व्यवसायले लय पक्रिन के थालेको थियो, सविताका अगाडि दुई विकल्प तेर्सिए– व्यवसाय छोड्ने कि घर!
पति र सासुससुराको कुरा मान्ने हो भने व्यवसाय त्यागेर चुलाचौकामा खुम्चिनु पर्थ्यो। होइन, व्यवसाय नै गर्छु भन्ने हो भने घरबाटै निस्किनु पर्थ्यो।
उनले दोस्रो विकल्प रोजिन्। सानो छोरालाई हातमा डोर्याउँदै घरबाट निस्किन्। निर्णय सहज थिएन। घरबाटै विद्रोह गरेपछि अगाडि कति समस्या आउने हुन्, सोच्न भ्याइसकेकी थिइनन्।
यो उनै सविता महर्जनको कथा हो– जो आज कीर्तिपुर होजियारीमार्फत सफल उद्यमी र समाजसेवी कहलिएकी छन्।
कीर्तिपुर ढल्पाचोकनेर दुईवटा ऐतिहासिक पोखरी छन्। पोखरीको छेवैको गल्लीबाट माथि निस्किने उकालो बाटोलाई कीर्तिपुर नगरपालिकाले आफ्नो पहिचान भन्दै पुरानै स्वरुपमा मर्मत गर्दैछ।
यही उकालोमै पर्छ सविताको घर। सविताले यो घर आफैँ बनाएकी हुन्। कीर्तिपुर होजियारी र कीर्तिपुर निटिङको कार्यालय र कारखाना पनि यहीँ छ।
एउटा सानो काठको भित्तामा राखिएको र्याकभरी विभिन्न बैंक, सिलाइ बुनाइका डिजाइन, वार्षिक रिपोर्ट, अडिट रिपोर्टजस्ता कैयन् फाइल छन्। टेबलकोे ल्यापटपसँगै ‘किचन म्याट’का डिजाइन स्याम्पलहरु छन्। भर्खर मात्र अमेरिकामा रेस्टुरेन्टहरुमा प्रयोग गर्न भन्दै यी म्याटका अर्डर आएका हुन्।
उनको कुर्सीपछाडि भित्तामा टाँसिएको विश्वका नक्सामा भएका अधिकांश मुलुकमा सविताले उत्पादन गरेका सामान पुगिसकेका छन्।
काठमाडौँ खाल्डैमा भएर पनि कीर्तिपुरलाई राज्यले बेवास्ता गरेको यहाँका व्यवसायीहरुको अनुभव छ। न त उनीहरुलाई राज्यले चिनेको छ, न उनीहरुले राज्यलाई।
काठमाडौँभित्र भएर पनि स्थापनाको ५४ वर्षपछि मात्र कीर्तिपुरमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको संघ स्थापना भएको छ।
‘धेरै संघर्षपछि मात्र यो संघ खोल्न सफल भएका छौं,’ सविताले कीर्तिपुरमा व्यवसायको स्थितिबारे बताइन्, ‘साना महिला उद्यमीले कोठैबाट व्यवसाय गर्ने भए पनि कम्तीमा प्यान कार्ड लिएर गरौं भन्ने हाम्रो अभियान छ।’
उनी स्पष्ट छिन्, ‘राज्यबाट सेवा सुविधा पाउने हो भने पहिला नागरिकले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ।’
त्यसपछि आफ्नो अधिकार र सेवासुविधाको लागि लड्न सकिन्छ। केही महिलाहरुले व्यवसाय दर्ता गराएर काम गरिरहेका छन्। तर, तिनको संख्या सिमित हुँदा स्थानीय सरकारले खासै महत्व दिएको छैन।
कृषिमा आत्मनिर्भर हुनुपर्छ भनेर कीर्तिपुरमा पनि अभियान चलिरहेको छ। उनी त्यसको संयोजक समेत हुन्।
२५ वर्षदेखि उनी आफ्नो व्यवसायसँगै महिला उद्यमी र महिला सशक्तिकरणमा लागेकी छन्। एकताका उनी हातैले टोपी बुनेर प्रतिगोटा १५ रुपैयाँ कमाउँथिन्।
आज नयाँ योजनाको खाका बनाउन व्यस्त छिन् सविता। सिन्कोमा धागो बुनेका उनका हातले ठूला मेसिन चलाइरहेका छन्। ३ सय जना कर्मचारीलाई रोजगारी दिएकी सविताले वार्षिक करोडभन्दा धेरेको करोबार गरिरहेकी छन्।
स्कुल खर्च जुटाउन बुनाइ
कीर्तिपुरको पांगा, देउखेल टोलमा २०३६ सालमा जन्मिएकी थिइन् सविता। छोरीलाई स्कुल नपठाउने चलन त्यो बेलासम्म कायमै थियो।
धनीमानी र केही जान्ने बुझ्ने छोरीलाई पनि स्कुल पठाउँथे। छोरालाई अंग्रेजी माध्यमको स्कुल पठाउनेहरुले पनि छोरी सरकारीमा पढाउँथे।
सात वर्षको उमेरमा सविता जनसेवा माध्यमिक विद्यालयमा भर्ना भइन्।
‘सरकारी स्कुलमा भए पनि मैले पढ्न पाएँ,’ उनी भन्छिन्, ‘त्यस हिसाबले म आफूलाई भाग्यमानी ठान्छु।’
घरमा पुर्ख्यौली खेतबारी थियो। त्यसैमा फल्ने अन्न र बुबाको जागिरले घर खर्च चल्थ्यो।
उनी जान्ने हुँदादेखि नै छरछिमेकका कतिपय महिलाहरुले हातले कपडा बुनेको देख्थिन्। स्वीटर, टोपी, मोजा बुनेको उनलाई खुबै रमाइलो लाग्यो।
१२ वर्षको हुँदा उनले पनि कुचोको दाँत झिकिन्। त्यसमा धागो बेरिन् र टोपीको मेलो झिकिन्। छिमेकी दिदीहरुसँगै बसेर उनीहरुले कसरी बुन्छन्, ध्यान दिएर हेर्थिन्। उनले पनि त्यस्तै गर्न खोज्थिन्।
मनैदेखि चाहेपछि नसिक्ने कुरै थिएन। सानै उमेरमा उनी कपडा बुन्न सिपालु भइन्। छिमेककी दिदीले धागो दिन्थिन्। उनले भनेअनुसारको बुनेर दियो भने पैसा पनि दिन्थिन्।
दिउँसो स्कुल थियो। बिहानबेलुकाको समयमा ती दिदीहरुसँग बसेर बुन्न थालिन्। साथीहरु बाटोमा खेल्दै गर्दा उनी टोपी सिध्याउन हतार गरिरहेकी हुन्थिन्।
‘एउटा टोपी बुनेको १५ रुपैयाँ जति आउँथ्यो,’ उनले बाल्यकाल सम्झिन्, ‘लगातार गर्दा ३ घण्टामा सकिन्थ्यो।’
टोपीबाहेक, झोला र स्वीटर पनि बुन्थिन् उनी। यसैबाट उनको हातमा पैसा आउन थाल्यो। पसलमा गएर केही किनेर खान मन लाग्थ्यो। तर, उनी आफूलाई रोक्थिन्। त्यो बेला स्कुलमा मासिक ८० रुपैयाँ तिर्नुपर्थ्यो। किताब, कापी, कलम किन्ने पैसा हुँदैनथ्यो। स्वीटर बुनेर आएको त्यो पैसा आफ्नै पढाइमा खर्च गर्न थालिन्।
बुबाको जागिर त थियो तर त्यसले घर खर्च चलाउन ठिक्क हुन्थ्यो। भाइ बोर्डिङ स्कुल जान्थे। त्यो पनि धान्नै पर्यो ।
एसएलसीपछि नतिजा आउन ६ महिना लाग्थ्यो। त्यही बेला घरेलु तथा साना उद्योगले सीप विकास तालिम खोलेको थाहा पाइन्। सविता घरेलुमा तालिम लिन गइन्। ६ महिनाको होजियारी तालिम थियो। त्यहाँ उनले हातको सीपलाई अझ तिखार्ने अवसर पाइन्। पहिलो पटक उनका हात मेसिनमा पुगे। मनको भित्री कुनाबाट खुुसीका छिटा मुस्कान भएर निस्किए।
तालिम लिइरहँदा घरमा हाते बुनाइ पनि चलिरहेको थियो। त्यहाँबाट आएको पैसाले गाडी भाडा र खाजा खर्च पुग्थ्यो।
एसएलसीमा उनी दोस्रो श्रेणीमा उत्तीर्ण भइन्। कक्षाभरका केटीमध्ये चार जना मात्र उत्तीर्ण भएका थिए। पद्मकन्या क्याम्पसमा कमर्स पढ्न भर्ना भइन्।
उनलाई थाहा थियो– सीप सिकेको प्रमाणपत्र भयो भने जागिर खान सजिलो हुन्छ। क्याम्पस चल्दै गर्दा अर्को ६ महिनाको सिलाइकटाइकोे तालिम पनि लिइन्। त्यसपछि ६ महिना तयारी पोसाकसम्बन्धी तालिम। यसरी २ वर्ष जति लगाएर उनले यी सबै तालिम लिइन्।
उनको रहर कपडा बुनाइ, सिलाइकटाइमै थियो। आफ्नै व्यवसाय गर्ने रहर थियो तर लगानी थिएन।
यता आईकम सकिएपछि जनसेवा माध्यमिक विद्यालयमा पढाउन थालिन्। बिहान कलेज पढ्ने र दिउँसो स्कुल पढाउने। झन्डै तीन वर्षपछि उनले पढाइरहेको अस्थायी कोटामा स्थायीको लागि प्रतिस्पर्धा भयो। तर उनको नाम निस्किएन।
स्नातक तहको अन्तिम वर्ष पढ्दै गर्दा बिहे भइसकेको थियो। त्यो बेलासम्म हाते बुनाइको काम अलि छुट्यो।
पढाउन छाडेपछि फेरि उनले आफ्नो पुरानो व्यवसायलाई निरन्तरता दिने निर्णय गरिन्। परिवारमा पैसा कमाउने मान्छे थिएनन्। कृषिमा निर्भर थियो परिवार। श्रीमानको हुलाकमा ‘पार्टटाइम’ जागिर थियो। दिउँसो कृषि। जग्गाजमिन राम्रो थियो तर आम्दानी कम।
त्यसपछि उनी ठमेलका पसलहरुबाट ह्यान्डीक्राफ्टका अर्डर लिन थालिन्। पहिला काम गरेको पैसा केही थियो। त्यसैगरी जम्मा गरेको ५० हजार जति लगानी गरिन्। कपडा बुन्न दिएकालाई पारिश्रमिक, यातायात खर्च, धागो किन्ने पैसा आवश्यक हुन्थ्यो। २०५७ सालबाट उनको आफ्नै लगानीमा व्यवसायिक यात्रा सुरु भयो।
उनले महिलाहरुलाई तालिम दिने र कपडा बुन्ने काम सुरु गरिन्। सुरुमा ८ जनालाई तालिम दिइन्। २ वर्षको बीचमा उनी र पहिलो चरणमा तालिम दिएका ८ जनाले थप दुई सय जनालाई तालिम दिए।
घरमा विद्रोह
जब व्यवसाय विस्तार हुँदै गयो, उनी व्यस्त हुन थालिन्। स्कुल पढाउन छाडेपछि बेलुका टोलका दिदी बहिनीहरुलाई प्रौढ शिक्षा पढाउन सुरु गरेकी थिइन्।
चार वर्ष प्रौढ शिक्षा पढाइन्। कीर्तिपुर नगरपालिकाभित्र ९ हजारलाई साक्षर बनाइन्। एउटा संस्थामार्फत महिलाहरुलाई सीप सिकाउन र बचत गराउन पनि लागिपरेकी थिइन्।
त्यही बेला महिला सहकारी स्थापना भयो। ०६६ सालमा दर्ता भएको सहकारीमा चार सय जना सदस्य भइसकेका थिए। त्यसमा व्यवस्थापक भएर पाँच वर्ष काम गरिन्।
सहकारीले राम्रो गरेपछि अन्य ठाउँमा पनि चर्चा हुन थालिसकेको थियो।
बिहान सीप विकास तालिम, दिउँसो सहकारी, बेलुका प्रौढ शिक्षा, यो व्यस्तताका कारण उनले घरमा समय दिन सकिनन्।
‘मेरो सम्पूर्ण समय सामाजिक काममा नै बित्यो,’ उनी भन्छिन्, ‘त्यो कुरा घरका सासुससुरा र श्रीमानलाई पनि मन परेन। घरमा द्वन्द्व उत्पन्न भयो।’
उनले आफ्नै आँगनमा टोलका दिदीबहिनीलाई शिक्षा दिन्थिन्। तर, समाजले उनकै कुरा काट्न थाल्यो।
‘पुस्ताबीचको ग्यापका कारण त्यस्तो भयो,’ उनी मन बुझाउँछिन्, ‘सासुससुरामा बुहारी घरबाट बाहिर ननिस्कियोस्, घरकै काम मात्र गरोस् भन्ने सोच थियो।’
‘बुहारी मान्छे यसरी बाहिर नहिँड्, इज्जत जान्छ। जति पनि जमिन छ, घरकै काम गर,’ परिवारले उनलाई भन्यो। श्रीमानले पनि बुबाआमाको कुरा नकार्न सकेनन्।
समाजले पनि एउटी महिलाले सामाजिक काम र व्यवसाय गरेको राम्रो मानेन।
तर, उनलाई काम छाड्न मन थिएन। आम्दानीको अर्को स्रोत थिएन।
‘छोराको भविष्यको लागि पनि व्यवसाय छाड्न हुन्न भन्ने निर्णयमा पुगेँ,’ उनी भावुक भइन्, ‘ती दिनका धेरै कुरा म भन्न पनि सक्दिनँ।’
उनलाई अहिले लाग्छ, त्यो बेला घरमात्र होइन, उनले समाजमै विद्रोह गरेकी थिइन्।
‘त्यो आवेगमा जानेर वा नजानेर मैले कीर्तिपुरमा विद्रोह नै गरेकी थिएँ,’ उनी भन्छिन् ‘कि त व्यवसायमा लाग्नु पर्थ्यो कि त घर मै बस्नु पर्थ्यो। यी दुई अप्सनमा व्यवसायलाई छानेँ।’
‘महिलालाई आर्थिक क्रान्ति चाहिएको छ भन्ने महसुस त्यसबेला मलाई भयो,’ उनी थप्छिन्।
आफ्नो बच्चा लिएर बाहिर बस्न थालिन्। कामलाई निरन्तरता दिइन्। २०६७ सालमा कीर्तिपुर होजियारी भनेर घरेलुमा दर्ता गरिन्।
त्यसरी घरबाट निस्केको तीन वर्षपछि श्रीमान् र उनी पुनः सँगै बस्न थाले। अहिले उनले खोलेको सवी कृषि फार्म श्रीमानले हेरिरहेका छन्।
होजियारी दर्ता गरेपनि व्यवसाय विस्तार गर्न लगानी थिएन। सहकारीबाट केही ऋण लिएकी थिइन्। बैंकसम्म पहुँच थिएन। मेसिन राख्न सकेकी थिइनन्।
त्यो बेला क्लिन इनर्जी भन्ने एक संस्थाले एउटा स्किम ल्याएको थियो। महिला उद्यमीलाई बिनाधितो ३ लाखसम्म ऋण दिने। उनले त्यो ऋण लिइन्।
त्यही बेला सन् २०११ मा सूर्य नेपाल आशा अवार्ड भयो। उनी पनि हजार जना संघर्षशील महिलाको सूचीमा परिन् र एक लाख रुपैयाँ जितिन्।
‘त्यो पैसालाई पनि व्यवसायमा लगाएँ,’ उनी भन्छिन्, ‘त्यसबाट मार्केटिङ र अकाउन्ट हेर्ने दुई जना कर्मचारी राखेँ।’
त्यसपछि व्यवसाय व्यवस्थित हुँदै गयो। ठूलो पनि भयो।
त्यो बेला सिंगापुरबासी र नेपाली मिलेर ‘गजब सोसल भेन्चर’ भन्ने व्यावसायिक प्रतिस्पर्धा गराएका थिए। १३३ जना प्रतिस्पर्धीमा कीर्तिपुर होजियारीबाट सविता पनि थिइन्।
उनले प्रस्तुत गरेको ‘बिजनेस प्लान’ले पहिलो पुरस्कार जित्यो। बीऊ पुँजीका रुपमा ५ लाख उनले पाइन्। त्यसबाट लुगा सिलाउने मेसिन किनिन्।
त्यसपछि संस्थाहरुले पनि उनलाई सहयोग गर्न थाले। व्यवसायलाई कसरी अगाडि लैजाने, योजना कसरी बनाउने, मार्केटिङ कसरी गर्ने भन्ने विषयमा संस्थाहरुले सहयोग गरिरहे। विदेशी उद्यमीहरुसँग पनि उनले भेट्ने मौका पाउन थालिन्।
चिनिएका अन्तर्राष्ट्रिय स्तरका ब्रान्डहरुले पनि उनलाई खोज्न थालिसकेका थिए। शेर्पा एड्भेन्चर गियरलाई एक दर्जन डिजाइन दिइन्। ती सबै डिजाइन स्वीकृत भए।
शेर्पा एड्भेन्चर उनको डिजाइन लिएर अन्तर्राष्ट्रिय स्तरको एक प्रतिस्पर्धामा गएको थियो। सन् २०१५ मा शेर्पा एड्भेन्चर गियरले गोल्डेन अवार्ड जित्यो।
त्यसले उनको व्यवसाय विस्तार गर्न सजिलो भयो। त्यसपछि बैंकहरुले पनि ऋण दिन थाले। मेगा बैंकले १० लाख रुपैयाँ बिनाधितो ऋण दियो। त्यसबाट उनले २० वटा नयाँ मेसिन थपिन्।
अहिले उनले झन्डै ६० वटा मेसिन पुर्याइसकेकी छन्। कोरोना अघिसम्म ३ सय जनाले काम गर्थे। अहिले ६० जनामा झरेका छन्। भारत, बंगालादेशका कर्मचारीहरु अझै आएका छैनन्।
अहिले उनको कीर्तिपुर होजियारीले हाते बुनाइ, र कीर्तिपुर सिलाइकटाइले गार्मेन्टको काम गरिरहेको छ। श्रीमानसँग मिलेर सवी कृषि फार्म पनि चलाइरहेकी छन्।
अब आफ्नै ब्रान्ड
२५ वर्षको व्यावसायिक यात्रामा उनका अधिकांश सामान विदेश गएका छन्। तर, अहिलेसम्म उनको आफ्नो ब्रान्ड थिएन।
कीर्तिपुर निटिङमा ‘के’ ब्रान्ड थियो तर त्यसलाई विस्तार गर्न सकेकी थिइनन्।
उनले अर्को कम्पनीलाई उसकै नाम राखेर उत्पादन गरिदिन्थिन्। शेर्पा एड्भेन्चर गियर, जोन प्लेयर, ब्ल्याक स्टोन, नर्थफेस, स्प्रिङउड जस्ता ब्रान्डसँग मिलेर काम गरिन्।
‘अहिले गोफी ब्रान्डका कपडामा काम गरिरहेकी छु,’ उनी भन्छिन्।
अब आफ्नै ब्रान्डमा कपडा उत्पादन गर्दैछिन्। कीर्तिपुर होजियारीको नाममा आफ्नै ब्रान्डका उत्पादन सुरु भइसकेका छन्। त्यसलाई अझै परिस्कृत गर्ने र मार्केटिङ गर्ने काम हुँदैछ।
गार्मेन्ट र हाते बुनाइका सम्पूर्ण काम आफैँ गर्छिन्। कतिपय प्राविधिक कामहरुलाई अन्य ठाउँबाट पनि गराउँछिन्। नयाँ व्यवसाय विस्तारका लागि नबिल बैंकबाट डेढ करोड रुपैयाँ ऋण लिएकी छन्।
फागुन १ देखि उनले सुरु गर्ने नयाँ डिर्पाटमेन्टल स्टोरबाट यो नयाँ ब्रान्ड सार्वजनिक हुँदैछ।
काठमाडौं, भक्तपुर, ललितपुर, बनेपाजस्ता ठाउँमा पनि उनका सामान उत्पादन गर्ने महिलाहरु छन्।
भारत, चीन, बंगलादेशबाट कच्चा पदार्थ ल्याउँछिन्। हेन्डीक्राफ्टका सबै, डेकोरेसनका सामान, गार्मेन्टमा पनि ९० प्रतिशत उत्पादन गर्न सक्छन्। कोरोना महामारीका बेला मास्क र पीपीई पनि उत्पादन गरिन्। अहिले उनले नयाँ ब्यागको डिजाइन गरिरहेकी छन्।
भर्खर मात्र अमेरिकाबाट एक लाख गोटा किचन म्याटको अर्डर अएको छ। रेस्टुरेन्टहरुमा राखिने यो सामानको १४ वटा स्याम्पल पठाएकी छन्। त्यसमध्ये ४ वटा डिजाइन स्वीकृति भइसकेका छन् भने अरु प्रक्रियामा छन्। अन्य ब्रान्डको नाममा उनका उत्पादन संसारभर पुगिरहेका छन्।
लामो उतारचढावपछि उनको व्यवसाय र जीवन दुवैले अहिले लय पक्रेको छ। आफ्नो पढाइ खर्चको निम्ति टोपी बुन्दादेखि मनमा बसेको व्यवसायिक योजना अहिले अन्तर्राष्ट्रिय स्तरमा फैलिएको छ।
त्यसका लागि परिवारै त्याग्ने अप्रिय निर्णय पनि लिनुपरेको थियो भन्ने सम्झिँदा उनलाई दुःख लाग्छ। तर, आफूले प्राप्त गरेको व्यावसायिक सफलताले भने उनलाई ढाडस दिन्छ।
‘आज आएर त्यो बेला मैले ठिक निर्णय गरेकी रहेछु भन्ने भित्रैबाट हुन्छ,’ बैठकमा जान हतारिएकी सविताले भनिन्, ‘थोरै थोरै गरेर व्यवसायलाई वार्षिक डेढ करोडसम्मको कारोबार गर्न सकिने अवस्थामा पुर्याएकी छु।’
प्रतिक्रिया