बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। रामनगरस्थित बुटवल मण्डपको कुल १६ बिघा जग्गा मध्ये ९ बिघा जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको हो। सम्मेलन केन्द्रको मुख्य हल १ हजार सिट क्षमताको छ। जसमा तल ६ सय र बालकोनी ४ सय सिट क्षमता छ।
त्यसबाहेक मिटिङ हल, गोष्ठी, सेमिनारको लागि अन्य १२ वटा विभिन्न प्रकारका हल रहेका छन्। मुख्य हल सहित सबै हलको कूल क्षमता २७ सय सिट क्षमताको छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिवार प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
दुई चरणमा गरेर १ अर्ब ११ करोडको लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले जानकारी दिए। सम्मेलन केन्द्रका लागि ५ वटा प्रवेशद्वार रहेका छन्।
‘जस मध्ये सदा खुल्ला हुने सर्भिस गेट, सम्मेलन हुँदा प्रवेश गर्ने गेट, भीआईपीको लागि छुट्टै, पार्किङको सवारीको लागि र अर्को गेट नजिकैको प्रदर्शनी केन्द्र तर्फको हो’ उनले भने, ‘सबै नेपाली कला झल्किने गेट हुन्।
सम्मेलन केन्द्रको प्राङ्गणमा ४ सय वटा चारचक्के गाडी र ४ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने आयोजना प्रमुख पन्थीले बताए।
त्यसै गरि एउटा हेलिप्याड पनि रहेको छ। सम्मेलन केन्द्र परिसरमा ४ वटा सन्ध्याकालिन पोखरी छन्। त्यस मध्ये दुई वटा फाउन्टेन छन्।
सभाहल निर्माणको लागि दुई चरणमा काम सक्ने गरि २०७१ सालमा ठेक्का सम्झौता भएको हो। तर रुख कटान, नाकाबन्दी लगायतका कारण ढिला गरी काम सकिएको पन्थीले बताए।
सम्मेलन केन्द्रलाई नेपालको झण्डाको आकारमा बनाइएको छ। अग्लो ठाउँ अर्थात हेलिकप्टरबाट हेर्दा चन्द्र सूर्यसहित नेपालको झण्डाको आकार देख्न सकिन्छ।
हल तयार भएपछि सार्क, बिमस्टेक जस्ता अन्तर्राष्ट्रिय सभा सम्मेलन गोष्ठी आयोजना गर्न सकिने छ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएपनि यसको सञ्चालनको मोडालिटीबारे कुनै निर्णय भएको छैन।
सञ्चालनको लागि शहरी विकास मन्त्रालयले कार्यविधि बनाएर मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्छ। सम्मेलन केन्द्रका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले यस प्रकारका हल दुई तरिकाले चलेको बताए।
‘एउटा प्रतिष्ठान अथवा समिति गठन गरेर सञ्चालन गर्न सकिन्छ। काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रज्ञा प्रतिष्ठान, नाचघर यसरी सञ्चालन भएको छ’ उनले भने, ‘राष्ट्रिय सभा गृह काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छ।’
बुटवल उपमहानगरपालिकाले पनि बुटवल मण्डप सञ्चालन गर्न तयार रहेको बताएको छ। बुटवलका मेयर खेलराज पाण्डेले उपमहानगरले पाएमा व्यवस्थित ढंगले सञ्चालन गर्न सक्ने बताए।
‘हामीलाई सञ्चालन गर्न दिने सहमति बन्यो भने कार्यविधि बनाएर व्यवस्थित तरिकाले सञ्चालन गर्न सक्छौं’ उनले भने, ‘यसबारे हामीले केन्द्रमा शहरी विकास मन्त्रालयमा गएर कुरा पनि गरिसकेका छौं, हेरौं के खालको निर्णय हुन्छ।’
१६ बिघा क्षेत्रमा रहेको बुटवल मण्डपको ९ बिघामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको हो भने बाँकीमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण भइरहेको छ।
Shares
प्रतिक्रिया