ad ad

साहित्य


कविता : म पागल

कविता : म पागल

डा. सुरेन्द्र सिटौला
भदौ १०, २०८१ सोमबार १०:९, काठमाडौँ

झल्याँस्स हेर्दा बहिरी आवरणमा
अरु मानिस जस्तै
म पनि एउटा मान्छे हुँ
भिडमा म अरु जस्तै देखिन्छु
एक्लै मलाई अरुले हेर्दा
अरुभन्दा भिन्न भेटिन्छु

कारण?
म भित्र एउटा अर्कै मान्छे छ
ऊ अरु मानिस जस्तो छैन 
ऊ भिन्न छ
निराकारसँग अभिन्न छ
ऊ अधर्मी होइन
भन्छ म बेधर्मी हुँ
ऊ साकार मूर्तिमा होइन
निराकारभित्र ईश्वर खोज्छ
ऊ ईश्वरको परिभाषा 
धर्म गुरुलाई होइन
आफैँलाई सोध्छ
गजबको छ मभित्रको मान्छे
खुरुन्धार गर्दै 
आफूभित्रैको ईश्वर रोज्छ

ऊ भन्छ 
भित्री ईश्वर साक्षी राखेर मैले
मन्दिर, मस्जिदको किल्ला तोडेँ
चर्च र गुम्बाको कारागार फोडेँ
रिसाएनन् मेरा ईश्वर 
जब मैले 
धर्मग्रन्थ सबै जलाएँ
बाली ज्ञानको अग्नि ज्वाला 
ईश्वर मैसँग रमाए
पिई स्वतन्त्रताको मधुरस प्याला
देखेर मेरो आजादीको तामझाम 
मसँग अरु सबै मान्छे रिसाए
धर्मग्रन्थको ठेली देखाउँदै
मेरैविरुद्ध जुलुसमा आए
धर्मविरोधी नास्तिक भन्दै
मेराविरुद्ध डरलाग्दा नारा लगाए
विडम्बना!
मेरै अगाडि धर्म निरपेक्ष ईश्वरको 
ठूलै बेइज्जती गराए
मलाई राम्रो थाहा छ
उनीहरू आफूहरूलाई मात्र मानव मान्छन्
म जस्ता कयौँ अरुलाई 
फगत पागल ठान्छन्

मूकदर्शक भएर
म एकोहोरो हेरिरहेँ
आपसी धर्मयुद्धको कहालीलाग्दो इतिहास 
मनमनै गुनेँ
आफ्नै भित्री ईश्वरको कुरा सुनेँ
उनले मलाई खुसुक्क भने
लाटा! नडरा त
बिर्सी दे मदहोस संसारका विरोधहरू
मधुशालामा मस्त बेहोसीका अवरोधहरू
बेहोसीमै रमाउँछन् ती
मारेर मनका धितहरू
गाउन सधैँ बिर्सन्छन् कठै
जीवनका मिठा गीतहरू

मेरो भित्री मान्छे दिक्क हुँदै पुनः भन्छ 
नफकाऊ मलाई
बलि चढाएर प्राणीको 
ईश्वरको प्यारो बन्नु छैन 
पुष्प हत्याको दोषी बनेर 
ईश्वर रुवाउने मान्छेहरूसँग
मेरो केही भन्नु छैन
खोज्दै गर तिमी तिम्रो बाहिरी ब्रह्म
‘अहम् ब्रह्मास्मि’ भन्दै
म जीवन गीत गाइरहन्छु
तिमी मलाई पागल भन्दै गर
म पागल भएरै रमाइरहन्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .