बुटवलमा अनुगमनका क्रममा केही मिठाई पसल र रेस्टुरेन्टहरूमा अखाद्य अवस्थामा पुगेको तेल फेला फेला पारेको छ। बुधबार र बिहीबार गरिएको अनुगमनका क्रममा केही मिठाई पसल र रेस्टुरेन्टले तेलमा लापरबाही गरेको पाइएको हो।
बुधबार र बिहीबार बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय (भैरहवा), उपभोक्ता हित संरक्षण मञ्च (बुटवल), उद्योग वाणिज्य संघ, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, सञ्चारकर्मीसहितको टोलीले बुटवलका मिष्ठान्न भण्डार, खाद्यान्न पसल, होटल, रेस्टुरेन्ट, क्याफे, मासु पसललगायतको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा बासी र सडेगलेका सामग्री बिक्रीका लागि राखेको, झिँगा र कीरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएपछि ती नष्ट गरी कानुनी कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दीपककुमार यादवले बताए।
बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ। विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ। यस्तै ३ वटा विद्यालय अनुगमन, ८ वटा खेल संरचना अनुगमन, २२ वटा होटल तथा स्पा सेन्टर अनुगमन, १५ वटा सहकारी अनुगमन, ३ वटा विद्यालय अनुगमन र ८ वटा वडा कार्यालय अनुगमन गरिएको छ।
अनुगमनका क्रममा कानुन र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थालाई कानुनबमोजिम कारबाही गरिएको पोखरेलले बताए।
Shares
प्रतिक्रिया