रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपायालाई ट्रकमा बाँधेर घिसार्दै लगिरहेको फोटो सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भएको छ। नगरपालिकाले छाडा चौपाय व्यवस्थापनको काम गरिरहेको जनाएको छ।
तर पछिल्लो समय एउटा साँढेलाई नगर प्रहरी लेखिएको नगरपालिकाको ट्रकले घिसारेर लगेको फेसबुक लगायत सामाजिक सञ्जालमा देखिएको छ। बुधबार साँझ बाँधेर घिसार्दा साँढे रक्ताम्य भएको छ।
यो घटनापछि सिद्धार्थनगर नगरपालिकाको चाैतर्फी विराेध भइरहेको छ। राति नै स्थानीयले विरोध गरेका थिए। उनीहरुले नगरपालिका र नगर प्रमुख इश्तियाक अहमद खानविरुद्ध नाराबाजी गरेका थिए।
नगरपालिकाका स्थानीय तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यवस्थापनका नाममा चौपायालाई घिसार्ने गतिविधिमा संलग्न कर्मचारीलाई कारबाहीको माग गरेका छन्।
भैरहवाका सामाजिक अभियान्ता रविकुमार रौनियाले अमानवीय तरिकाले छाडा चौपायको व्यवस्थापन मानवता विरोधी कार्य भएको बताए।
‘छाडा चौपायको समस्या समाधान हुनुपर्छ भन्नेमा हामी सबै एकमत छौं। कुनै पनि जीवित पशुलाई व्यवस्थापन गर्ने प्रक्रिया छ। घाँटीमा रसी बाँधेर तान्ने प्रक्रियाको हामीले विरोध गरेको हो’ उनले भने, ‘यो अत्यन्त अमानवीय कार्य हो। त्यस्तो गर्नेले आफूलाई पर्दा कस्तो हुन्छ कल्पना गर्नुहोला। म पशुपति नाथसँग उनीहरुलाई सद्बुद्धि आओस् भन्ने कामना गर्छु।’
जुनसुकै प्राणीमाथि गरिने यस्ता अमानवीय र अमर्यादित कार्यलाई रोक्नै पर्ने र अब नगर्न सचेत गराउनुपर्ने रौनियारको भनाइ छ। उनले जुन गाइगोरुलाई उठाउन सकिँदैन त्यसको लागि पशुचिकित्सको सहायता लिनुपर्नेमा उल्टो काम भएको बताए।
यसैबीच केही अभियान्ताहरुले पशु चौपायमाथि भएको अमानवीय कार्य रोक्न माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयलाई ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्र बुझाउँदै हिन्दू धर्म संरक्षण समितिका केन्द्रीय अध्यक्ष आनन्द प्रसाद गुप्ताले छाडा चौपायाको व्यवस्थापन गर्ने अभियान चलाइएकोमा त्यसमा आफूहरुको सहयोग भए पनि प्रक्रिया भने गलत भएको बताए। उनले कसको आदेशले यस्तो कार्य गरियो भन्दै प्रश्न गरे। बुधबार राति भएको अमानवीय कार्यमा संलग्न दोषीलाई कारबाही गर्न उनले प्रजिअसँग माग गरे।
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले छाडा चौपाया व्यवस्थापनमा नागरिकको साथ आवश्यक रहेको बताए। उनले ज्ञापनपत्रबारे सम्बन्धित स्थानीय तहलाई ध्यानाकर्षण गराउने भन्दै कसैले काम गरेको भए कारबाहीको दायरामा ल्याइने जानकारी दिए।
यसैबीच सिद्धार्थनगर नगरपालिकाले विज्ञप्ती जारी गरि असल मनसायका साथ छाडा चौपाया व्यवस्थापन गर्न लागेको भएपनि अन्जानबस त्रुटी हुन गएको बताएको छ। छाडा चौपायाका कारण नगरबासीमा पर्न गएको असुविधा र पशु अधिकारप्रति पनि नगरपालिका उत्तिकै संवेदनशील रहेको विज्ञप्तिमा जनाइएको छ।
नगरपालिकाका प्रांगणभित्र व्यवस्थित गरि राखिएका साँढे गोरुलाई अस्थाइ कान्जी हाउसमा लैजाने क्रममा बिच बाटोमा बसी उठाउन खोज्दा नउठेपछि सो प्रयास गरेको नगरपालिकाको भनाइ छ।
नगरपालिकाले यही पुस ३ गतेदेखि छाडा चौपाया व्यवस्थापन गर्दै आएको जनाएको छ। चौपायालाई नगरपालिकाको देवकोटा चोकको अस्थायी कान्जी हाउसमा होल्ड गरि पश्चिम नवलपरासीको बर्दघाटमा रहेको गौ संरक्षण तथा व्यवस्थापन केन्द्रमा पठाउने गरेको छ। हालसम्म १ सय २३ वटा पशु चौपाय सो केन्द्रमा पठाइएको नगरपालिकाले जनाएको छ।
Shares
प्रतिक्रिया