सिन्धुपाल्चोकको सुन्दरीपुरमा थुप्रै सुखका कहानी लेखिए। ठाउँको नाम जस्तै सुन्दर बनाए धेरैले आफ्नो भागको जिन्दगी। केही दुःखका कथा पनि कोरिए। त्यही सुन्दरपुरमा सीता चौलागाईंले कहालीलाग्दो तरिकाले गुजारिन् जिन्दगीको अधिकांश हिस्सा। हिजोआज सम्झिँदा कतै दुःख्छ, कतै बिझाउँछ, कतै आफैँले दरिलोगरी टेकेको पैतालाप्रति गर्व लागेर आउँछ।
धेरै केटाकेटी। घरकी जेठी छोरी। ‘छोरी त अर्काको भित्तो टाल्ने जात, पढाएर के गर्नु’ भन्ने समाज। भाइबहिनी हेरेर बित्यो सीताको बाल्यकाल। घाँसदाउरा गर्दा गर्दै फक्रियो जवानी। माइतीका अप्ठ्याराहरुलाई सजिलो बनाउँदा बनाउँदै सिकिन् घरव्यवहार। त्यही व्यवहारमा अल्झेर उनले सावाँ अक्षर पनि नचिनी बाल्यकाल बिताइन्। आफ्नो नाम लेख्न नजान्दै अर्कैको नामको भयो उनको जिन्दगी।
सुन्दरीपुरका गोविन्द चौलागाईं लमी लिएर सीताको हात माग्न जाँदा उनी १६ पुगेर १७ मा हिँड्दै थिइन्। त्यतिबेलै पहिलो पटक देखेकी हुन् उनले आफ्नो श्रीमानको अनुहार। अहिले जस्तो केटाकेटी कुरा गर्ने चलन थिएन। एक झलक अनुहार देखेकै भरमा उनको बिहे भयो।
बिहे भएको अर्को वर्ष आमा
वैवाहिक जिन्दगी उनले कल्पना गरेको जस्तो मिठो भएन। कहिले बा–आमाको सम्झना, कहिले बहिनीहरुको न्यास्रो। अत्यास लाग्दा पनि माइती जान्छु भन्न सक्दिनथिन् सीता। घर अथवा बाहिरको काम गर्दा हुने माइतीको नियम लागू भएन पराइ घरमा। छोरीलाई जस्तो छुट हुँदैन रहेछ बुहारीलाई। बुहारीले त घर, मेला र गोठ मिलाएर चलाउनु पर्ने रहेछ। सुरु सुरुका दिनमा निक्कै गाह्रो हुन्थ्यो उनलाई। पुराना दिन सम्झिँदै गर्दा फिस्स निस्किन्थ्यो उनको कुण्ठित हाँसो।
‘बानी पर्न त समय लाग्दो रहेछ। विवाह गरेर आएको घर आफ्नै हो भन्ने लागे पनि आफ्नै जस्तो लाग्न समय लाग्यो,’ सीताले सुनाइन्।
विवाह गरेको अर्को वर्ष सीता आमा बन्ने भइन्। फुरुङ्ग थियो उनको मन। परिवारका मान्छेले महत्व दिन्थे। उनको उक्सिँदै गरेको पेट हेर्थे र भन्थे ‘तिम्रो छोरो जन्मिन्छ।’ उनलाई थाहा थिएन, छोरा जन्मिँदा के हुन्छ, छोरी जन्मिँदा के हुन्छ। उनी त आफ्नै पेट मुसारेर कल्पना गर्थिन् परीजस्तै छोरी।
गाउँमा अस्पताल थिएन। गर्भमा रहेको शिशुको अवस्था कस्तो छ भनेर जाँच्ने चलन थिएन। गर्भवती भएपछि टीटी खोप भने स्वाथ्य चौकीमा गएर लगाइन्।
‘मन लागेको खानेकुरा माग्न सकिनँ’
सधैँ खाइरहेको खाना नाक लाग्यो। भान्छामा पाक्दै गर्दा भात तरकारीले सीताको पेट बटारेर आउँथ्यो। मन नलागे पनि जे पाक्छ, त्यही खानुको विकल्प थिएन। गर्भवती छु भनेर घर, गोठ र खेतबारीको काम नगर्ने छुट थिएन उनलाई। सीतालाई मात्रै होइन, त्यो समय गर्भवती महिलालाई विशेष स्याहार दिनु पर्छ, हलुका काम मात्रै लगाउनु पर्छ भन्ने नै थिएन। गर्भावस्थामा उनकी आमा र सासू जसरी गुज्रिए, उनले पनि त्यही भोगिन्। सकिनसकी सबै काम गर्नु पथ्र्यो।
घरमै थियो सानोतिनो पसल। अमिलो, पिरो चटक्क खान मन लाग्थ्यो। पसलमा बेच्न राखेका नरिवल, चाउचाउ खाउँ हुन्थ्यो। तर सीता मलाई यस्तो खान मन लागेको छ भन्न सक्दिनथिन्। घरबाट माइत पुग्न ज्यान हल्का भएको बेला दुई घण्टा उकालो ओरालो हिँड्नु पथ्र्यो। गर्भावस्थाको समयमा अझै धेरै समय लाग्ने। त्यति धेरै माइत जान पनि कहाँ पाइन्थ्यो र? गएको बेला आफूलाई खान मन लागेको थोरै सामान बोकेर ल्याउँथिन् र खान्थिन्। कुन्ताबेसीबाट आमाले पोल्टामा लुकाएर राखेको थोरै रकम सीताको हातमा राखिदिन्थिन्। त्यही रुपैयाँले सिपाघाट पुगेर किन्थिन् नरिवल र मिश्रीका टुक्रा अनि हाल्थिन् आफ्नो पोल्टामा। यसैगरी गुजारिन् सीताले सातौँ गर्भावस्था।
छोराको आशमा ५ वटी छोरी
गाउँमा अस्पताल थिएन। भएको स्वास्थ्य चौकीमा विशेषज्ञ डाक्टर थिएनन्। सुत्केरी गराउने विशेष कक्ष थिएन। पहिलो पटक आमा बन्दै गरेकी सीतालाई प्रसव व्यथा र यो समयका अप्ठ्याराहरुका बारेमा ज्ञान थिएन। दिनभरि खेतमा काम गरेर घर फर्किएकी सीताले आधारातमा घरमै जन्माएकी हुन् पहिलो पटक छोरी। छोरी जन्मिँदा उनी निकै खुसी थिइन्। तर परिवार खुसी थिएन। पहिलो सन्तान भएकाले अर्को सन्तान छोरा हुने आशमा परिवारले सीतालाई नराम्रो भने गरेनन्।
त्यसपछि वर्षैपिच्छे गर्भवती र सुत्केरी हुन थालिन् सीता। उनले चार छोरीलाई जन्म दिइन्। उनी हरेक पटक छोराको आशमा गर्भवती हुन्थिन्। ९ महिनासम्म कष्ट सहन्थिन्। हरेक गर्भावस्थाको समयमा पुकारा गर्थिन्, यसपटक छोरा जन्मियोस्। तर, उनी फेरि छोरीकी आमा बन्थिन्।
गाउँ र सहर जोड्ने बाटो थिएन। गाउँका मान्छे बिरामी पर्दा स्वास्थ्य चौकीको दबाइले छोएन भने मात्रै सहरका अस्पताल पुग्थे। बिरामी बोक्ने एम्बुलेन्स वा गाडी थिएनन्। सुत्केरी हुन नसकेका महिलालाई स्ट्रेचर र डोकोमा बोकेर अस्पताल लैजाने चलन थियो। हरेक वर्ष गर्भवती र सुत्केरी हुँदा एकातिर सीताको शरीर कमजोर हुँदै गएको थियो। अर्कोतर्फ छोराका लागि परिवारले दिने दबाबले मनोबल कमजोर हुँदै गयो।
अर्को बिहे गर्ने श्रीमानको चाहना
चौथो पटक छोरी जन्माएपछि समाजका गन्यमान्यले सीताका श्रीमानलाई भनिदिए, ‘यो बाट छोरा हुँदैन। तिमीले वंश चलाउन पनि अर्को विवाह गर्नुपर्छ।’
गोविन्दका लागि अर्की श्रीमती खोजिदिन तयार कसैले पनि जन्मिने बच्चा छोरा वा छोरी तिम्रै कारणले हुन्छ भनेर भनिदिएन। चार छोरी भइसकेपछि गोविन्द वंश चलाउने छोरा जन्माउन दोस्रो बिहेको तयारीमा लागे।
श्रीमानको दोस्रो बिहे गर्ने निर्णयले नराम्रोसँग दुखायो सीताको मन। त्यसपछि सीताले आफ्नै ज्यानको माया मारिन्। त्यसबेला सीतालाई आफैंले जन्माएका छोरीहरुको मायाले पनि बाँध्न सकेन। उनी मेटासिड खाएर मर्न तयार थिइन्। तर, सीताको मर्ने योजना पनि सफल भएन। उनका श्रीमानले पनि दोस्रो बिहे गर्न सकेनन्। बरु सीता अर्को पटक गर्भवती भइन्।
पाँचौँ पटक गर्भवती भएकी सीताले आफूलाई माया गरिन्। यसपटक त छोरा नै जन्मियोस् भनेर कामना गरिन्। ‘यस पटक पनि छोरी नै जन्मी भने...’ आफन्तका बचनले कति दुखायो उनीसँग हिसाब छैन। उनका श्रीमानले अर्को बिहे गर्छु भनेर घुर्की लगाउन छाडेकै थिएनन्।
उनको ख्याल गर्ने कोही थिएन। किन खाइनौ, कस्तो छ तिमीलाई भनेर सोध्ने कोही थिएन। खान मन लागे भान्सामा पाकेको आटो–पिठो खायो। मन नलागे भोकै गयो खेतबारीमा। बारीको डिलमा बसेर बान्ता गर्यो, बोटमा फलेका अम्बा टिप्यो र आँत भर्यो।
पाँचौ पटक पनि सीताले छोरीलाई जन्म दिइन्। पटकपटक सन्तान जन्माएकी सीताले मातृत्वको सुखभोग भने गर्न पाइनन्। हरेक पटक छोराको आश र छोरीको जन्मले उनको निराशा र पीर बढिरहन्थ्यो।
छोरा जन्मेपछि...
छोरा नजन्मिँदासम्म उनका पति रोकिन तयार थिएनन्। त्यसैले सीता आफ्नो जीर्ण पाठेघरमा छैठौँ सन्तान हुर्काउन तयार भइन्। र, संयोगवश यसपटक छोरालाई जन्म दिइन्। छोरो जन्मिएपछि फेरियो परिवारको चाला, श्रीमानको व्यवहार।
बुबा हुनु भनेको स्नेहको छहारी हुनु हो। माया गर्ने हृदय हुनु हो। अझै धेरै जिम्मेवार हुनु हो। श्रीमतीको झन् धेरै ख्याल राख्नु हो। यो कुरा बुझ्न सीताका श्रीमानले छोराकै बाबु हुनुपर्यो।
सीताकी कान्छी छोरी अर्थात् पाँचौँ सन्तानले पनि विशेष माया पाइन्, आमाले छोरो पाएपछि। सीतालाई पनि कान्छी छोरीले भाइ बोलाई भन्ने भयो। व्यवहारिक दुःखले नछाडेपनि छोरो जन्माएपछि मानसिक दुःखको सागरबाट पार लाग्यो सीताको जिन्दगी। आमा हुनुको सुख कस्तो हुँदो रहेछ बल्ल थाहा पाइन्। उनको छोरो जन्मिएपछि गाउँभरी खबर फैलियो ‘सीताले छोरो पाइन्’ भनेर। उनका श्रीमानले पनि गाउँभरीका मान्छेसँग खुसी साटे। त्यसको केही वर्षपछि सीताले पुनः अर्को छोरो जन्माइन्।
६ सन्तान घरमै जन्माएकी सीताले कान्छो छोरो भने घरमै जन्माउन सकिनन्। गाउँमा सुडेनी त थिए, तर उनीहरुको पनि केही सीप नचलेपछि स्ट्रेचरमा हालेर उनलाई अस्पताल लगियो। अस्पताल हिँडेकी सीताले बाटोमै छोरो जन्माइन्। ‘वंश चलाउने मात्रै होइन भोलि पर्दा काँध लाउने दुई भाइ छोरा भए,’ सीताका श्रीमान् मक्ख परे।
अहिले सीताका तीन छोरीको विवाह भइसक्यो। पाँच नातिनातिना छन्। कान्छी छोरी क्याम्पस पढ्छिन्। छोराहरु स्कुल पढ्दै छन्। गाउँमै सानो किराना पसल छ। गोठमा वस्तुभाउ, बारीमा खेती।
सीताले सबै बिर्सिएकी छिन् जिन्दगीमा भोगिआएको अमिलोपन। हिजोआज गाउँमा पनि ‘छोराछोरी बराबरी’ भन्ने लहर चलेको छ। रेडियो, टेलिभिजन हुँदै गाउँमा अहिले इन्टरनेट पुगेको छ। छोराछोरीको नजिकै बसेर विश्वको खबर नियाल्ने सीतालाई त्यतिबेला निकै खुसी लाग्छ, जतिबेला प्रायः दम्पतीले दुई छोरीमा चित्त बुझाएर बसेको थाहा पाउँछिन्। अझ धेरै खुसी हुन्छिन् छोरीहरुले आफ्ना बा–आमाको काजक्रिया गरेको खबर सुन्दा।
हिजोआज हरेक पटक मन्दिर पुग्दा सीता कामना गर्छिन्, ‘अबका कुनै पनि छोरीहरुले छोरी जन्माउँदा परिवारबाट तिरस्कृत हुनु नपरोस्!’
Shares
प्रतिक्रिया