नेकपा एमाले लुम्बिनीका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बनेको आज (शुक्रबार) एक महिना पूरा हुँदै छ। गत पुस २७ गते माओवादी केन्द्र, राप्रपा लगायत दलको समर्थनमा गिरी लुम्बिनीको मुख्यमन्त्री भएर २८ गते शपथ खाएका थिए।
आफूसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीलाई मन्त्री बनाए, तर मन्त्रालयको जिम्मेवारी दिएका छैनन्। त्यसयता अहिलेसम्म गिरीले मन्त्री थप्न पनि सकेका छैनन्।
सुरुवातमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो। माघ ५ गते गिरीले प्रदेश सभाबाट विश्वासको मत पनि लिए। त्यसपछि पनि लामो समयसम्म मन्त्रिपरिषद् विस्तार भएन।
बीचमा माओवादी दलका नेता जोखबहादुर महरा मातृशोकमा परे। त्यसैलाई सरकार विस्तार हुन नसकेको कारण बताइएको थियो। आमाको काजकिरिया सकेर महरा फर्केको कैयाैं दिन भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार भएको छैन।
मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद् भन्दा सचिवालय विस्तारतिर ध्यान दिएको देखिन्छ। यसअघि नै स्वकीय सचिव, प्रेस संयोजक तोकिसकेका गिरीले बुधबार मात्र आफ्नो प्रमुख राजनीतिक सल्लाहकार नियुक्ति गरेका छन्। रुपन्देहीबाटै प्रदेश सांसदमा पराजित एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेलाई मुख्यमन्त्रीले आफ्नो प्रमुख सल्लाहकार बनाएका हुन्।
त्यस्तै बुधबार नै संसदीय दलको नेताको हैसियतले गिरीले तुलसी चौधरीलाई प्रमुख सचेतक र रेखाकुमारी शर्मालाई सचेतकको तोकेका छन्। तर सरकार विस्तारमा अझै सुरसार देखिएको छैन।
मन्त्रिपरिषद् विस्तार नहुँदा प्रदेशसभाले बिजनेस पनि पाउन सकेको छैन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसद वीरबहादुर रानाले लुम्बिनीको मन्त्रिपरिषद् विस्तारको ढिलाइले राम्रो सन्देश नगएको बताए।
‘एक महिनासम्म मन्त्रिमण्डल विस्तार नगर्नु अनि त्यसमाथि २ जना मन्त्रीलाई पनि बिनाविभागीय राख्नु भनेको प्रदेशका लागि राम्रो सन्देश होइन’, उनले भने, ‘प्रदेश सरकारले काम त गर्नुपर्यो। प्रदेश सरकारमा बिजनेस पनि छैन।’
रानाले सरकार विस्तारमा अब कत्ति पनि ढिलाइ हुन नहुने बताए।
लुम्बिनी सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार विस्तार हुन अझ एक/दुई दिन लाग्ने जानकारी दिए। आचार्यले नयाँ राजधानीमा मन्त्रीहरुको कार्यकक्ष र निवास तयार नभइसकेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको दाबी गरे।
‘मन्त्री बनाइसकेकपछि पदबहाली गराउने ठाउँ थिएन, बस्ने ठाउँ पनि छैन’, उनले भने, ‘त्यो व्यवस्थापनको करिब-करिब अन्तिम चरणतिर गएको छ। त्यो सकिनेबित्तिकै शपथ ग्रहण हुन्छ। एक/दुई दिन लाग्ला।’
आचार्यले मन्त्रीहरुले शपथग्रहण गर्नेबित्तीकै सरकारी आवास पाउने गरी तयारी थालिएको जानकारी दिए। मन्त्रीहरुको आवासका लागि लमहीमा व्यवस्थापन गरिएको छ। आवसका लागि लमहीमा विभिन्न संघसंस्थाका भवनमा ८ वटा मन्त्री निवास बनाइने आचार्यको भनाइ छ।
कांग्रेस सांसद रानाले भवन र क्वाटरको समस्या देखाएर मन्त्रिपरिषद् विस्तार रोक्नु उपुयक्त काम नभएको उल्लेख गरे। उनले नयाँ सरकारले काम सुरु गर्न ढिलाइ गरेको बताए।
Shares
प्रतिक्रिया