ad ad

मधेस


सामाजिक सद्‌भाव खलबलिने काममा नलाग्न माधव नेपालको अपिल

सामाजिक सद्‌भाव खलबलिने काममा नलाग्न माधव नेपालको अपिल

रासस
असोज १७, २०८० बुधबार १०:४९, जनकपुरधाम

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्‌भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन्। 

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भूभागमा सामाजिक सद्‌भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे। 

‘अहिले सामाजिक सद्‌भाव खल्बल्याउने मनासायले विभिन्न धर्म, सम्प्रदाय र परम्पराका नाममा फाटो ल्याउने काम भइरहेका छन्। धरान, सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगन्जमा त्यही मनसायका साथ भइरहेका क्रियाकलापले हामीलाई चिन्तित बनाएको छ’, अध्यक्ष नेपालले भने, ‘यी कदमहरू जुनसुकै नाममा र आवरणमा भए पनि सदियौँदेखि मिलेर बसेको समाज र नेपालको संविधानको मर्मविरुद्धमा छन्। यसले एकता खल्बल्याउने र प्रतिगमनलाई प्रश्रय दिने काम हुन थालेको छ। त्यसैले हामी सबै नेपाली एक हौँ भन्ने भावनाका साथ मिलेर बस्न सबैलाई अपिल गर्दछु।’

पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान-२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताए।  राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उनले समाजवादका मूल्य, मान्यतालाई आत्मसात् गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिबद्धताप्रति सबै इमान्दार बन्नुपर्ने धारणा राखे।

‘राजनीतिक परिवर्तन त भयो। तर देशको आवश्यकता र जनचाहना सम्बोधन गर्न आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका समाजवादी नीति, कार्यक्रम दिनसकिएको छैन। पर्याप्त रोजगारी र सुशासनमार्फत समृद्धि हासिल गर्ने कुरामा हामी चुकिरहेका छौँ। सबैका लागि राज्य भन्ने मान्यतालाई स्थापित गर्न धेरै काम गर्नुपर्ने छ। सही राजनीतिक दृष्टिकोण र विचारले मात्रै समकालीन समस्याबाट निकास दिनसक्छ। त्यसैले म सबै राजनीतिक दल र परिवर्तन पक्षधरहरूलाई वर्तमान निराशालाई चिर्ने गरी काम गर्न आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .