हराइसकेको हाम्रो इतिहासलाई पुनर्जागरण गरेर भुटान मिडिया सोसाइटीले एउटा राम्रो काम गरेको छ। जब पुस्तकको चौथो संस्करण बजारमा आयो, सोसाइटीका आदरणीय दाजु विद्यापति मिश्रले आफ्नो फेसबुकमा मात्र दिनदिनैजसो पुस्तकको विज्ञापन गर्नुभयो। एउटा पोस्टमा उहाँले बाल्यकालदेखिको साथीलाई पुस्तक पढ्न अनुरोध गर्दा साथीले पढ्नै छाडेको कुराले मन निकै नै भारी भएको थियो। हिजो अभावका दिनमा खोजी-खोजी पढ्ने हामीलाई आज के भएको होला भन्ने कल्पेर म पनि निकै चिन्तित र भावुक बनेको थिएँ।
भुटानको तानाशाहले प्रतिबन्ध लगाएको हामीमाझ जीवित सायद यो एउटा मात्र पुस्तक होला। जब १९९० ताका भुटान प्रजातान्त्रिक आन्दोलनको आगोमा दन्किएको थियो, त्यसताका प्रजालाई सरकारले दमन गरी नै रहेको थियो। त्योभन्दा दुई दशकअघिकै कालखण्डमा देवीभक्त लामीटारे बमभन्दा सयौँ गुणा शक्तिशाली बनेर विस्फोट भइसकेका पाइन्छन्- त्यो पनि कलमको माध्यमबाट, पुस्तकका पानाबाट, अक्षरहरूको तापबाट, अनि तानाशाहको मुटु हल्लिन्छ र हतार-हतार यो पुस्तकलाई भुटानभित्र प्रतिबन्ध लगाइन्छ। कति डरपोक शासक, कति निरीह तानाशाह?
बिचरा शासक हैरान हुन्छ र नेपाली भाषा र कलममाथि प्रतिबन्ध लगाइदिन्छ। आत्तिएको तानाशाहले भेटेभरको नेपाली पुस्तक नै जलाइदिन्छ। एकातिर यस्तो कलमवीर लामीटारे देखिएका छन् भने अर्कातिर आफ्नो अस्तित्व भुलेर ‘म भुटानी हुँ’ भन्नै नसक्नेहरू पनि देखिन्छन्।
'म नेपालीमा लेख्छु, म नेपाली बोल्छु, त्यसैले म नेपालकै नागरिकसरह हुनुपर्छ' भन्ने पटमूर्खहरूलाई भूमिपुत्र लामीटारेले त्यो बेला नै गतिलो झापड हानेका रहेछन्। त्यो तथ्य अहिले ‘दन्किँदो भुटान’ मा त्यतिखेरको परिवेशसहित पढ्न पाएपछि झन् लागेको छ- आफूलाई नेपाली नै हौँ जस्तो ठान्ने अवसरवादीहरूले भोलि कुनै अवसर देखे भने 'हामी त नेपाली नै होइनौँ भूगोलको आधारमा हामी भारतीय पो हौँ त' भन्न पछि पर्दैनन्। किनकि, अवसरवादीहरूमा न कुनै राष्ट्रियता हुन्छ, न कुनै पहिचान, न यिनीहरूको कुनै भाषा हुन्छ, न साहित्य, यिनमा त केवल पहिचानको सङ्कट छ र मौकाको पर्खाइ।
पुनः पुस्तकतिरै लागौँ। सबैले बिर्सन थालेका व्यक्तित्व लामीटारे र हामीमाझबाट हराउन थालेका दस्तावेजलाई पनि पुस्तकमा समेट्नु भुटान मिडिया सोसाइटीले गरेको सर्वमहान् कार्य हो। विद्यापति मिश्रले प्रकाशकीयमा नै पुस्तक के र किन भनेर स्पष्ट पार्नुभएको छ। सम्पादकीय परिचयमा त हामीले थाहै नपाएका, नदेखेका र सुन्दै नसुनेका तथ्यसमेत राखिएका छन्। यस्तो गहन अनुसन्धानात्मक सामग्री लेखेर राख्नाले यो कृति झनै मजबुत बनेको छ। पुस्तकको सम्पादकका रूपमा नेपाली पत्रकार विनोद ढुङ्गेलले गरेको यो ठूलो योगदान हो।
पुस्तकमा प्रयोग भएको र मलाई साह्रै नै चित्त बुझेको र मनमा बसेको शब्द नै 'प्रजाराज' हो। लेखकले उसबेला नै शब्दचयनमा कुनै सम्झौता र कन्जुस्याइँ गरेका थिएनन् भन्ने कुरा उनको शब्दचयनबाट बुझिन्छ। भुटानमा प्रजाराज छ भन्ने तानाशाहले आजसम्म पनि भुटानका नागरिकलाई कि जेलमा कोचेको छ, कि त नागरिकताविहीन बनाएर सडकमा फालेको छ या शरणार्थी बनाएर देशबाट नै निकाला गरेको छ। के प्रजाराजमा यस्तै कुसंस्कार हुन्छ?
पुस्तकमा प्रयोग भएको मलाई चित्त बुझेको अर्को शब्द हो 'भोटे'। यो शब्दबाट मात्रै भुटानी शासकप्रतिको खास घृणा व्यक्त हुन्छ। शासकसँग लामीटारे कति आक्रोशित थिए भन्ने कुरा यसबाट पनि आकलन गर्न सकिन्छ। रिसले चूर भएर लेखक लामीटारेले त्यस्ता शब्दको ज्वालामुखी नै विस्फोट गराएका हुन्, न कि कुनै सर्वसाधारण भुटानी जनतालाई होच्याएको हो यो। रिसले चूर भएका लेखकले एकपक्षीय शासकलाई दिएको उपमाका रूपमा यसलाई बुझ्न सकिन्छ। यो कुरा उनले नै चौथो संस्करणको भूमिकामा यसरी प्रष्ट पारेका छन्- जति पनि मैले भोटेतन्त्रको विरोध गरेको छु, त्यो नेपाल वा सिक्किम वा अन्तका कुनै जातविशेषको विरोध हैन, बल्कि भुटानी शासकको निरंकुशतन्त्रको सख्त विरोध गरेको हुँ।
'भुटानी समाजमा भइरहेका अपराधको विरोध गर्ने मान्छेलाई राजाले देशद्रोही मान्छ' (पृष्ठ ४४) भनेर लेखकले छाती फुलाएर कलमको माध्यमबाट बालहठी राजाको सत्य उजागर गरिदिएका छन्। भुटान गाउँलेहरूको देश रहेको र गाउँका मान्छेसँग वातावरण बिथोल्न नहुने बरू मिल्नुपर्ने पाठ पढाउनसमेत लेखकले भ्याएका छन्। तर चेतनाशून्य मूर्ख शासकले न लेखकलाई बुझ्न सक्यो, न त गाउँ र बस्तीको संरक्षण नै गर्न सक्यो। बरु उल्टै जिग्मे शासक र तिनका मतियारहरूले घर, बस्ती र सारा देश नै जलाएर खरानी बनाए। लेखक लामीटारेले शासकहरूले खरानीको थुप्रो बनाएर राखेको 'मातृभूमि भुटान दन्किँदो आगाको प्रचण्ड ज्वाला हुने' (पृष्ठ ४४) सपना देखेका छन्।
लेखकले शासकको विरोध र भण्डाफोर मात्र होइन, प्रजाराजमा राजाले जनतासँग जुहारी खेल्ने होइन, बरू जनता र समाजका बुद्धिजीवीसँग सल्लाह गरेर देश बनाउन लाग्नुपर्ने सल्लाह दिएका छन्। तर निकम्मा शासकले मानवता, मानवअधिकार र प्रजाराजको नाङ्गो खिल्ली उडाउन छोडेको छैन। यहाँ विकसित देशका उच्चस्तरीय विश्विविद्यालयमा पुगेर उच्च शिक्षा हासिल गरेका भनिएका भुटानी क्रूर शासकभन्दा भारतमा पढेलेखेका सन्त लेखक सयौँ गुणा शिक्षित र परिपक्व देखिन्छन्।
तानाशाहको झुटलाई पर्दाफास गर्दै लेखकले सोधेका छन्, 'जस्ता कानुनहरूद्वारा भुटान सरकार चलिरहेको छ, यदि यस्ता सरकारहरूलाई संसदीय सरकार भन्ने हो भने जङ्गली सरकार फेरि कसलाई भन्ने?' (पृष्ठ ५६)। यो त्यो बेलाको भूमिपुत्रहरूको साझा प्रश्न थियो जसको उत्तर उनीहरूले हालसम्म पनि पाएका छैनन्।
लेखकले बालबच्चा, शिक्षा, समाज हुँदै महिलाहरूमाथिको ज्यादतीलाई समेत समेटेका छन्। यहाँ उनले प्रचलित शब्द ‘आइमाई’को प्रयोग गरेका छन् जुन गाउँ—घरमा महिलालाई बोलाइने शब्द हो। 'जातीय र लैङ्गिक सन्दर्भहरूमा उनले प्रयोग गरेका शब्दावलीलाई तत्कालीन समाजको सामाजिक बहसको सन्दर्भमा ग्रहण गर्नुपर्ने' भनेर पुस्तकका सम्पादकले यस मामिलामा परिपक्व भाषामा स्पष्ट पारेका छन्।
लेखकले दक्षिण भुटानका नेपालीभाषी भूमिपुत्रहरूलाई गोरखाली भनेर सम्बोधन गरेका छन्। यहाँ कतिको प्रश्न उठ्छ, के हामी सधैँ नै पहिचानको सिकार बनि नै रहेका थियौँ त? हामी को हौँ? भुटानी? नेपाली? नेपालीभाषी भुटानी? गोरखाली?
इतिहासकै कुरा गर्ने हो भने त नेपाल एकीकरण हुनुपूर्व तत्कालीन गोरखाका राजा राम शाह र पश्चिम तिब्बतबाट गएका लामा भुटानका एकीकरणकर्ता जाब्ड्रुङ् रिम्पोचे भनिने ङावाङ् नाम्ग्यालबीच सम्झौता भई गोरखालीलाई भुटान लगिएको कुरा छ। त्यो हुँदा लेखकले के हामी गोरखाबाट गएकैले हामी गोरखाली हौँ भन्न खोजेका हुन् त? यो बहसयोग्य विषय छ। पहिचानविहीनहरूलाई यहाँबाट अध्ययन गर्दा केही राहत मिल्ला कि? पुस्तकमा तत्कालीन नेपालको राजपरिवारलाई पनि अछुत भने छाडिएको छैन।
पुस्तक किन चाहियो?
यो हामी भुटानीहरूको इतिहास हो, यसलाई भुल्दा पनि हुन्छ तर जसरी हामी मरेर गएका आफन्त भुल्न सक्दैनौँ, त्यसरी नै यो कृति पनि हामीमाझ अजर रहनुपर्छ। भुटान मिडिया सोसाइटीले यो मात्र होइन, यस्ता भूमिपुत्रहरूको यो अचल सम्पत्तिलाई अचल बनाएर राख्नैपर्छ। तब मात्र हाम्रो इतिहास सुरक्षित रहन्छ।
यो कार्यका लागि ज-जसको योगदान छ, उनीहरू सबै धन्यवादका पात्र हुन्। पढ्ने बानी हराएको भए पनि यही कृतिमार्फत हाम्रो इतिहासलाई पुनः अध्ययन गर्नुपर्छ।
अन्त्यमा, मलाई लागेको र प्रकाशकलाई मन नपर्नसक्ने कुरा भनेको भुटान मिडिया सोसाइटीले 'सम्पादक' भन्ने शब्दलाई 'भाषा सम्पादक' भनिदिएको भए यो कृति पूर्णरूपमा लेखकमै समर्पित हुने थियो कि!
जय भाषा!
जय साहित्य!
जय भुटान!
(तेस्रो मुलुक पुनर्वासका क्रममा अमेरिका पुगेका पूर्व भुटानी शरणार्थी सीएम निरौलाले अमेरिकामा पत्रकारिता गरिरहेका छन्। सन् २०२१ मा अमेरिकी राष्ट्रपतिबाट विभूषित निरौला हालै प्रकाशित ‘द फर्गटन स्टोरी’ पुस्तकका लेखक पनि हुन्। केही दिनअघि एक्सपाट्रियटभोइसडटकममा प्रकाशित यो सामग्री उनको अनुमतिमा सम्पादनसहित यहाँ प्रकाशित गरिएको हो – सं.)
Shares
प्रतिक्रिया