सरकारले मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेपछि नेकपा एमालेले लुम्बिनी प्रदेशमा आफ्नो चुनावी गतिविधि तीव्र पारेको छ।
चुनाव घोषणा भएको भोलिपल्ट शुक्रबार र शनिबार एमालेले दाङमा प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम गरेको थियो। जहाँ एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतका नेता आएका थिए।
यस्तै आइतबार रुपन्देहीको भैरहवामा पनि जिल्लास्तरिय प्रशिक्षण कार्यक्रम गरेको छ। पार्टीका गतिविधि सञ्चालनका लागि केही दिनयता विष्णु पौडेल रुपन्देहीमै छन्। उनी कार्यकर्ता भेटघाट र पार्टीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।
एमाले प्रदेश संगठन कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले प्रदेशस्तरीय कार्यक्रमपछि अब जिल्ला र पालिकामा प्रशिक्षण कार्यक्रम हुने बताए। ‘रुपन्देहीमा जिल्ला स्तरिय कार्यक्रम भइसकेको छ। भदौ २ गतेसम्म प्रदेशका सबै जिल्लामा कार्यक्रम सक्छौं। त्यस्तै १५ गतेसम्म पालिकाहरूमा प्रशिक्षण कार्यक्रम हुन्छ ।’ उनले भने ‘खास गरि एमालेको राजनीतिक एजेण्डा के हो, विकासको एजेण्डा के हो । पार्टीले लिएको राष्ट्रियताका मुद्दाहरूको बारेमा कार्यकर्तालाई बुझाउँदै छौं।’
केही जिल्लाहरूले भने पालिकास्तरको प्रशिक्षणको कार्यक्रम पनि सकिसकेका छन्।
महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा पनि एमालेले चुनावी तयारी तीव्र पारेको छ। एमाले दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतले स्थानीय चुनावलगत्तै आफूहरू चुनावकेन्द्रित भएको बताए।
‘चुनाव सम्पन्न भएदेखि नै हामीले गतिविधि अगाडि बढाएका हौं। पालिकास्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सकेका छौं’, उनले भने, ‘अब जिल्लास्तरको प्रशिक्षण कार्यक्रम बबई गाउँपालिकाको हापुरेमा गर्दै छौं। त्यो सक्नेबित्तिकै वडा तहमा पार्टी परिचालन गर्दै छौं।’
प्रशिक्षण कार्यक्रम मात्र होइन, आगामी चुनावमा एमालेका सम्भावित उम्मेद्वारहरू जिल्लाका आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भइसकेका छन्।
यता नेपाली कांग्रेसको चुनावी गतिविधि भने अझै देखिएको छैन। दाङमै एमालेले तीव्रताका साथ पार्टीका गतिविधि अघि बढाए पनि कांग्रेसले भने कार्यकर्ता केन्द्रित कार्यक्रम अझै तय गर्न सकेको छैन।
कांग्रेस दाङ जिल्ला सभापति शंकर डाँगीले केही दिनमा पार्टीको बैठक बसेर चुनावी कार्यक्रम बनाउने बताए। ‘भदौ २ गते कांग्रेस जिल्लाको बैठक बस्छ। त्यहाँबाट तालिका बनाएर कार्यक्रम अघि बढाउँछौं’, उनले भने, ‘केन्द्रबाट निर्देशन पनि भएको छ, त्यहीअनुसार मिलाएर पार्टीका गतिविधि गर्छौं।’
दाङजस्तै अन्य जिल्लामा पनि एमाले रापतापका साथ अघि बढ्दा कांग्रेसका कार्यक्रम खासै देखिएका छैनन्। कांग्रेसले सत्ता साझेदार दलहरूसँग चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेको छ।
गठबन्धन गर्दा आफ्नो क्षेत्र कसको भागमा पर्ला भन्ने कार्यकर्ता र कांग्रेस लुम्बिनी प्रदेश समिति पनि अहिले सुस्ताएको जस्तो देखिएको छ। स्थानिय चुनावपछि उसको खासै गतिविधि देखिएको छैन। कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले अझै चुनावी गतिविधि सुरु नभएको स्वीकार गरे।
‘घोषणापछि चुनावी तरंग त आइसक्यो। उम्मेदवार चर्चाका कुराहरू चल्न थालेको छ। केन्द्रमा गठबन्धनको सिट बाँडफाँडमा टुंगो लाग्यो भने हाम्रा गतिविधि पनि तीव्र रूपमा अघि बढाउँछौं’, उनले भने, ‘कांग्रेसको पनि प्रशिक्षणको तयारी छ। सम्भव त भदौको पहिलो हप्ताभित्र हामीले दाङ अथवा नेपालगन्जमा एउटा कार्यक्रम गर्छौं। त्यसपछि जिल्लाहरूमा पनि हामीले कार्यक्रम लैजाने तयारी गरेका छौं।’
प्रदेशमा कांग्रेसभन्दा थोरै अघि बढेर नेकपा माओवादी केन्द्रले चुनावी गतिविधि अघि बढाउन खोजेको छ। सोमबार दाङमा माओवादी केन्द्र प्रदेश कमिटिको बैठक बसेको थियो। बैठकले सबै जिल्ला, जनवर्गीय संगठनका बैठकहरू सम्पन्न गरेर चुनावी तयारीमा लाग्ने निर्णय गरेको छ।
यता जनता समाजवादी पार्टीले छिट्टै चुनावी गतिविधि गर्ने बताएको छ। अहिले पार्टीका विभिन्न कमिटी पुनर्गठनमा लागिरहेको र यसपछि चुनाव केन्द्रित कार्यक्रम अघि बढाउने जसपाका राजनीतिक समिति सदस्य मनिकर कार्कीले बताए।
Shares
प्रतिक्रिया