आमालाई धेरैले विश्वविद्यालय भन्ने गरेका छन्। जीवनको आदर्श मान्ने गरेका छन्। बन्दना राणा पनि आफूले जीवनमा हासिल गरेका हर उपलब्धिसँग आमाको नाम जोड्छिन्। स्कुल नै नटेकेकी उनकी आमाले ‘छोरीलाई पढाएर के हुन्छ र’ भन्ने समयमै छोरीले अंग्रेजी बोलेको सपना देखिन् र उनलाई अंग्रेजी पढाइन्।
त्यतिबेला काठमाडौंमा अहिलेजस्तो धेरै अंग्रेजी स्कुल थिएनन्। नाम चलेको ‘सेभिनार स्कुल’ पनि क्रिस्चियनहरुको हो भन्ने हल्ला थियो। बन्दनाका बुवा धर्म परिवर्तन होला भन्ने डरले आफ्ना छोराछोरी उक्त स्कुलमा पढाउन तयार थिएनन्। तर, त्यो समयमा पनि बन्दनाकी आमाले श्रीमानलाई सोध्दैनसोधी छोरीलाई अंग्रेजी स्कुल भर्ना गरिदिइन्। आज पनि बन्दना आमाको त्यो निर्णयप्रति अनुगृहित छिन्।
रजस्वलापछि लाग्यो– भाइभन्दा म फरक रहेछु
डटेर आफ्नो निर्णय लिन सक्ने आमा। काममा सधैँ व्यस्त बुबा। आमाकै रेखदेखमा हुर्किरहेकी बन्दनालाई समाजमा लैंगिक विभेद छ भन्ने थाहै थिएन। जेठी छोरी बन्दनाका दुई भाइ र एक बहिनी थिए। कहिलेकाहीँ उनलाई लाग्थ्यो, ‘जेठी छोरी हुनु चाहिँ नहुने रहेछ।’
आफूले खेलाइरहेको सामान भाइ–बहिनीले मागे भने उनकी आमाले ‘तिमी ठूलो हौ, भाइबहिनीलाई देऊ’ भन्थिन्। मन नभए पनि दिनुपथ्र्यो। भाइ–बहिनीसँग सानो विवाद हुँदा पनि ‘तिमी ठूलो हौ, चुप लागेर बस’ भन्ने सुन्नुपर्थ्यो। उनलाई पीडा महसुस हुन्थ्यो। यो जिम्मेवारी हो भनेर बुझ्न लामो समय लाग्यो।
१२ वर्ष पार गर्नै लाग्दा बन्दनाको रजस्वला सुरु भयो। उनलाई लाजको नजरले हेरियो। २१ दिनसम्म बन्द कोठामा थुनियो। सूर्यको प्रकाश हेर्न दिइएन। हिजोसम्मका प्रिय पात्र भाइ र बुबाको अनुहार समेत देख्न पाइनन्। बन्दनाको बाल चेतनाले किन भनेर प्रश्न गरिरह्यो। जाँदाजाँदैको स्कुल जान पाइनन्। यो सबै उनको जीवनमा अप्रत्यासित भयो। आमाले के भोगिन्, उनलाई थाहा छैन। घरमा उनका दिदी थिएनन् त्यसैले यो परम्पराका विषयमा उनलाई जानकारी थिएन।
बन्दनाले बारम्बार ‘मलाई किन यसरी थुनियो’ भनेर गर्ने प्रश्नमा एउटै जवाफ आइरह्यो, ‘बिटुलो भएकाले सूर्य र पुरुषलाई हेर्न हुँदैन। उनीहरुको छाया पनि पर्नु हुँदैन।’
त्यसपछि बन्दनालाई लाग्यो, ‘भाइ र म एकै होइन रहेछौँ। भाइभन्दा म फरक रहेछु।’
उनलाई आफू भाइभन्दा कमजोर महसुस भयो। एकखालको हीनताबोध भयो। रजस्वलाबाट बारेर बाहिर निस्किएपछि उनले भाइ र बुबासँग पहिलेजस्तो सम्बन्ध स्थापित गर्नै सकिनन्। सधैं एकखालको दुरी बनिरह्यो। त्यसपछि उनी शान्त भइन्। बोलिरहनु पर्ने बन्दनाका शब्द अड्कलेर निस्क्न थाले। सबैसँग खुलस्त हुन सकिनन्। उनको यो बानीलाई परिवार र समाजले ज्ञानी भनेर परिभाषित गरिदियो।
अहिले फर्किएर हेर्दा बन्दनालाई लाग्छ, ‘आफ्नो स्वभाव त त्यही रजस्वला हुँदा थुनिएको घटनाले परिवर्तन गराएको रहेछ।’
पढ्नु पर्दैन भन्ने भ्रमले रोजेको वैवाहिक बाटो
उनको पालामा स्कुल पढ्ने छोरी नै कम हुन्थे। क्याम्पस पढ्ने त झन् नगन्य जस्तै। त्यही समय आईए पढ्दै गरेकी बन्दनाको मनमा आयो ‘बिहे गर्न पाए त पढ्नै पर्दैन।’
उनको किशोरी चेतले पढाइलाई बोझ मानिरहेकै बेला चिनजानकै सुनिल राणासँग विवाहको कुरा चल्यो। पारिवारिक चिनजान थियो। बन्दना र सुनिल पनि परिचित थिए। बन्दनाले सुनिलको जीवनसाथी बन्ने निर्णय लिइन्।
बिहे गरेपछि पढ्नु पर्दैन भन्ने उनको सोच त्यसबेला गलत साबित भयो, जतिबेला उनका ससुराले भने, ‘मेरी बुहारी राम्रो विद्यार्थी हुन्, अगाडि पढ्नु पर्छ।’
विवाहले उनको पढाइ रोकिएन। विवाहपछि बन्दना पद्मकन्या क्याम्पसमा बीए पढ्न थालिन्।
‘पढ्दै जाँदा शिक्षाको महत्व पनि बुझिँदै जाने रहेछ,’ बन्दनाले सुनाइन्।
१८ वर्षमै गर्भावस्था
त्यो समय महिनावारी र गर्भावस्थालाई लिएर समाजमा बहस नै हुँदैनथ्यो। उनलाई यत्ति थाहा थियो– ‘महिनावारी रोकिएपछि गर्भवती भइन्छ। ९ महिनापछि बच्चा जन्मिन्छ।’
यसलाई उनले असाध्यै सहज रुपमा लिएकी थिइन्। हुन पनि वरिपरिका सबै महिला आमा भइरहेकै थिए। उनकै उमेरका कति दौँतरीले पनि छोराछोरी हुर्काइरहेका थिए। बच्चा जन्माएका सबै आमाहरुको अनुहारमा खुसी देख्थिन्। त्यही खुसीले पनि बन्दनालाई बच्चा जन्माउनु पीडा र कष्टकर क्षण काटेर बाँच्नु हो भनेर सोच्न दिएन। अहिले जस्तो न प्रविधि थियो। न यौनजीवन, गर्भावस्था र मासिकश्रावका बारेमा लेखिएका पुस्तक नै। त्यसैले पनि दुःखका कथा थाहै थिएन उनलाई।
बन्दनालाई गर्भावस्थाको समय निकै रमाइलो लाग्यो। सबैले आफुप्रति देखाएको चासो, माया र शुभेच्छा उनका लागि निकै सुखद् थियो। आफन्तले ‘ऊ दुई जिउको छ है’ भन्थे। ‘के खान मन छ’ भनेर सोध्थे। वरपरका सबैले मिठोचोखो बनाएर खान बोलाउँथे।
देख्नेजति धेरैले बन्दनालाई भन्थे, ‘तिमी कति उज्यालो देखिएको, तिमीले छोरै पाउँछौ।’
बन्दनाको चेतनाले त्यही स्वीकार गर्यो। छोरा र छोरीसँग समाजको कस्तो अपेक्षा लुकेको छ, त्यो उनलाई थाहा भएन। मात्रै उनलाई लाग्यो, ‘यी पाका उमेरका सबैको अनुभव बोलेको हो। मेरो कोखमा छोरो चल्मलाइरहेछ।’
पछाडि फर्किएर हेर्दा हिजोआज बन्दनालाई लाग्छ– पहिलो सन्तान छोरी जन्मिन्छ भन्ने त चलन नै रहेनछ समाजमा।
‘बुहारी अब्बल छ, उसलाई पढाउनु पर्छ’ भन्ने ससुराले पनि ‘मेरो बुहारीले छोरा नै पाउँछे’ भनेपछि बन्दनाको आँखामा छोराकै आकृति कोरियो।
गर्भावस्थाको केही दिन बन्दनालाई ग्लुकोजपानी मात्रै खाएर सुतेको याद छ। नत्र अधिकांश समय के खाऊँ के खाऊँ भइरहन्थ्यो। आलुको अचार, अमिलोपिरोसँग खुब दिलचस्पी थियो। कलेज जाने–आउने क्रम चलिरहन्थ्यो। अहिले जस्तो गर्भावस्थाको उत्सव मनाउने प्रचलन थिएन। दही च्युराको प्रचलन थियो। त्यो पनि बन्दनालाई निकै रमाइलो लाग्थ्यो। झण्डै रमाइलो रमाइलैमा बन्दनाको गर्भावस्था सकियो। पेटमा बच्चा चल्मलाउँदा भने उनी डराउँथिन्। ठूलाहरुले ‘सबैको यस्तै हो’ भनेर ढाडस दिन्थे।
पहिलो र दोस्रो आश्चर्य
डेलिभरीको एकहप्ता अघि पानी बग्यो। बन्दना अस्पताल पुगिन्। डाक्टरले डेलिभरीको समय भएकै छैन भनेर घर फर्काइदिए। अस्पतालबाट फर्किएपछि उनलाई अप्ठ्यारो महसुस हुन थाल्यो। त्यसबेलासम्म बन्दनालाई कसैले भनिदिएकै थिएन बच्चा जन्माउन कति गाह्रो हुन्छ भनेर। सबैले तिमीले छोरा पाउँछौ मात्रै भने, बच्चा जन्माउन कति गाह्रो हुन्छ कसले बुझाइदिने उनलाई।
स्कुल पढ्दाकी एउटी साथीले भनेकी थिइन्, ‘बन्दना मरेर बाँच्नु पर्छ।’
बन्दनालाई लाग्यो, ‘सबैले सजिलै हुन्छ भनेको ठाउँमा यसले मलाई तर्साई।’
त्यसबेलाको शान्तभवन पाटन अस्पतालमा परिणत भएकै थिएन। बन्दना सुत्केरी व्यथा लागेपछि सोही अस्पताल भर्ना भइन्। जब उनलाई कन्ट्रयाक्सन पेन सुरु भयो, तब उनले सबैलाई बिर्सिइन् र त्यही साथीलाई सम्झिरहिन् जसले पीडा हुन्छ भनेकी थिइन्। उनलाई एकदिन एकरात पुरै व्यथा लाग्यो। लामो प्रसव पीडापछि उनले छोरी जन्माइन्। यो उनका लागि पहिलो आश्चर्य थियो।
बन्दनालाई सबैले तिमी राम्री छौ भन्थे। उनले पनि आफूजस्तै राम्रो बच्चाको कल्पना गरेकी थिइन्। उनले बच्चाको सुन्दरताका बारेमा जे पढेकी थिइन्, जे सुनेकी थिइन्, त्यो भएन। पहिलो पटक देख्दा आफ्नी छोरी राम्री लागिनन्। बन्दनालाई दुःख लाग्यो। यो उनका लागि दोस्रो आश्चर्य थियो।
उनका ससुराले पनि जिस्काउँदै भने, ‘हेर बुहारीले छोरा पाउँछिन् भनेको त छोरी पाइन्।’
उनको दिमागमा त्यही गड्यो।
बन्दनालाई लाग्यो, ‘म परिवारमा फेल भएँ। जिन्दगीमा फेल भएँ।’
पोस्ट डेलिभरी डिप्रेसन
एक त छोराको आश गरेको ठाउँमा छोरी जन्मिनुले बन्दनाको मनमा नमिठो घाउ बनेको थियो। अर्कोतिर, दूध चुसाउन समस्या भयो। उनलाई कसैले दूध चुसाउने तरिका सिकाएकै थिएनन्।
कतै पढेकी थिइन्, ‘बच्चाले दूध चुसेपछि मातृत्व उम्लिएर आउँछ।’
तर, उनलाई बच्चालाई दूध चुसाउन आएन।
सानैबाट लजालु स्वभाव थियो। प्रसवको समयका कतिपय कुराले बन्दनालाई यसै पनि डिप्रेस्ड जस्तै बनाएको थियो। दूध चुसाउन नजानेपछि आफन्त महिलाहरु सबैले स्तन छोइदिने, यसरी भनेर सिकाउने गर्थे। उनलाई यी सबैकुरा स्वीकार गर्न गाह्रो भयो। झण्डै दुई साता बन्दनालाई पोस्ट डेलिभरी डिप्रेसननै भयो।
‘सचेत भएर, बच्चाको आवश्यकता महसुस भएर, सबै कुराको प्लान गरेर बच्चा जन्माउनु र प्लानबिनै अज्ञानतामै बच्चा जन्माउनुमा धेरै फरक पर्दो रहेछ,’ उनले भनिन्, ‘मेरी छोरी अहिले एक असल, राम्रो सन्तान हो। पहिलो पटक आमा बन्दै गर्दाको त्यो क्षण धेरै कुराको अज्ञानताका कारण हुनुपर्ने जस्तो सुन्दर हुन सकेन।’
सुत्केरी भएको समय आफ्नाको साथ र माया चाहिन्छ। तर यही बेला सुत्केरी महिला बिटुलो हुने। लोग्नेले नै छुन नहुने। घरको भित्री कोठामा थुनिएर बस्नु पर्ने। यो सबै कुराले बन्दनाको दिमागमा नमज्जाले हान्यो। त्यसैले उनले महिलाको यही समस्यालाई केन्द्रमा राखेर केही डकुमेन्ट्री निर्माण गरिन्। महिलाका क्षेत्रमा थुप्रै काम गर्न यही घटनाले हौसला दियो।
चार वर्षको अन्तरालमा दोस्रो सन्तान
दोस्रो पटक गर्भवती हुँदा बन्दना धेरै बुझ्ने भइसकेकी थिइन। आफैँ शिक्षित भएर, सबैखाले ज्ञान लिएर आमा बन्दै गर्दा उनको मनमा कुनै आशंका थिएन।
यतिबेलासम्म उनमा चेतना आइसकेको थियो, ‘स्वस्थ बच्चा जन्मनु पर्छ। त्यो छोरा भएपनि ठिक छ, छोरी भएपनि।’
फेरि पनि समाज र परिवारको छोराप्रतिको लगाव भनिसाध्य थिएन। उनी आफैंलाई पनि एउटी छोरी भएकाले अर्को छोराको कल्पना छँदैथियो।
जेठी छोरी ४ वर्षकी हुँदै गर्दा बन्दना दोस्रो पटक आमा भइन्। दोस्रो पटक पनि उनले छोरी जन्माइन्।
उनका आफन्तलाई लाग्यो, ‘पहिलो पटक छोरी जन्माउँदा त त्यो खालको पीडा महसुस भएको थियो। फेरि छोरी जन्मिँदा कस्तो भयो होला बन्दनालाई!’
तर, यसपटक बन्दना खुसी थिइन्। किनकि उनले तयारी गरेकी थिइन्। आफैंले ज्ञान हासिल गरेकी थिइन्।
बन्दनाले कुनै दिन एउटी छोरी र एउटा छोरा भएको परिवार परिकल्पना गरेकी थिइन्। तर, अहिले दुई छोरा कि छोरी भन्ने विकल्प रोज्नुपर्दा उनी छोरी रोज्छिन्। भन्छिन्, ‘छोरीबिनाको घर असाध्यै अँध्यारो हुन्छ। जीवन खल्लो हुन्छ। अहिलेको अवस्थामा छोरीहरुले आफ्नो अभिभावकलाई जसरी बुझ्छन्, छोराले सक्दैनन्।’
छोरोछोरीको बुझाइको यो फरक उनीहरुको हुर्काइमै मिसिएर आउने बन्दनाको अनुभव छ।
चार पुस्ताः आमा, छोरी र नातिनीसँग बन्दना राणा
बल्ल थाहा भयो कस्तो हुने रहेछ आमाको मन
संयुक्त परिवार। बुझ्ने सासु ससुरा र नन्द। नजिकै आमा। घरमा सहयोगी पनि थिए। छोरी हुर्काउन बन्दनाले पढाइ छाड्नु परेन। पारिवारिक रुपमा बच्चा हुर्काउँदाको खासै असजिलो सम्झना छैन बन्दनालाई। तर आमा भएपछिको मन भने फरक हुने रहेछ। हिजोसम्म सजिलोसँग बसिरहेको कक्षाकोठामा छोरी छोडेर पढ्न बस्दा असजिलो भयो। घण्टी बजेको वास्ता नगर्ने कान कतिबेला बज्छ कलेजको घण्टी र घर जाउँ भनेर अधीर भएर पर्खिन थाले।
कलेज छुटेपछि आफ्नै सुरमा घर फर्किने उनका गोडा कतै नरोक्किई पाइला चाल्न थाले। त्यसपछि बल्ल बन्दनालाई थाहा भयो, ‘आमाको मन कस्तो हुने रहेछ।’
सानी छोरीका पालामा बन्दनाले जागिर नै सुरु गरिसकेकी थिइन्। कहिलेकाहीँ उनको मनमा आउँथ्यो, ‘मैले मेरी छोरीहरुलाई पर्याप्त समय दिन सकिरहेकी छैन।’
तैपनि सहयोगी परिवार भएकाले असहज भएन।
छोरीसँगको त्यो पहिलो बिछोड
अनपढ बन्दनाकी आमाको त सपना थियो छोरीको पढाइ भने बन्दनाको छोरीप्रति सपना नहुने कुरै थिएन। त्यसैले बन्दना दम्पतीले आफ्ना छोरीहरुलाई पढ्न भारत पठाए। त्यसबेला सानी छोरी ७ कक्षा पढ्ने भएकी थिइन्। छोरीहरुलाई भारतमा छोडेर फर्किदा बन्दना र सुनिल दुबैलाई निक्कै मुस्किल भएको थियो।
श्रीमान छोरीको नाम लिनासाथ सुँक्कसुँक्क गर्न थाल्थे। बन्दना भने बल गरेर आँसु लुकाउँथिन्। आमाहरुलाई परिस्थितिले धेरै पीडा सहन सक्ने बनाइसकेको हुने रहेछ। पुरुषहरुका लागि त्यतिबेला सन्तानसँगको बिछोड नै सबैभन्दा ठूलो दुखाइ बन्दो रहेछ।
बन्दनाले भने यो खालको बिछोड कलेज जाँदा, काममा जाँदा पटकपटक महसुस गरेकी थिइन्। उनी साना छोरीहरु छोडेर नेदरल्यान्ड पनि पुगिन्। चार महिने लामो बसाइका लागि आएको उक्त अवसरलाई लिने कि छाड्ने भनेर बन्दनाको मनमा अन्तरद्वन्द्व नै चलेको थियो। परिवारले हामी छौँ भनेपछि उनी विदेश गएकी थिइन्। त्यो चार महिनाको पीडा सम्झिँदा बन्दनाको छातीमा अहिले पनि गाँठो पर्छ।
छोरीहरू अन्माएपछिको सन्नाटा
उनका दुवै छोरीको विवाह परिपक्व उमेरमा भएको हो। दुवै छोरीको विवाह उनीहरुले चिनेजानेकै अझ भनौँ, रोजेकै केटासँग भयो। दुवै छोरीको घर नजिकै छ। बन्दनालाई धेरै चिन्ता थिएन।
उनलाई दुःख थियो, ‘अब मेरी छोरी अर्काको परिवारको सदस्य भइन्। उनले अब म भएको ठाउँमा आउन पनि अर्को मान्छेसँग अनुमति लिनुपर्छ। अब भोलिबाट उसको परिचय नै परिवर्तन हुन्छ।’
विवाहको समय भने बन्दनाले रुने समयसम्म पाइनन्।
छोरी बिदा गरेको भोलिपल्टबाट पो सन्नाटा छाउँदो रहेछ घरमा। हिजोसम्म बोलिरहने आवाज सुन्न अब फोन गर्नु पथ्र्यो। हिजोसम्म छोरीहरु उफ्रिएको आँगन सुनसान थियो, उनीहरु सुतेको ओछ्यान खाली। यी सबै कुरासँग बानी पर्न भने उनलाई लामो समय लाग्यो।
सानो छोरीको विवाहमा त बन्दनाका आमाछोरीले पहिले नै योजना बनाएका थिए, ‘जति रुने पहिला नै रुने है। विवाहको दिन नरुने।’
बन्दनाको दुवै छोरी अहिले आमा भइसके। माया उल्टो बग्छ भनेझैं नातिनातिनामा पनि उसैगरी माया पोखेर सक्रिय जीवन बाँचिरहेकी बन्दना भन्छिन्, ‘आमा त कुनै परिभाषाको रेखाभित्र अटाउनै नसक्ने शब्द हो।’
Shares
प्रतिक्रिया