ३ वर्ष लाग्यो। झण्डै २५ वर्षपछि उपाध्यायको सपना पूरा भएको छ।
‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’ नामक एक बृहत् पुस्तकका साथ उपाध्याय आफ्ना राईझुमाप्रेमीका सामु उपस्थित भएका छन्।
९८४ पृष्ठको यस पुस्तकमा काली–कर्णालीको सम्पूर्ण सांस्कृतिक भूगोल अटाउने प्रयास गरिएको छ।
यसमा न्याउल्या गीत, मागल, सगुन, फाग, रनपुतला, होरी गीत, धमारी, गौरा, भुओ, चाँचरी, छलिया, भारीखेल, ठाडोखेल, भैँनी, ढुस्को, जिउनापुरी, सवाई, भोलाउलो, पडेली, चैत, झोडा, पर्छो, भैलो, भजन, डाड–झंकार, हुड्केली, लोकमन्त्र, लोककथा आदि समेटिएका छन्।
पहाडको व्यासी र सौका समुदायदेखि तराईँको थारु संस्कृतिलाई काली–कर्णालीको सम्पदाका रुपमा अभिलिखित गरिएको छ। यस क्षेत्रमा प्रचलित लोकबाजा, चाडपर्व र लोकनृत्यहरुको वर्णन–व्याख्या गरिएको छ।
‘दुलही अन्माउँदादेखि आफन्तको मृत्युमा समेत गीतको झंकार (डाडझंकार) सुनिन्छ यहाँ,’ उपाध्याय भन्छन्, ‘लोकप्रचलनमा रहेका यी सांस्कृतिक र सांगीतिक सम्पदा आज हामीले अभिलिखित गरेनौँ भने भोलि हामीसँग हुने छैन। हाम्रो आफ्नै पहिचान खोज्नुपर्ने अवस्थामा पुग्नेछौँ।’
तस्बिर/भिडिओ : सरोज बैजु
प्रतिक्रिया