ad ad

मधेस


घटनाको एक महिनापछि वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ

घटनाको एक महिनापछि वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ

नेपालखबर
असोज ९, २०८१ बुधबार २०:१०, जलेश्वर (महोत्तरी)

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका यादवको शव गत भदौ ९ गते जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टनजिकै सडकभन्दा तल फेला परेको थियो। उनी सवार लु.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकल कल्भर्ट नजिकै भेटिएको थियो।

घटना शंकास्पद देखिएपछि नेकपा माओवादी केन्द्रका नेता-कार्यकर्ताले अनुसन्धान गर्न सीआइबीको माग गरेका थिए। जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरू सञ्जीव र दिलिप पक्राउ परेका हुन्।

घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरूसँग वडाध्यक्ष यादवले अबेर रातिसम्म बर्दिबासका विभिन्न होटलमा खानपिन गरेको, सँगै अबेर रातिसम्म बसेको र बिहान उनी मृत अवस्थामा फेला परेको कारण घटना शंकास्पद रहेको माओवादी केन्द्रको दाबी छ।

पक्राउ परेका सञ्जीव र दिलीपलाई आजै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .