मध्ये पुसको चिसो। अघिल्लै रातबाट पिलपिलाएर भर्खर थामिएको आकास। काठमाडौँ, पोखरा हुँदै झापासम्म तय भएको लामो यात्रा। राष्ट्रिय सभा उम्मेदवारी प्रक्रिया सक्नुपर्ने चटारो। बधाई र शुभेच्छाका लागि पर्खिरहेका शुभचिन्तक। एकै निमेष नरोकिई बजिरहने फोनको घण्टी।
आफैँलाई समय दिन सकिरहेका थिएनन् उनी। यही बेफुर्सदीमा मैले उनको समय मागेकी थिएँ। त्यसैले लागिरहेको थियो– सायद समयमा आउने छैनन्। तर, विश्वप्रकाश शर्मा तोकिएकै समयमा झम्सिखेलको अँगेनो रेस्टुराँमा झुल्किए। कफीको साथमा हामी राजनीति बाहिरको उनको व्यक्तित्वको आयाम खोतल्न तम्सियौँ।
आँखैअगाडि कयौँ पटक पालुवा फेर्यो सुपारीको बोटले। अनुहार फेर्यो गाउँको स्वरुपले। आकार फेर्यो उनले बाल्यकालमा खुट्टा फाल्दै निदाएको जगदीश दाइको चिया पसलले। चोला फेर्यो आफ्नै बा–आमाको शरीरले। चेतनास्तर पनि त कहाँ एकनास रहिरह्यो र सधैँभरि! उमेरसँगै फेरिँदै गयो जीवनप्रतिको दृष्टिकोण। आफ्नै जीवनबाट छुटिगएका यी यावत कुरा सम्झिँदै गर्दा उनी कहिले भावुक हुन्थे त कहिले मुस्कुराउँथे।
उनी जन्मिएकै वर्ष उनका बुवालाई राजकाज मुद्धा लगाइयो। बुबा जेल परे। शिक्षिका थिइन् आमा, उनलाई घर अपायक सरुवा गराइयो। बच्चा बोकेर स्कुल जानु, बाहिरको चिया पसलमा छोरो छाडेर केटाकेटी पढाउनु उनकी आमाको दैनिकी थियो। आफ्नै हुर्काइको कथा पछिसम्म थाहा थिएन उनलाई। आज उनलाई आमाले हुर्काउन गरेको संघर्ष थाहा छ। तर छैन तिनै संघर्ष सुनाएर सँगै मुस्कुराउने आमाको अनुहार। आमाको स्मृतिमा उनको गला अवरुद्ध हुन्छ। लयमा फर्किन थोरै समय लाग्छ।
‘आज आमाबुबा दुवै हुनुहुन्न। दुवैको अन्तःप्रेरणा मसँगै छ। हरेक दिन ध्यान गर्छु। उहाँहरु मेरै वरिपरि हुनुहुन्छ भन्ने महसुस हुन्छ,’ उनी भन्छन्।
उनकी आमाले २६ दिनको अस्पताल बसाइपछि घर फर्किएर उनकै काखमा प्राण त्यागेकी थिइन्। बागमती नदीको किनारमा अन्तिम सास फेरेकी आमाको मृत शरीर लिएर उनी झापाको जमुना नदीको किनारमा पुगे। आमाको मृत शरीर बोकेर जाँदै गर्दाको त्यो क्षण जिन्दगीकै सबैभन्दा बोझिलो थियो।
‘हिजो उहाँ हुनुहुन्थ्यो। आँसु आउँथ्यो अनि आमालाई सम्झन्थेँ। अहिले उहाँ हुनुहुन्न, उहाँलाई सम्झन्छु, अनि आँसु आउँछ,’ उनी भन्छन्, ‘आँसु आउने परिस्थिति फेरिए होलान्, आँसु बगाउने आँखा र सम्झना गर्ने चेतना फेरिएको छैन। जीवनभर मनोवैज्ञानिक रुपमा सँगै हुनुहुन्छ।’
बेलै नभई उनको जीवन राजनीतिको रङमा घुलियो। १३ वर्षको कलिलो उमेरमै उनी प्रहरी हिरासतमा परे। नमिठो अनुभूति थियो त्यो, जुन तत्कालका लागि मात्रै सत्य थियो। समयसँगै फेरियो आफ्नै भोगाइको स्वाद। आफैँले हिँडिआएको बाटो अहिले सम्झँदा अप्ठेरै भए पनि प्रिय लाग्छ। उनले हिँडेको राजनीतिक बाटो मात्रै होइन, कला साहित्यको बाटो पनि उस्तै सुन्दर छ। राजनीतिका नाराजस्तै प्रिय लाग्छन विश्वप्रकाशलाई गीतका हरफहरु। कविताका पंक्ति र उपन्यासका कथानक। त्यसैले उनी बेलाबेला गायक भएर सुनिन्छन्। बेलाबेला संगीतकार भएर गुञ्जन्छन्। कहिले गीतकार भएर देखा पर्छन्।
‘कुनै समय बुबाले आफूले हिँडिरहेको बाटोमा बिराम लगाएर तिमी राजनीतिमा हिँड नभन्नु भएको भए आज विश्वप्रकाशलाई कहाँ, कस्तो अवस्थामा भेटिन्थ्यो होला?’
प्रश्न भुइँमा खस्न नपाउँदै उनले भने, ‘कला साहित्यमा।’
हुन त उनमा बाल्यकालबाटै गीत/संगीत र लेखनमा रुचि थियो। उनका काका राजनीतिसँगै गीत/संगीतमा पनि सक्रिय थिए। कुनै दिन विश्वप्रकाशले राजनीतिमा आफ्नै काकासँग प्रतिस्पर्धा गरे। तर, संगीतमा उनीसँगै हिँडिरहे।
स्कुले जीवनदेखि नै हो उनले कविताका हरफ कोर्न थालेको। गीत गुनगुनाउन थालेको। जीवनको कुनै एक कालखण्डमा उनका कविता र गीतले थुप्रै पुरस्कार जितेका छन्। उमेरसँगै रुचिको प्राथमिकता फेरियो। क्याम्पस पढ्न सुरु गरेपछि उनी लेखनमा कम, विद्यार्थी आन्दोलनमा धेरै देखिए। लामो समय उनले कपीमा आफ्ना भावना पोखेनन्। राजनीतिमा उचाइ बढ्दै जाँदा पातलो देखियो सांगीतिक यात्रा। विवाहपछि भने उनकी श्रीमती कविताले झक्झक्याइरहिन् गाउन, लेख्न र संगीत गर्न। उनी हिजोआज हरेक बिहान हार्मोनियम समातेर बस्छन्।
‘राजनीतिमा पनि मेरो व्यक्तिगत सपना छैन,’ उनी भन्छन्, ‘म राजनीतिक रुपान्तरणमा प्रयोग हुन चाहन्छु। व्यक्तिगत रुपमा मन्त्री, प्रधानमन्त्री बनुँला यसको कुनै अर्थ छैन। तर, समाज रुपान्तरणको कुरालाई गहिरोसँग बुझ्नु पर्छ।’
संगीतमा पनि उनको सपना आत्मसन्तोष हो। उनी फुर्सदमा मात्रै होइन यात्रामा पनि धुन बनाउँदै हिँड्छन्। धुनले ध्यानमा लैजान्छ। ध्यानले एकाग्रता दिन्छ। एकाग्रताले काममा एकरुपता दिन्छ। त्यसैले त जीवनका अनेक उतारचढावमा पनि उनले सम्झिरहे गौतम बुद्धको वाणी– यो समय सधैँ यस्तै रहँदैन।
एउटा मान्छे राजनीति मात्रै भनेर दौडिँरहदा कालान्तरमा ऊ कति रुखो बन्ला? यसको उत्तर छैन विश्वप्रकाशसँग।
तर उनी ठोकुवा साथ भन्छन्, ‘हरेक राजनीतिकर्मीले संगीतको करुणालाई भावनात्मक रुपमा बुझेको खण्डमा समाजमा हिंसा कम हुन्छ। संगीतले करुणा सिर्जना गर्छ।’
देश दुख्दै गर्दा, देशका नागरिक आत्तिएको बेला अरु भाषण गर्छन्। उनी गीत लेख्छन्। भाषणको भन्दा तीव्र गतिमा दौडन्छ गीतको सन्देश। एउटा मान्छेले सरल जिन्दगी बाँच्दै गर्दा खुसी सँगाल्ने क्षण पनि यस्तै हुने रहेछन्।
सामाजिक रुपान्तरणको विषयमा बोलेर नथाक्ने विश्वप्रकाश यही रुपान्तरणको सपना बोकेर एउटा टेलिभिजन कार्यक्रममा जोडिए। ‘ऐना’को पहिलो सिजनमा २६ भाग प्रसारण भए। प्रस्तोताका रुपमा उनले कयौँ सामाजिक मुद्दालाई बहसमा ल्याए। यो कार्यक्रम सञ्चालनका दौरानमा उनले अरुलाई मात्रै ऐना देखाएनन्, आफैँले पनि ऐना हेरे। अरुले देश बन्यो, बन्दै छ भन्दै गर्दा उनको मनमा बारम्बार प्रश्नहरुको भंगालो उठ्थ्यो र फुट्थ्यो।
उनी आफैँसँग प्रश्न गर्थे, ‘एउटा बाबुले प्लेन चढ्ने हैसियत निर्माण गर्दै गर्दा एसिड छ्यापिएकी छोरी अगाडि लाएर हिँड्नु पर्यो भने त्यसलाई देश बनेको भन्छन् र?’
यही प्रश्नले जोडेको हो उनलाई काँचको पर्दामा।
वर्षौ अघि बीपीले भनेका थिए, ‘एउटा होइन, नेपाल दुइटा छ।’
बीपीकै पथ पछ्याउँदै राजनीतिमा आएका विश्वप्रकाश बारम्बार बीपीले ‘बाटो–घाटो, बिजुली भएको एउटा नेपाल, नभएको अर्को नेपाल’ भनेको कुरा सम्झना गर्थे। ‘ऐना’ चलाउन थालेपछि उनले प्रष्टै देखे दुइटा नेपाल।
‘एउटा १० बज्दा स्कुल निस्कने नेपाल, अर्को दिनको २ बज्दा पनि भोकै होटलको टेबल पुछ्ने नेपाल,’ उनी भन्छन्।
यो दौरानमा उनले संगालेका अनुभव निकै कारुणिक र दर्दनाक छन्। भन्छन्, ‘ऐनाले मलाई गहिरो रुपमा ऐना देखायो। आफ्नो कर्तव्यबोध गरायो।’
आज कांग्रेसको महामन्त्री हुँदैगर्दा उनलाई लाग्छ, ‘मैले बिर्सन मिल्छ र कोक्रोबाट झिकेर बलात्कार गरी मारेर मिल्काएकी बच्चीलाई?’
यस्ता कयौँ घटना छन् उनको मानसपटलमा। उनी चाहन्छन् हरेकले आफ्नो देश र समाजलाई लिएर आफ्नो नेतृत्वपंक्तिसँग प्रश्न गरुन्।
‘अबको दशक सामाजिक विसंगति अन्त्य गर्ने दशक बन्नु पर्छ। यसका लागि मेरो तर्फबाट गर्नुपर्ने भूमिका इमान्दार भएर पुरा गर्नेछु’, उनी भन्छन्।
विश्वप्रकाश कांग्रेसको निर्वाचित महामन्त्री भए। उनले अब ‘ऐना’ छाड्लान कि सँगै लैजालान्? धेरैको कौतुहलता छ। विश्वप्रकाश ‘ऐना’लाई एउटा टेलिभिजन कार्यक्रम मात्रै मान्न तयार छैनन्। यो आफैँमा एउटा अभियान भएकाले पनि अर्को सिजनमा उनी जोडिन सक्ने सम्भावना छ। उनलाई राजनीतिमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नका लागि पनि भुइँमान्छेका कथा गहिरोसँग अध्ययन गर्नु छ।
भन्छन्, ‘समस्या राम्रोसँग थाहा भए पो उपचार राम्रो गर्न सकिन्छ।’
तर, अर्को सिजनमा सहभागी हुने या नहुने, उनी आफैँले निर्णय गरिसकेका छैनन्। अहिलेको समाजले प्रेम र पसिना रुचाउने हो। रगत र द्वन्द्व होइन। विश्वप्रकाश त्यही प्रेमिल देश बनाउन चाहन्छन्।
त्यसैले उनी राजनीतिसँगै अन्य कामलाई पनि अघि बढाउन चाहन्छन्। एउटा मान्छेले आफ्नो जीवन बाँच्दै गर्दा बुझ्नु जरुरी छ, ‘जीवनको एउटा मात्रै रंग हुँर्दैन।’ इन्द्रेणीका हरेक रंगले आफ्नो ठाउँमा बसेर सुन्दरता छरेजस्तो विश्वप्रकाश पनि अनेक ठाउँमा उभिएर अनेक रङ छर्न चाहन्छन्।
राजनीतिभन्दा पर उनको सुन्दर परिवार छ। परिवारमा पनि उनी सर्वप्रिय छन्। कुनै कार्यक्रमको सेटमा जस्तै क्रेज छ उनको। धेरै समय परिवारसँग बिताउन पाउँदैनन्। बाहिरको काम सकेर भित्र पस्दै गर्दा उनी बाहिरका कुरा बाहिरै छाड्छन्। घरमा छोरासँग लुँडो खेल्छन्। छोरीसँग गीत गाउँछन्। श्रीमतीसँग सुखदुःखका कुरा गर्छन्। त्यसैले त राजनीतिमा जस्तै सफल छन् उनी परिवारमा पनि। कुराकानीको क्रममा उनी आफ्नी श्रीमतीको प्रशंसा गर्न चुक्दैनन्।
‘दाम्पत्य जीवन कसैले कसैका लागि गर्ने त्याग होइन, दुवैले एकअर्काका लागि गर्ने भरथेग हो,’ उनी भन्छन्, ‘यो अघिपछि भएर हिँड्ने सम्बन्ध हुँदै होइन।’
एउटा मान्छे असल हुन कस्ता गुण हुनुपर्छ?
विश्वप्रकाश भन्छन्, ‘असल बन्न धेरै कुरा चाहिँदै चाहिँदैन। केवल असल बन्छु भन्ने भावना भए पुग्छ।’
धेरैको जिन्दगीमा असल बन्ने कि सफल बन्ने भन्ने दुविधाले निकै समय लिन्छ। धेरै मान्छेले सुखको खोजीमा जीवनका खुसी छाडिरहेका हुन्छन्। उनी जीवनमा जहिले पनि सुख र खुसीमध्ये रोज्नु पर्ने दिन आयो भने खुसी रोज्छन्।
‘सुख त आउँछ जान्छ,’ उठ्दै गर्दा विश्वप्रकाशले भने, ‘जीवनमा यस्तो महत्वाकांक्षा पनि लिनु हुँदैन, जसमा केन्द्रित भएर संसार छोड्नु परोस्। साथी, परिवार, खुसी आफूलाई आनन्दित बनाउने हर कुरा छुटेर पाएको सफलताले कुनै अर्थ राख्दैन जीवनमा।’
Shares
प्रतिक्रिया