हङकङका अधिकारीहरुले विदेशमा तालिम लिएका अस्थायी बासिन्दालाई पनि विज्ञ चिकित्सकका रुपमा नियुक्त गर्ने बाटो खोल्न प्रस्ताव गरेका छन्।
सहरमा डाक्टरहरुको अभाव कम गर्न अधिकारीहरुले यससम्बन्धी प्रावधान खुकुलो बनाउने प्रस्ताव ल्याएका हुन्।
यो खुकुलो प्रावधानले हङकङमा अस्थायी बासिन्दा बनेका नेपाल वा अन्य देशमा अध्ययन गरेका नेपाली डाक्टरहरूलाई हङकङमा आफ्नै पेशा अंगाल्न सहज हुने देखिएको छ।
त्यस्तै, विदेशी मेडिकल कलेजबाट उत्तीर्ण भएका स्थायी बासिन्दालाई लाइसेन्स परीक्षा लिएर इन्टर्न गर्न दिने व्यवस्था पनि गर्न लागिएको खाद्य तथा स्वास्थ्य सचिव सोफिया चान सिउचीले मंगलबार बताइन्।
‘पहिलेको प्रस्ताव कडा भएको र विदेशमा तालिमप्राप्त डाक्टरहरुलाई आकर्षित गर्न पर्याप्त नभएको कतिपयले बताएका थिए,’ चानले पत्रकार सम्मेलनमा भनिन्, ‘यससम्बन्धी प्रावधानलाई अझ खुकुलो बनाउँदा थप विशेषज्ञ डाक्टरहरुलाई आकर्षित गर्न सकिने आशा छ।’
अहिले हङकङबाहिरबाट तालिम लिएका डाक्टरले सार्वजनिक स्वास्थ्यका क्षेत्रमा पाँच वर्ष काम गरेपछि मात्रै विशेषज्ञको मान्यता पाउने व्यवस्था छ।
अहिले हङकङमा प्रति एक हजार बासिन्दा बराबर दुई डाक्टर छन्। जबकि अस्ट्रेलियामा यो अनुपात ३.८ र स्विडेनमा ४.३ छ।
यद्यपि यो प्रस्तावप्रति स्थानीय डाक्टरहरुले भने चिन्ता प्रकट गरेका छन्। एससीएमपी
Shares
प्रतिक्रिया