बुटवल उपमहानगरपालिका देविनगरमा साढे १६ हजार मतदाताको लागि एकै ठाउँमा मतदान स्थल तयार गरिएको छ। लुम्बिनी बाणिज्य क्याम्पसको मतदान स्थलमा १६ हजार ४६८ मतदाताले मतदान गर्न सक्ने छन्।
बाणिज्य क्याम्पस र सँगै रहेको नविन औद्योगिक कद्दरबहादुर रिता माविमा बुटवल ११ का मतदाताहरुको लागि मतदान केन्द्र तयार भएको छ। जस अनुसार ८ वटा मतदान केन्द्र क्याम्पसमा र ८ वटा मतदान केन्द्र विद्यालयमा रहने रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिए।
विगतको चुनावमा वाणिज्य क्याम्पसमा मात्र मतदान केन्द्र राखिएकोमा सहजताका लागि अहिले सँगैको नविन औद्योगिक माविमा पनि केन्द्र थपिएको उनले बताए।
बुटवल ११ जिल्लाको मात्र नभई लुम्बिनी प्रदेशकै सबै भन्दा बढी जनसंख्या र मतदाता भएको वडा हो। मुलुकका निकै कम वडामा मात्र यो संख्यामा मतदाता रहेका छन्।
बाणिज्य क्याम्पसको प्रांगण भर लाइन लाग्ने ठाउँदेखी मतदान गर्ने स्थान सम्म तयार भइसकेको छ । त्यस्तै विद्यालयमा पनि मतदान अधिकृत सहितका कर्मचारी खटिएर काम गरिरहेका छन्।
धेरै मतदाता भएको यो मतदान स्थलको अपरान्ह रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मी, निर्वाचन अधिकृत सहितको टोलीले अवलोकन गरेको थियो।
प्रमुख जिल्ला अधिकारी पाण्डेले विगतमा भन्दा अहिले मतदाताको लागी सहज हुने बताए। ‘विगतमा ढिला सम्म पनि मतदान हुने देखिएकाले यो वर्ष सहजताको लागि सँगैको विद्यालयमा केन्द्र राखिएको हो।’ उनले भने ‘पहिले जस्तो एकै ठाउँमा भिड केन्द्रीत हुँदैन।’ पाण्डेले निर्वाचन लक्षित सुरक्षा योजना अनुसार चार वटै सुरक्षा निकाय परिचालित हुने बताए। प्रत्येक निर्वाचन क्षेत्रमा २ वटा मोबाइल टोली र घुम्ती टोली पनि खटिएको उनले बताए।
क्याम्पसको मुख्य गेट बाहिर पनि ठूलो प्राङ्गण छ। जहाँ मतदाताहरु जम्मा हुने ठाउँ छ। बुटवल ११ वडाको भूगोल पनि ठूलो भएकाले टाढा टाढाबाट मतदाता आउनुपर्ने हुन्छ।
योगिकुटीदेखि, शिवालय हुँदै लुम्बिनी वाणिज्य क्याम्पसभन्दा माथिसम्म, प्रगतिनगर हुँदै तिनाउ पारीको बुद्धनगर, नहरपुर, टपमजुवा, मैनाबगरसम्मको भूभाग अहिले बुटवल वडा नम्बर ११ अन्तर्गत पर्दछ।
२०५४ सालमा स्थानीय चुनाव हुँदा बुटवलको तत्कालीन १३ अर्थात् अहिलेको ११ नम्बर वडामा करिब २ हजार मतदाता थिए। राजमार्ग चौराहबाट दक्षिणतर्फ झर्दैगर्दा त्यतिबेला फाट्टफुट्ट मात्र बस्ती थियो। वडाको धेरैजसो स्थानमा खेतैखेत र सार्वजनिक जग्गा थियो। अहिले यो स्थान बस्तीले भरिएको छ।
विगतमा थोरै जनसंख्यालाई आधार मानेर वडा तोकिएको थियो। बुटवलको बजार उत्तरतर्फ भरिएर दक्षिणतर्फ झर्ने क्रम सुरु भयो। जसका कारण खाली जग्गा रहेको अहिलेको बुटवल ११ मा बस्ती विस्तार हुँदै गयो। बस्तीमध्ये झण्डै आधाजसो सुकुम्बासी बस्ती छ।
ठूलो वडा र बाक्लो सुकुम्बासी बस्ती भएकाले दल तथा उम्मेदवारहरूको ध्यान बढी जसो यो वडामा पनि केन्द्रीत हुने गर्दछ। सुकुम्बासी समस्या प्रत्येक चुनावमा यहाँको मुख्य एजेण्डा बन्ने गरेको छ।
Shares
प्रतिक्रिया