कोरोना महामारीका कारण नेपालमै अल्झिरहेका हङकङे नेपालीलाई हङकङ फर्किने वातावरण मिलाउन हङकङ नेपाली महासंघले पहल गरिरहेको छ।
विभिन्न कामले नेपाल पुगेका उनीहरू ६ महिनाभन्दा लामो समयदेखि हङकङ फर्किन पाइरहेका छैनन्। हङकङ सरकारले लागू गरेको पछिल्लो नियमले त उनीहरू अझ अप्ठेरोमा परेका छन्। हङकङ फर्किन नपाउँदा आर्थिक समस्या, पारिवारिक बिछोड, पढाइ छुट्नेलगायत समस्या भएपछि उनीहरूले हङकङ फर्किने व्यवस्था मिलाइदिन महासंघ गुहारेका हुन्।
यसअनुरूप महासंघले हङकङको सत्तारूढ दल डीएबीको जातीय अल्पसंख्यक कमिटीमार्फत विभिन्न चरणको वार्ता गरी हङकङ सरकारसँग समस्या समाधानका लागि लिखित आग्रह गरेको हो।
डीएबीका सांसद भिन्सेन्ट चेङले पनि हङकङका सुरक्षामन्त्री क्रिस ताङलाई पत्र पठाई समस्या समाधानका लागि अनुरोध गरेका छन्।
नेपालमा अड्किएका हङकङ परिचयपत्रवाहक नेपाली हङकङ फर्किन सक्ने वातावरण तयार हुन लागेको महासंघका अध्यक्ष टंक रानाले नेपालखबरलाई जानकारी दिए।
नेपाल कोरोनाको उच्च जोखिममा रहेको देश हो। यस्तो अवस्थामा एक हजार नेपालीलाई तत्काल हङकङ फर्काएर ७५ लाख हङकङका जनताको स्वास्थ्य जोखिममा पार्न हङकङ सरकार तयार होला त?
अध्यक्ष राना भन्छन्, ‘यो त्यस्तो कुरा हैन, हङकङ फर्किन पाउने हाम्रो अधिकार हो, हङकङ हाम्रो कर्मभूमि हो, यहाँ हाम्रो रगत–पसिना बगेको छ, हङकङको समृद्धिमा हाम्रो महत्त्वपूर्ण योगदान छ, हामी विधिपूर्वक हङकङमा बसोबास गर्दै आएका छौं, जुन कुरा कानुनले संरक्षण गरिदिएको छ। त्यसो त युरोपेली मुलुक पनि त कोरोनाको उच्च जोखिममा रहेका देश हुन्, तर त्यहाँबाट हङकङ आइरेहेका छन्। खोपलाई मान्यता नदिनु र त्यसैका आधारमा फर्किन नदिनु विभेदसमेत हो, तसर्थ हङकङ सरकारलाई खोपका आधारमा हैन, आफ्ना नागरिकसरह सम्मानित तवरबाट हङकङ फर्किन अनुमति दिनुपर्छ। तसर्थ हामीले समाधानका उपाय निकाल्न हङकङ सरकारलाई आग्रह गरेका छौं।’
उनका अनुसार सम्बन्धित निकायले सकारात्मक संकेत दिएका छन्। अब केही दिनभित्रै काठमाडौंलगायत नेपालका विभिन्न स्थानमा अड्किएका नेपाली हङकङ आउने वातावरण बन्ने उनको दाबी छ।
गत अप्रिलमा नेपाललाई हङकङले कोरोनाको उच्च जोखिम भएको देश ठानेर उडानमा समेत प्रतिबन्ध लगाएको थियो।
गत अगस्टमा उडान फुकुवा गरे पनि हङकङ फर्किन कोरोनाविरुद्धको दुवै डोज खोप हङकङमै लगाएको वा विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप लगाएको प्रमाण गर्नुपर्ने नियम राखिएको छ।
यसअन्तर्गत हङकङले नेपालमा लगाइएको खोपलाई मान्यता दिँदैन भने विश्व स्वास्थ्य संगठनले पनि प्रमाणपत्र दिँदैन। यसले गर्दा नेपालमा अल्झिएका हङकङेली नेपालीलाई हङकङ फर्किन अप्ठेरो परिरहेको हो।
गत अप्रिलमा नेपाल गएका १ हजार ८८ हङकङे नेपाली अझै फर्किन नपाएको महासंघका अध्यक्ष रानाले जानकारी दिए।
Shares
प्रतिक्रिया