बुटवल बसपार्क अर्थात लुम्बिनी बस टर्मिनलमा निशुल्क वाइफाइबाट इन्टरनेट चलाउन पाइने भएको छ। बुटवल उपमहानगरपालिकाले वर्ल्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराएको हो।
मंगलबार निशुल्क वाइफाइ इन्टरनेट सुविधा शुरुवात गर्दै उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधासम्पन्न बनाउने अभियानअन्तरगत निशुल्क वाइफाइ जडान गरेको बताए।
उनले बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुने गरी अन्य सुविधाहरु समेत थप गर्दै जाने उल्लेख गरे।
‘हामीले अहिले शौचालय र स्नानलाई निशुल्क बनाएका छौं, खानेपानी र वाइफाइ इन्टरनेट निशुल्क भएको छ’ उनले भने, ‘छिटै नै विश्रामस्थलहरु बनाएर यहाँ उच्च क्षमताका लाइटहरु जडान गर्ने कामको शुरुवात हुनेछ, यसले बसपार्कलाई सुरक्षित र सुविधा सम्पन्न बनाउनेछ।’
वर्ल्डलिंक कम्युनिकेशनका क्षेत्रीय प्रबन्धक आनन्द झाले निशुल्क वाइफाइ इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाईप्रति खुशी व्यक्त गरे।
बसपार्कभित्र लगइन गरेपछि मोबाइल एसएमएस प्राप्त भएपछि आउने कोड हालेपछि नब्बे मिनेटसम्म इन्टरनेट चलाउन सकिन्छ।
मोबाइलको सेटिङ र सुरक्षाका कारण लगइन गर्दा केही प्रक्रिया पूरा गर्नुपर्ने र त्यसको सबै तरिका बसपार्कमा राखिने सूचनाबोर्डमा उल्लेख हुने झाले बताए।
Shares
प्रतिक्रिया