‘थ्यांक यु सौरभ! हाम्रो लागि यति राम्रो ठाउँ बनाइदियौ,’ पुस्तकालयबाट किताब निकाल्दै एक आगन्तुकले सौरभ कार्कीलाई धन्यवाद दिए।
शंखमूलस्थित उजामा कफी विथ बेकरी एन्ड लाइब्रेरीमा सौरभ केही आगन्तुकहरूसँग गफिँदै थिए।
थुप्रै पुस्तक पसलमा खोजेर पनि नभेटिएका किताब उजामाभित्र फेला पार्दा कोही भने दंग थिए।
‘म एउटा लाइब्रेरी कार्ड लिन्छु। यहाँका थुप्रै किताब पढ्नैपर्ने खालका छन्,’ एक लेखकले उनलाई भने।
सौरभ कवि हुन्। उनका कविताहरू खराब शासकका बर्खिलाप हुन्छन्। केही महिनाअघि बालुवाटारअगाडि आन्दोलन गर्दैगर्दा उनी पक्राउ परेका थिए। पक्राउ परिरहँदा उनले सडकमै सुनाएको क्रान्तिकारी कविता त्यतिबेला चर्चामा थियो।
पुस्तकमाथिको करविरुद्ध होस् वा संसद् विघटन वा एमसीसी। सिर्जनशील तरिकाले सौरभ सडकमा ओर्लिएकै हुन्छन्।
केही समययता भने सडकबाट गायब थिए। सौरभको त्यो अनुपस्थितिबाट साथीभाइ छक्क परेका थिए। त्यो कारण रहेछ– उजामा।
‘म आम मानिस न हुँ। जो साँच्चिकै हराइरहेका छन्। म हराउनु र भेटिनुले कुनै अर्थ राख्दैन,’ सौरभ भन्छन्, ‘तर मैले के गरिरहेको छु भन्ने कुराले अर्थ राख्छ।’
भर्खरै उनले पुस्तकालयसहितको कफी सप खोलेका छन्। जसमा अझै स्पेस र पुस्तक थप्ने उनको योजना छ।
‘नयाँ विचार र बहस जन्मिने भनेकै चियापसल र कफीसपबाट हुन्। त्यो सिर्जना यहाँबाट होस् भन्ने हाम्रो चाहना छ,’ सौरभ भन्छन्।
नाम जुर्यो उजामा
उनलाई पढ्नु थियो। आफूजस्तै पढ्ने मान्छेहरूको सर्कल खोज्नु थियो। त्यो सर्कल र माहोलको खोजीमा छट्पटाइरहेका थिए उनी। कुनै कफीसपको कुनामा बसिरहँदा उनले सोचे– आफैँ त्यस्तो समूह किन नबनाउने! विभिन्न किसिमका मान्छे, विभिन्न थरीका विचार र त्यसबाट जन्मने बहस।
सौरभको यही सोच आफ्ना फुपूका छोरा लीलाराम खड्कासँग मिल्दो थियो। लीलाराम पनि विद्यार्थीलाई जापान पठाउने इन्स्टिच्युट चलाएर थाकेका। विद्यार्थीलाई जापान पठाउँथे। तर, तिनको जीवनमा खासै परिवर्तन देखेनन् उनले।
उनले जापानमा काम गर्ने विद्यार्थीको अवस्थाबारे मसिनो गरी अध्ययन गरेका थिए।
‘बढीजसो त लहडमै जाने र दुःख पाउने। कति त गएर बिरामी भएर फर्किएर डिप्रेसनमा पुगेको पनि पाएँ। उनीहरूले न जापानमा केही गर्नसके न नेपालमै,’ लीला सुनाउँछन्, ‘१० वर्ष जापानमा बसेर आउनेको भन्दा नेपालमा बसेर व्यवसाय गर्नेको धेरै प्रगति हुन्छ भन्ने निष्कर्षमा म पुगेँ।’
८ वर्षसम्म जापान पठाउने काम गरेका लीलाको मन एकाएक बदलियो। बरु विदेश पठाउने होइन, रोक्ने उपाय सोच्न थाले।
उनी सोच्न थाले– त्यस्तो कुन व्यवसाय सुरु गर्न सकिएला, जसमा विद्यार्थीलाई रोजगारी प्राप्त होस्।
‘कफीसप!’
‘कफीसपमा विद्यार्थीहरूको रुचि देखेँ। उनीहरूले रमाउँदै काम गरेको देखेँ,’ लीलाराम सुनाउँछन्।
सौरभ र लीलाको सोच मिल्यो। सौरभ चाहन्थे–बहस र विचारको निर्माण गर्ने थलो बनाऊँ। लीलालराम चाहन्थे– विद्यार्थीद्वारा विद्यार्थीकै लागि व्यवसाय सञ्चालित गरौँ।
दुवै सोचलाई एकट्ठा गर्दा कफी र लाइब्रेरीको अवधारणा बनिगयो।
व्यवसायको खाका बनेपछि उनीहरु नाम खोज्न थाले।
दुई महिनासम्म नाम जुर्न सकेन। एकरात लीलारामले सौरभलाई फोनमा भने, ‘दाइ नाम जुर्यो, उजामा!’
सन् १९६१ मा ब्रिटेनबाट तान्जानिया स्वतन्त्र भयो। त्यसपछि तान्जानियाका नेता जुलियस न्येरेरले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि एउटा विचारधारा अघि सारे– उजामा। स्वाहिली भाषाको यो शब्दको अर्थ थियो– पारिवारिकता। विभिन्न ठाउँबाट आएका व्यक्तिबाट परिवार बनाउने र त्यो परिवारबाट सामूहिक उत्पादन गर्ने।
त्यो सौरभ र लीलाको उदेश्यसँग पनि मेल खान्थ्यो।
विद्यार्थीलाई रोजगारी, घण्टाको हिसाबले पारिश्रमिक
सौरभ र लीला यसलाई व्यवसायभन्दा बढी अभियान ठान्छन्।
उजामाका स्टाफ विद्यार्थी नै छन्। उनीहरुले त्यहाँबाट पारिश्रमिकसँगै सीप पनि सिक्छन्।
‘आफैँ अभ्यस्त भएर विद्यार्थीले नै यो किसिमको व्यवसायलाई अगाडि बढाउन सक्ने गरी हामीले तयार गर्ने हो,’ लीलाराम भन्छन्।
घण्टाको हिसाबले पारिश्रमिक दिइएको उनको भनाइ छ।
योसँगै विद्यार्थीहरूलाई अध्ययन गर्ने संस्कृति बसाल्ने उनको सोच छ।
कफीसपमा आउने ग्राहक पुस्तकालयको सदस्य बन्न सक्नेछन्। पुस्तकालयको सदस्य बन्न एक हजार तिर्नुपर्ने हुन्छ। एक हजार रुपैयाँमा दर्ता गरेबापत् उनीहरूले सहजै किताब लैजान सक्नेछन्।
कफीसपमा विद्यार्थी, मिडिया लगायत रिसर्चरहरूलाई १५ प्रतिशत छुट हुनेछ।
व्यवसायिक पाटोको जिम्मा लीलारामलाई छ। सौरभको ध्यान भने पुस्तकालयमा हुन्छ। उनी कस्तो किताब ल्याउने, कस्तो खालको बहस सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित छन्। केही समयअघि एमसीसीमाथि बहस भएको थियो।
‘यहाँ अरु बहस पनि सञ्चालन गर्न सकिन्छ। हरेक क्षेत्रमा काम गर्ने साथीहरूको अनुभूति, नेपालको राजनीतिक परिदृश्य, दलित, मधेसका मुद्दा लगायत विविध विषयमा बहस गर्न सकिन्छ,’ सौरभ भन्छन्।
सौरभलाई लाग्छ– किताब समाएर पढ्नुको मजा अन्त भेटिन्न।
‘अझै यो लाइब्रेरीमा विश्व इतिहासका पुस्तक थप्नु छ र यो कफीसपलाई विमर्शको थलो बनाउनु छ,’ सौरभ सुनाउँछन्।
Shares
प्रतिक्रिया