मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंमा थुनुवाबीच प्रहरीसामु झण्डै हात हालाहल भयो।
ठगी आरोपमा सुरुमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई परिसरमै पिट्ने प्रयास गरे।
इन्द्रजितलाई प्रहरीले मंगलबार बिहान मात्रै पक्राउ गरेको थियो। दुलाल र भण्डारी भने पक्राउ परेको एक महिना बढी भइसक्यो।
उनीहरुको बयानकै आधारमा र संलग्नता पुष्टि हुने आधार देखिएपछि प्रहरीले मंगलबार इन्द्रजितलाई पक्राउ गरेको थियो।
तर उनलाई म्याद थप गर्न सरकारी वकिल कार्यालय लैजाने तयारी गर्दैगर्दा परिसरमा थुनुवाबीच हानाहानको अवस्था भएको हो।
यही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई कालिमाटी बृत्तको हिरासतमा राखिएको छ। उनीहरुलाई पनि बुधबार परिसरमा ल्याइएको थियो।
त्यहाँ इन्द्रजितसँग उनीहरूको भेट भयो। त्यसक्रममा इन्द्रजितले आफूहरुलाई पनि ठगेर उल्टै फसाएको भन्दै दुलाल र भण्डारीले झम्टिएका थिए। तर प्रहरीले इन्द्रजितलाई जोगाएको थियो।
इन्द्रजितले आफू यो घटनामा संलग्न नरहेको र शरणार्थी प्रकरणबारे केही थाहा नभएको बताएपछि भण्डारी र दुलालले उनका कर्तुत प्रहरी समक्ष खोलेका थिए।
‘तैँले हामीलाई यसरी फसाएको हो कि होइन भन्दै थर्काउँदै अझै ठूलो कुरा गर्ने भनेर हातहाल्ने प्रयास गरे, तर हामीले कुट्नचाहिँ दिएनौं’, परिसरका एक प्रहरीले भने।
इन्द्रजित सानु भण्डारी र केशव दुलालको बयानका आधारमा पक्राउ परेका हुन्।
इन्द्रजितले आफूहरुलाई पनि शरणार्थी बनाएर अमेरिका पठाइदिने बताएको र अन्यबाट रकम संकलन गरेर उनैलाई बुझाएको बयान दिएका थिए।
उनीहरुको बयान अनुसार इन्द्रजित र उनीहरुबीच बाक्लो सम्पर्क पुष्टि भएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो।
केहीबेरको विवाददपछि प्रहरीले उनीहरुलाई छुट्टाछुट्टै गाडीमा सरकारी वकिल कार्यालय लगेको थियो। यो मुद्दाका प्रतिवादीहरुको सरकारी वकिल कार्यालयमा बयान चलिरहेको छ।
बुधबारबाट इन्द्रजितको पनि बयान सुरु भएको छ। इन्द्रजितले भने कसुर गरेको इन्कार गरेर बयान दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्।
आफूलाई फसाउन नाम जोडिएको उनको बयान छ। बयान सकिएको छैन। यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। साँझ पक्राउ परेका टोपबहादुर रायमाझीका छोरा सन्दीप भैरहवामा छन्। उनलाई बिहीबार जहाजबाट काठमाडौं ल्याउने तयारी छ।
बुधबार नै पक्राउ परेका तत्कालीन् गृहसचिव एवम् आजै प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएका टेकनारायण पाण्डे सिंहदरबार बृत्तमा छन्।
सागर राई र टंक गुरुङलाई जनसेवा बृत्तको हिरासतमा राखिएको छ। सन्देश शर्मा र इन्द्रजित मात्रै परिसरमा छन्।
पूर्वमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ।
पूर्व गृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ। उनीहरु हाल फरार छन्।
1.9k
Shares
प्रतिक्रिया