धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले करारका एक कर्मचारीलाई एकैदिन तीन महिनाको हाजिर गराई तलबभत्ता खुवाएका छन्।
सेटिङको योजनाको काम गोप्य रुपमा झण्डै एक वर्षदेखि करारमा रौतहट घर भएका शौरभ कुशवाहा नामका इन्जिनियर राखेका छन्।
करारमा राखे पनि कहिल्यै कार्यालय नआउने इन्जिनियर कुशवाहालाई प्रशासकीय अधिकृत जोशीले एकैदिन तीन महिनाको हाजिर गराई तलब खुवाएको एक कर्मचारीले बताए।
नवनिर्वाचित गाउँपालिका अध्यक्ष राम अशिष महताेले पनि सो कुराको पुष्टि गरेका छन्।
आफू निर्वाचित भएर आएदेखि कहिल्यै कार्यालयमा नदेखेको इन्जिनियर कुशवाहाले तीन महिनाको हाजिरी हालसालै रजिस्ट्रारमा देखिएको उनले बताए।
यो विषयमा प्रशासकीय अधिकृत जोशीले कुरा गर्न मानेनन्।
करारमा रहे पनि इन्जिनियर कुशवाहा कहिल्यै कार्यालय आउँदैनन्।
तर, उनलाई प्रशासकीय अधिकृत जोशीले तीन/चार महिनामा एकैपटक हाजिरी गराई तलब खुवाउने गरेको कार्यालय स्राेतको दाबी छ।
गाउँपालिकाकाले अधिकृत सुमन पुरीले बाहिर फिल्डमै काम गर्ने भएकाले इन्जिनियर कुशवाहालाई बेलाबेला तलब खुवाउने गरिएको स्वीकार गरे।
इन्जिनियर कुशवाहा कार्यालय कहिल्यै आउँदैनन्, कार्यालयका कुनै कर्मचारीले उनलाई चिन्दैनन्, अनि तपाईंहरु उनलाई तलब के आधारमा कसरी खुवाउनु हुन्छ भन्ने जिज्ञासामा लेखा अधिकृत पुरीले भने, 'कार्यालय नआए पनि फिल्डमा काम गर्नुहुन्छ। त्यसैले उनलाई तलब खुवाउने गरेका छौं।'
जोशी बटेश्वर गाउँपालिकामा एक वर्षअघि हाजिर भएपछि तत्कालीन गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीलाई प्रभावमा पारेर गोप्य रुपमा काम गराउन केही कर्मचारी करारमा भर्ना गरी सेटिङमा दर्जनौँ योजनाको कोटेसन तथा टेन्डर गरी काम गराउने गरेका छन्।
कार्यालयमा आफू अनुकुल काम नगर्ने दरबन्दीका कर्मचारीलाई मतलब नगरी करारका कर्मचारीबाट काम गराउने गरेका छन्।
बर्दिबासमा अघोषित कार्यालय सञ्चालन गरी जोशीले आफू आएदेखिको कार्यालयका थुप्रै कागजात लगेका छन्।
यही असार २९ गते उनलाई गाउँपालिकाका कर्मचारीहरुले नै कुटपिट गरेपछि उनी कार्यालय आउन छाडेका छन्।
Shares
प्रतिक्रिया