रवि महर्जन फोटो पत्रकारिता गर्थे। कामको दौडधुप चलिरहँदा एकदिन उनले सोचे, ‘आफैँ व्यवसाय किन नगरुँ?’
व्यवसाय त गर्ने। तर के पो गर्ने? जानेको उही फोटोग्राफी थियो, पत्रकारिता थियो। र, साथीहरूसँग मिलेर आफैँ अनलाइन पोर्टल चलाउने योजना बनाए। तर, त्यो योजनाले मूर्तरुप पाएन।
रविको घर पाटन। आफ्नै सहरका साथी सुजन बज्राचार्यसँग उनको छलफल भयो। ‘हामी रेस्टुरेन्ट गरौँ, नेवारी कल्चरसहितको,’ चियागफमा उनीहरूले निचोड निकाले।
अघिल्लो पालीको लकडाउनमा रविले पत्रकारिता छाडे र लागे रेस्टुरेन्टको ‘कन्सेप्ट’ तयार गर्न।
त्यसको केही महिनामै रविसहित पाँच जना युवाहरुको प्रयासस्वरुप सञ्चालनमा आयो– नेवाः घासा। टिममा थिए आशिष व्यञ्जनकार, क्यारी महर्जन, रुपेश बज्राचार्य, सुजन बज्राचार्य र रवि।
असोजमा उद्घाटन गरिएको यो रेस्टुरेन्टको नयाँ शाखा सोह्रखुट्टेमा पनि विस्तार भयो।
नेवाः घासामा पहिलो पटक जाने ग्राहकलाई धेरै ‘सरप्राइज’ छन्। त्यहाँ उनीहरूले अर्गानिक दृश्यहरू देख्न सक्छन्।
ढुंगेधाराबाट कलकल पानी बगिरहेको, परम्परागत शैलीका घरका भित्ता, सुकुल र अन्य कलात्मक दृश्यले उनीहरूलाई आकर्षित गर्छ।
लाखे नाच हेर्न मानिसहरुले जात्रा कुर्नुपर्छ। तर, नेवाः घासामा प्रत्येक बिहीबार त्यो नाच हेर्न पाइन्छ। नेवारी नाच नियमितजस्तो हुने गरेको छ।
‘हाम्रो उदेश्य खाजा खुवाउनु मात्र होइन, पाहुनालाई नेवारी संस्कृति र परम्परासँग परिचित गराउनु पनि हो,’ रवि भन्छन्।
कसरी सुरु भयो रेस्टुरेन्ट?
नेवारी खाजा कहाँ पाइन्छ? भट्टीजस्तो साँघुरो पसलमा! आम बुझाइ नै यस्तो भइरहेको बेलामा रवि÷सुजनलाई लागेको थियो– हामीले यो मान्यता भत्काउनुपर्छ।
उनीहरूको भेट बाँकी तीन साथीहरूसँग भयो। जो ‘होमस्टे’ खोल्ने योजनामा थिए।
‘साथीहरूले जुन ठाउँमा होमस्टे सुरु गर्ने खोज्दै हुनुहुन्थ्यो, त्यो ठाउँ हाम्रो रेस्टुरेन्टको लागि उपयुक्त थियो,’ सुजन भन्छन्।
त्यसपछि आशिष, क्यारी र रुपेशसँग उनीहरूको चिया गफ भयो। र होमस्टे सुरु गर्ने भनिएको ठाउँमा नेवारी रेस्टुरेन्ट खोल्ने निर्णयमा पुगे उनीहरू।
‘सुरुमा हामीलाई पैसा कमाउनु थिएन, नाम कमाउनु थियो। त्यसकारण लकडाउनकै समयमा जोखिम मोलेर पाटनमा सुरु ग¥यौँ,’ रवि सुनाउँछन्।
पाटनमा ८० लाख भन्दा बढी लगानीमा सुरु भयो रेस्टुरेन्ट। केही महिनापछि नै नाफामा गयो। रेस्टुरेन्टमा उनीहरूले डिजिटल मेन्यु राखेका छन्।
‘सुरुमा डिजिटल मेन्यु थिएन। तर ग्र्यान्ड ओपनिङ गर्दा भ्याइ नभ्याइ भयो। अनि डिजिटल मेन्यु राख्यौँ,’ रवि भन्छन्।
मेन्युमा मूल्य एकदमै सन्तुलन गरेका छन् उनीहरूले।
‘हाम्रो मान्यता के छ भने यहाँ सबै किसिमका मान्छे आउन सकून्। ताकि कमै पैसामा पनि उनीहरूले खाजा खान सकुन्,’ रवि भन्छन्।
ठेट स्वाद, नेवार भान्से
रेस्टुरेन्टमा नेवारी पोसाकसहित खाना बनाइरहेका भान्से भेटिन्छन्। उनीहरू नेवारी खानामा पारंगत नेवार महिला नै हुन्।
‘हामीले कुकचाहिँ नेवारी हाउसवाइफ राख्ने सोचमा थियौं। कारण, उनीहरूको हातमा टिपिकल नेवारी स्वाद हुन्छ। त्यही अनुसार हाम्रै आमा, सानीआमा कुक, सेफ हुनुहुन्छ,’ रवि भन्छन्।
पाटनमा मात्र होइन, सोह्रखुट्टेको ब्रान्चमा पनि गृहणीहरु नै छन् कुक र सेफ। अनि रेस्टुरेन्टमा नामै नसुनेका नेवारी खाजा पनि पाइछन्।
‘नेवारी फेस्टिबलमा मात्र पाउने बुल्ला हाम्रोमा हरेक दिन हुन्छ। त्यसैगरी नेवारी खाजाका अनेका आइटम हामीसँग छन्,’ रवि भन्छन्।
उमेरले ३० वरिपरिका पाँच युवाहरूसँग रेस्टुरेन्टसँगै संस्कृति जगेर्ना गर्ने भिन्नै सपना छ। त्यसलाई उनीहरू देशभर विस्तार गर्न चाहन्छन्। लकडाउन थिएन भने यो विस्तार अझै भइसक्ने थियो।
‘लकडाउन भइदिएन भने अब छिट्टै भक्तपुरमा नयाँ शाखा सुरु गर्र्दैछौँ,’ रवि सुनाउँछन्।
Shares
प्रतिक्रिया