सर्लाहीको हरिवन–११, बालुवाटारमा विषालु सर्पले डस्दा महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय (सर्लाही) का अनुसार सर्पको टोकाइबाट स्थानीय ३५ वर्षीया श्यामकुमारी महतोको मृत्यु भएको हो।
शुक्रबार दिउँसो स्थानीय भीमप्रसाद दाहालको निर्माणधीन घरमा ठेकदारसँग काम गर्न गएका बेला महतोलाई गोमन सर्पले टोकेको हो। सर्पले टोक्नेबित्तिकै उनलाई नवलपुरस्थित सर्प दंश उपचार केन्द्रमा लगिएको थियो।
केन्द्रमा १५ भाइल एन्टीस्नेक भेनम दिँदा पनि उनलाई ठीक नभएपछि राति १० बजे प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको उपचारमा संलग्न डाक्टर सन्तोष साहले जानकारी दिए।
‘उहाँलाई सर्पको विष शरीरभर फैलिएको थियो। हामीले १५ भाइल औषधि चलायौँ। तर अवस्थामा सुधार आएन। उहाँलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था देखियो,’ डा. साहले भने, ‘हामीकहाँ भएको भेन्टिलेटर चालु अवस्थामा नभएकाले थप उपचारका लागि हामीले जनकपुर रिफर गरेका थियौँ। बाटोमै मृत्यु भएछ।’
उनको शव शनिबार बिहान माइती पक्षले लगेको जिल्ला प्रहरी कार्यालय (सर्लाही) का प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए।
सर्पदंश उपचार केन्द्र नवलपुरमा आईसीयू र भेन्टिलेटर मेसिन भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्तिको व्यवस्था राज्यले नगर्दा सर्पले टोकेका बिरामीले अकालमै ज्यान गुमाउने गरेका छन्।
याे पनि : सर्लाहीमा सर्पदंश : आईसीयू र भेन्टिलेटर थन्किँदा अकालमा जान्छ ज्यान
Shares
प्रतिक्रिया