भान्साबाट हामीलाई खाना खान बोलाइयो। सबै जना भान्सामा गयौँ। प्रतिमा आइन्। राजु दाइ, भाउजू पनि आउनुभयो। प्रभात भाइ ल्यापटप चलाउँदै थिए। उनी उठिहाल्ने छाँट देखिएन। सायद पछि खाने विचार गर्यो होला। नारायण बा पनि भान्सामा छिर्ने छाँट देखिएन।
‘बुबा, आउनुस् सँगै खाऔँ, ठाउँ खाली छ’ मैले भनेँ। ‘होइन सुरज बाबु ! मैले यतै खान्छु’, उनले बाहिरबाटै जवाफ दिए।
चुलाबाटै आमाले भन्नुभयो, ‘पलेँटी कसेर भात खाने दिन त सकिए बाका। मूल कोठाबाट बा कराएको सुनियो, ‘अहिले किन बोल्नुपर्यो? खाएपछि कुरा गरौँला।’
हामी सबैले खाना खान सुरु गर्यौँ। वातावरण सुनसान बन्यो। खाना खाँदा बोल्ने कुरा पनि त भएन। बाको कुरो पनि त्यही थियो।
खानापछि सबैजना मूलकोठामा जम्मा भयौँ। प्रभात बल्ल खान गए । राजु क्षेत्री यहाँ आएदेखि नै भावुक भएका थिए भाउजूचाहिँ प्रतिमासँग गफमा व्यस्त। यहाँ पनि एकछिन सुनसान। कोही बोलेन। सबैको ध्यान टिभीको समाचारतिरै थियो। प्रतिमा कति बेला आँटीमा पुगिछन्, अलि गम्भीर मुडमा यौटा पछ्यौरा लिएर आइन्। मझेरीको खाली ठाउँमा उभिएर केही देखाउँदै भनिन्, ‘ल हेर्नुहोस्, चुनु गुरुङको पछ्यौरा।’ राजु निःशब्द, आमाको पनि वाक्य फुटेन।
तत्काली माओवादी जनयुद्धकी सांस्कृतिक योद्धा चुनु गूङको त्यही पछ्यौरीले नारायण बालाई विगततिर फर्कादियो। त्यसपछि नारायण बाले भने, ‘अचेल कोही फकिँदैनन्। म पनि कहीँ जान्नँ। खुट्टाले पलेँटी मारेर बस्न मिल्दैन। विगत सम्झेर बस्नुबाहेक केही भएन। निचोरेर फलेको कागती जस्ताे भइयो।’
मैले राजु दाइतिर हेरेँ, उनी बडो गम्भीरतापूर्वक सुनिरहेका थिए। फेरि नारायण बातिर फर्किएँ। ओठ चलिरहेकै थिए, आँखा पर पुगेर विगतको दृश्य हेरिरहेका थिए सायद। अनि सुरु भयो विगतका केही पत्रा कोट्याउन।
यो दृश्य हो कास्को माछापुच्छ्रे गाउँपालिका, लाहचोकका खोल्से नारायाण भनेर चिनिने नारायण अधिकारी ‘कञ्चन’को घरको।
विगत कोट्याइरहेका बाको आवाजमा अचानक एउटा गीत गुन्जियो। गीत सुनेर आमा सबैभन्दा बढी खुसी हुनुभयो। आमाले खुसीकै बीचमा भने, ‘हाम्रो बिहेमा यो गीत गाउनुभएको थियो।’ बिहेको कुराले एक छिन वातावरण रमाइलो बन्यो। राजु दाइको अनुहारमा पनि खुसीका रङ दौडिरहेका थिए। ‘पुरानो लभ स्टोरी पनि भन्ने कि बाबा?’, प्रतिमाको आवाज थियो यो। यो आवाजले बालाई मौन तुल्यायो।
मौनतासँगै अनुहारमा अनौठो गम्भीरता देखियो। मैले प्रसंग अन्तै मोडेर भनेँ, ‘बाख्रा कति छन् बुवा?’ ‘अहिले जम्मा २२ गोटा छन् बाबू। यौटो गाई छ। अबको जीवन खेती किसानी गरेरै बिताउने’, एक छिन रोकिएर बाले भन्दै जानुभयो, ‘सबै जना स्वार्थको राजनीति मात्रै गर्छन्। जनयुद्ध पनि धनयुद्ध बनेर तुहियो बाबु। सबै अवसरवादी भए। जनतालाई हात लाग्यो शून्य। ज्यान ब्यर्थै फटालिएजस्तो लाग्छ बाबू त्यता लागेर।’
साथीको संगतबाट राजनीतिक यात्रा सुरु गरेका नारायण बाले कामको खोजीमा भारत गएको र त्यहाँ पाएको दुःखबाट विगतको पाटो उप्काए। दुई वर्ष होटलमा भाँडा माझेपछि नरिवलको डोरी बनाउने कारखानामा गार्डको काम गर्न पाएको सुनाए। ‘मालिक प्रोफेसर थिए। उनकै छोरीको मायाले पढ्न पाएँ। भारतमै आईकमसम्म पढेँ। बैँकमा जागिर पनि खाएँ। मेरो विवाह पनि प्रोफेसरकै छोरीसँग भयो। जागिर खाने क्रममा मेरो भेटघाट कम्युनिष्ट नेताहरूसँग भयो। अनि म राजनीतिमा लागेँ। भारतको सांस्कृतिक संघमा काम गरेँ। ‘अखिल नेपाल प्रवासी नेपाली संघ’ दक्षिणी भारतको इन्चार्ज भएर काम गरेँ। नेपाली भएका ठाउँमा गीत गाउँदै हिँडेँ। त्यो बेला भेटेजति माक्र्सवादका किताब पढियो। सीपी मैनाली, झलनाथ खनाल, सीपी गजुरेल, मोदनाथ प्रश्रित लगायतका नेतासँग उठबस भयो’, उनले धाराप्रवाह रुपमा भने।
पार्टीले आफ्नै ठाउँमा गएर संगठन विस्तार गर्न निर्देशन दिएपछि आफूलाई पनि त्यही ठीक लागेर परिवारसहित गाउँ फर्केको उनले सुनाए। ‘गाउँमा आएर संगठन विस्तारमा लागेँ। त्यही दौरान श्रीमती बिरामी भइन्, उपचार गरियो। पटकपटकको उपचारले पनि निको नभएपछि भारत लिएर गएँ जहानलाई त्यहाँ पनि निको भएन। उपचार गर्न जाँदा सँगै गएको थिएँ, फर्कँदा बिचलित मन लिएर फर्किएँ।’
कसैले ती दिन सम्झाइदियो मात्र भने पनि उनको छातीमा भक्कानो र आँखाबाट मूल फुटिहाल्छ। आज आफैँले सम्झँदा र रोक्न खोज्दाखोज्दै पनि उनका आँसु रोक्न सकेनन्। पछि पार्टीले अर्को विवाह गर्न सल्लाह दियो। एनको भने विवाह नगरी बस्ने विचार थियो। सोचेजस्तो कहाँ हुन्छ र जिन्दगी ! उहाँ फेरि विवाह बन्धनमा बाँधिनुभयो। तत्कालीन एमाले पार्टीको आयोजनामा जनवादी विवाह गरे नारायण बाले। अहिले बाका साथमा दुई छोरी र एक छोरा छन्।
एमालेको राजनीति गर्दागर्दै उनी माओवादीले सुरु गरेको जनयुद्धतिर आकर्षित भए। बिस्तारै पूर्णकालीन कार्यकर्ता नै बनेर होमिए। एमालेमा रहँदा सांस्कृतिक विभागमा रहेका उनी माओवादीमा भने बम नै बोकेर हिँडे। बम र गोली बनाउने भट्टा नै खोले। हो, उनी माक्र्सवादको द्वन्द्वात्मक भौतिकवादमा चुर्लुम्मै डुबेका थिए।
सपना थियो ‘साम्यवाद’को। लाहचोकका अधिकारी साे क्षेत्रकै पुरानो माओवादी कार्यकर्ता हुन, उनी अहिले एक्लै छन्। सँगै युद्ध लडेका थुप्रै हेर्दाहेर्दै सहिद बने। कतिलाई राज्यले बेपत्ता बनायो। उनी एक्लैजस्ता भए। माछापुच्छ्रे गाविस आधार ईलाका नै थियो। त्यही ईलाकाका एक्ला बूढा अहिले लाहाचोककै खोल्साहरूमा बाख्रा चराउँछन्। बाख्रा चरिरहन्छन्। उनी भने आफैँले लेखेका र संगीत भरेका जनवादी गीत गाउँछन्। खोल्साका दुई भित्तामा ती गीतको आवाज ठोक्किँदै यताउता गरिरहन्छ, गुन्जिरहन्छ।
अझै पनि हाम्रो समाजमा दलितलाई हेयको नजरले हेरिन्छ। दलितको पक्षमा आवाज उठाउने एक्ला गैरदलित थिए नारायण बा। दलितलाई मान्छेको व्यवहार गर्दा उनले दाजुभाइबाट एक्लिनुपर्यो।
गाउँको सामुदायिक वन उपभोक्ता समितिमा दलितलाई सदस्य राख्ने कुरा उठाए उनले। त्यसपछि गाउँलेले उनलाई एक्ल्याए, विरोध गरे र ‘पागल’सम्म भने। तर, उनले दलितलाई समितिमा राखेरै छाडे। यस कार्यबाट रिसाएका केही गाउँलेको समूहले त उनलाई मार्ने योजनासमेत बनाए।
एक दिन घरनजिकै पाखामा हिँड्दै थिए उनी। अचानक उनीमाथि आक्रमण भयो। उनका हातखुट्टा बाँधेर नजिकैको हिले पोखरीमा मिल्काइयो । दुई छोरीहरू रुँदै चिच्याउन थाले। केटाकेटी चिच्याएको आवाज दलित बस्तीसम्मै पुग्यो। खोल्से नारायणका साना छोरीहरूको रोदन सुनेर दलित बस्तीका आइमाई–केटाकेटी र केही युवाहरू हातमा लौरी लिएर चिच्याउँदै पोखरीछेउ पुगे। पुरै दलित बस्ती उल्टेर आएको देखेपछि आक्रमणकारी भागे। यसरी आफ्नो नेतालाई दलित समुदायले बचायो। जातीय विभेदविरुद्ध बोल्दा धेरैपटक गाउँमा अपमानित भए। यस्ता गतिविधिले उनलाई रनाहा छुटाउँथ्यो । हिजोदेखि आजसम्म सामाजिक समानताका लागि उनी निरन्तर क्रियाशील छन्।
चारैतिर युद्धको भूमरी थियो। पोखरा सुरक्षाका दृष्टिले माओवादीका लागि खतरा थियो। ठाउँठाउँमा सेनाले गस्ती बढाएको थियो। सेनाको उच्च निगरानीमा थियो, उनको घर पनि। सेनाले बेलाबेला घरमै आएर अनेक प्रकारका दुःख दिन्थ्यो। घरमा असुरक्षित भएपछि उनी भूमिगत हुनुपर्यो। त्यसबखत उनी माओवादीको खुल्ला मोर्चा ‘गण्डक राष्ट्रवादी नागरिक समन्वय समिति’का प्रवक्ता थिए। भूमिगत हुनुपूर्व पनि उनलाई पटकपटक सेनाले समाउँदै छोड्दै गरेको थियो।
२०६१ कात्तिकमा कास्कीको नौडाँडाबाट उनी पक्राउ परे। उनलाई सेनाले पाँच महिनासम्म बेपत्ता पार्यो। यसबीचमा उनले थुप्रै शारीरिक र मानसिक यातना भोग्नुपर्यो। आस्थामा अडिग उनीबाट केही सूचना नचुहेपछि उनलाई मार्ने योजना बनायो सेनाले। सेनाकै एक जना अधिकृतले उनलाई व्यक्तिगत रूपमा चिने। तिनै सैनिकले उनी ब्यारेकमा रहेको कुरा कमरेड कञ्चनको आफन्तसम्म पुर्याइदिए। उनी त्यो ब्यारेकमा भर्खर मात्रै सरुवा भएर आएका थिए। त्यसपछि मानवअधिकारकर्मीको पहलमा सेनाले नारायणलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरीको जिम्मा लगाएर छोड्यो। त्यसपछि मात्रै उनको बारेमा बाहिर थाहा भयो।
अदालतको आदेशपछि उनी तारिखमा छुटे। सेनाले थिलथिलो पारेको शरीर लिएर उनी गाउँ पुगे। स्वास्थ्य निकै कमजोर बनिसकेको थियो। लामो उपचारपछि उनी ठीक हुँदै जाने क्रममा थिए। एक दिन सामाजिक कामको सिलसिलामा गाउँको बैठकमा थिए उनी। उनलाई खोज्दै आएको माओवादी जनसेनाको एसटीएफ टोलीले उनलाई बैठकबाटै उठाएर लग्यो।
आफ्नै पार्टीको सेनाले नियन्त्रणमा लिएको घटनाले उनी अचम्मित भए। उनले आफ्नो वास्तविकता बताए। टोली भने उनका कुरा सुन्ने पक्षमै थिएन। उनलाई सफाया गर्ने पार्टीको माथिको आदेश थियो। उनी निर्दोष थिए। निर्दोष हुँदाहुँदै पनि कुट्दै लगिएको थियो उनलाई। पिट्दै र लछार्दै घरकै बाटो उनलाई लगिँदै थियो। उनले केही सोच्नै सकेनन्। घरनजिकै आइपुग्नेबित्तिकै उनले एकाएक चर्को स्वरमा चिच्याए र गुहार ‘गुहार’ मागे। रुँदै कराउँदै गुहार मागेको आवाज घरनजिकै सुनेर नारायणकी श्रीमती र छोराछोरी बाहिर निस्के। निस्केर हेर्दा आफ्नै बालाई देखे। छोरीहरू ‘बाबा !’ भन्दै रुन कराउन थाले।
छोरीहरू बाबाको पछिपछि दगुर्न थाले। खोल्से नारायणको घर वरिपरि आइमाई केटाकेटीको चर्कै रुवाबासी चल्यो। यो सुनेपछि गाउँले जम्मा भए। दलित बस्तीबाट पनि कराउँदै निस्के मानिसहरू। एकैछिनमा ठूलै भिड जम्मा भयो। सबै गाउँलेले नाराबाजी सुरु गरे। गाउँलेहरू एकजुट भएर नारा अगाउँदै आएपछि एसटीएफको टोली एक कदम पछि हट्यो। गाउँलेहरूलाई शान्त बनाउन थाल्यो। वास्तविकता बुझ्ने भन्दै उक्त टोलीको नाइकेले तत्काल पार्टीको माथिल्लो निकायमा घटनाको रिपोर्टिङ गर्यो। गाउँलेहरू केहीबेर शान्त भएर कुरिरहे। केही समयपछि नै माथिको आदेश भन्दै उनलाई ससम्मान छाडिने निर्णय सुनायो।
एसटीएफको उक्त टोलीले तत्काल उनको सम्मानमा एउटा कार्यक्रम आयोजना गर्यो। उनलाई सम्मान गरियो। टोली नाइकेले क्रान्तिका क्रममा वास्तविकता ओझेल पर्न गई कहिलेकाहीँ यस्ता घटना घट्न सक्ने बतायो। साथै उसले सेनालाई सुराकी गरी निस्केको भन्दै उजुरी परेकाले पार्टीको जिल्ला तहबाट यो निर्णय लिइएको बताए। गाउँले सबै विरोधमा उत्रिएर ठूलो दुर्घटना हुनबाट पार्टीलाई बचाएकोमा गाउँलेलाई धन्यवाद दिए। पार्टीको केन्द्रीय तहमा रिपोर्टिङ गरेपछि मात्र सत्य थाहा पाएको भन्दै उनले गाउँलेसँग माफी मागे। नारायण बालाई फुलको गुच्छा दिएर सम्मान गरे। उनको स्वास्थ्य लाभको कामना गर्दै र गाउँलेलाई सत्यको पक्षमा यसरी नै आवाज उठाउन आग्रह गर्दै टोली त्यहाँबाट हिँड्यो। त्यस क्रममा थाहा भयो उनलाई मर्दी खोलानजिकै मार्ने योजना बनेको रहेछ।
आज आफ्नै गाउँमा खेती किसानी गरेर जीवन धानिरहेका छन् उनले। जनयुद्धको गलत फाइदा लिँदै धेरै करोडपति बने। नेताहरू ठेकेदार भएका छन्। पार्टी एकतापछि त ठेकेदारी प्रथा झनै मौलाउँदै गएको छ। वैज्ञानिक समाजवाद छेपाराको उखान भएको छ। त्यही समाजवाद ल्याउन निष्ठापूर्वक लामो लडाइँ लडे उनले। उनीजस्तै हजारौँ निष्ठावान् कार्यकर्ता पटकपटक मृत्युलाई जितेर बाँचेका हुन्। आज उनको दैनिकी सामान्य छ। भन्छन्, ‘मेरो राम्रै व्यापार थियो। आफ्नै पाउरोटी भट्टी थियो। कमाउने भए व्यापार गरेरै लखपति बन्थेँ। सबै छाडेँ। दुःख गरेरै भए पनि छोराछोरीले राम्रो पढे।’ उनकी छोरी प्रविना अहिले पनि सत्तारुढ दल नेकपाको विद्यार्थी राजनीतिमा सक्रिय छिन्।
भौतिक सुख नपाएकोमा कुनै गुनासो छैन उनको। देश बनाउने सपना देखेर निष्ठापूर्वक क्रान्तिमा होमिएका उनी जनताले झनै सास्ती व्यहोर्नु परेकामा निकै दुःखी छन्। ‘धोकेबाजहरूले त्यत्रो क्रान्ति यसरी बिसर्जन गर्छन् र जनतालाई फेरि रित्तै बनाउँछन् भनेर कल्पना पनि गरिएको थिएन बाबू ...।’ उनले अन्तिममा लामो सुस्केरा हाले।
(उपाध्याय पोखरामा क्रियाशील कवि तथा लेखक हुन)
प्रतिक्रिया