भारतमा राजनीतिक उथलपुथल वा अर्थतन्त्र तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर हामीले पनि भोगिरहेका हुन्छौँ। भारतसँग जोडिएको लामो खुला सिमाना र समान संस्कृतिले मात्र होइन, भारतीय रुपैयाँ र नेपाली रुपैयाँको सम्बन्धले पनि भारत मोटाउँदा हामी हृस्टपुष्ट हुन्छौँ। भारतलाई रोग लाग्दा हामी पनि निर्बल बन्छौं।
भारतमा हुने सकारात्मक र नकारात्मक दुवै परिवर्तनले हाम्रो समाजमाथि सोझै असर पारिरहेको हुन्छ। यत्तिको जेलिएको अन्तरसम्बन्ध छ, भारतसँग नेपालको। बिहार, उत्तर प्रदेश र उत्तराखण्डको अर्थ राजनीतिक प्रभावले त हाम्रो आन्तरिक राजनीतिमा झन् गहिरो प्रभाव छाडिरहेको हुन्छ।
अहिले हाम्रोमा राजनीति मात्र होइन, अर्थतन्त्र पनि अत्याउने गरी ओरालो लागेको विश्लेषण भैरहेको छ। के यसको प्रभाव हाम्रो छिमेकी देश भारतमा दस वर्षयता एकछत्र राज गरिरहेको भारतीय जनता पार्टीको सरकार र त्यसले ल्याएको नीतिको परिणति त होइन? मैले यसबारेमा लन्डन स्कुल अफ इकोनोमिक्सका ग्र्याजुएट समेत रहेका अर्थ–राजनीतिका जानकार तथा ३० वर्षदेखि भारतीय पत्रकारितामा सक्रिय सिद्धार्थ वरदराजनसँग लामो विमर्श गरेको थिएँ। हिमाल मिडिया मेलामा प्रमुख वक्ताको रुपमा काठमाडौँ बसाइमा रहेका सिद्धार्थसँग नेपालखबरको मल्टिमिडिया स्टुडियोमा भारतीय पत्रकारिताले भोगिरहेको बेथिति, घृणामा आधारित राजनीति र भू–राजनीतिक अवस्थिति र त्यसको प्रभावमाथि छलफल गरेको थिएँ।
सन २०१४ पछि भारतमा फैलिएकोे विषाक्त राजनीतिको प्रतिरोध गर्दा सिद्धार्थलाई आधा दर्जन मुद्दामा फसाई हतोत्साहित पार्ने काम गरिएको उनी बताउँछन्। ती मुद्दामा उनी अझै तारेख धाइरहेका छन्। राज्यको गलत कदममाथि प्रश्न उठाउँदा मुद्दामामिलामा फसाउने काम गरिएको मात्र होइन, इमान्दार पत्रकारहरुमाथि सांघातिक हमला समेत गर्न थालिएको सिद्धार्थ सुनााउँछन्।
मूलधारका मिडियाले महाजन र सरकारको पक्षपोषण मात्र गर्ने हुँदा पाठकको आफ्नै लगानीमा गैरनाफामूलक डिजिटल मिडिया आउटलेट चाहिन्छ भन्दै सिद्धार्थले ३ जना साथीहरुको अगुवाइमा ६ लाख भारुमा दि वायर सुरुवात गरेका थिए। पाठकको सहयोगमा हिन्दी, अंग्रेजी र उर्दुमा उपलब्ध हुने दि वायरमा अहिले ४० जना सञ्चारकर्मीले काम गरिरहेका छन्।
सन १९९५ मा द टाइम्स अफ इन्डियाबाट पत्रकारिता थालेका सिद्धार्थ २००८ देखि भारतको प्रमुख अंग्रेजी दैनिक द हिन्दुमा आवद्ध भए। सन् २०११ देखि १३ सम्म त्यहाँ सम्पादकको रुपमा सक्रिय रहे। त्यसपछि उनले सम्पादकबाट राजीनामा दिई मूलधारको मिडियाले औद्योगिक घराना र सरकारको प्रचारकको रुपमा मात्र काम गरेको भन्दै सन् २०१५ मा स्वतन्त्र मिडिया दि वायर प्रारम्भ गरेका हुन्। भारतको प्रतिष्ठित रामनाथ गोयन्का मेमोरियल अवार्ड सहित आधा दर्जन पत्रकारिता पुरस्कार थापिसकेका सिद्धार्थ त्यहाँको भाजपा नेतृत्व सत्तासँग आँखामा आँखा मिलाएर तथ्य उत्खनन् गर्ने पत्रकारको रुपमा चिनिन्छन्।
भारतमा अभ्यास भइरहेको घृणाको राजनीतिले बहुसांस्कृतिक समाजलाई तहसनहस बनाइरहेको बताउने सिद्धार्थ भन्छन्, ‘भाजपा नेतृत्वको सरकारले महाजनहरुलाई पोस्न घृणाको राजनीति फैलाइ रहेको छ।’
सिद्धार्थ अगाडि थप्छन्, ‘आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्न हिन्दुत्व राजनीति गरिँदो छ, जसले गरिब र सीमान्तलाई झन् पेलानमा लगिरहेको छ भने यस्तो राजनीतिले अन्तर्यमा पुँजीपतिहरुको पक्षपोषण गरिरहेको छ।’
दक्षिणबाट यो राजनीतिक बहाव नेपालमा उक्लिए त्यसले बित्यास पार्ने हुँदा यस्तो विपत्तिबाट बच्न सचेत रहन पनि उनले नेपाली राजनीतिज्ञ, मिडिया र बौद्धिक वर्गलाई सुझाव दिएका छन्।
प्रतिक्रिया