हङकङको जोर्डनमा तिहारको रौनक ह्वात्तै बढेको छ, ‘मिनि नेपाल’ को झल्को दिनेगरि। चोक चोकमा बेग्रेल्ती खोलिएका नेपाली किनारा पसल हुन् वा ज्वेलरी पसल र रेस्टुरेन्ट, सबैतिर नेपालीहरूको घुइँचो छ।
त्यसो त नेपाली चाडमा नेपालमा जस्तो फुर्सदिलो समय हङकङमा कहाँ हुन्छ र? न बारी वा आँगनका डिलमा सयपत्री, मखमली, गोदावरी फूल नै फुलेको हुन्छ। तर पनि चकाचौध समयको बाबजुद नेपालीहरू परम्परागत सांस्कृतिक चाड तिहारलाई हर्षोल्लाषका साथ स्वागत गर्न आतुर छन् हङकङमा।
हङकङमा तीज, दशैं जस्ता कतिपय नेपाली चाडपर्व मनाउनेबारे नेपाली समुदायबीच नै मतभेद रहँदै आएपनि तिहारमा भने सबै एकै मियोमा घुम्ने गरेका छन्।
प्राय नेपालीका घरदैलो, कोठाचोटाहरूमा साजसज्जा शुरु भएको छ। झुन्ड झुन्ड भएर संस्थागत रुपमा देउसी भैलो खेल्ने तयारी छ भने तिहार पार्टीका लागि रेस्टुरेन्टहरू रिजर्भ हुन थालेका छन्। कतिपय संस्थाहरूका लागि त तिहार देउसी भैलो खेलेर संस्था चलाउन आम्दानी जुटाउने बाटो समेत भएको छ।
तिहार सबैलाई एकनास भने छैन, बदलिँदो समयसँगै तडकभडक बढ्दै जाँदा निकै खर्चालु हुँदै गएको छ। कतिपय व्यवसायीहरूका लागि भने तिहार प्याकेजको रुपमा ‘सुनको अन्डा दिने कुखुरी’ सावित भएको छ।
संस्थाका अगुवाहरूका लागि बढी खर्चालु
राम्रै आम्दानी गर्ने हङकङबासी नेपालीहरू चाडपर्वमा पनि खुलेरै खर्च गर्ने अवस्थामा पुगेका छन्। कतिपय संस्थाका अध्यक्षहरूका लागि भने यो चाडले थप आर्थिक दबाब सिर्जना गर्ने गरेको छ।
किरात राई यायोख्खाका अध्यक्ष हरिचन्द्र राई भन्छन्, ‘भाइटीका थाप्न र यताउता गर्न दश पन्ध्र हजार डलरले पुग्छ। तर संस्थाको अध्यक्ष भएको हैसियतले विभिन्न संस्थाहरूले आयोजना गर्ने देउसी भैलोमा पनि उपस्थित हुनैपर्छ। गतवर्ष त्यस्तो निम्तोमा झन्डै १५ हजार डलर (करिब दुई लाख पन्ध्र हजार रुपैयाँ) चट भो। संस्थाको प्रतिनिधित्व गरेर आफ्नै खल्ती रित्तिन थालेपछि यो पटक भने त्यस्ता भेलामा संस्थाले नै बेहोरिदिने निर्णय भएको छ। त्यसो हुँदा अलि राहत मिलेको छ। हङकङमा प्रायः नेपाली संस्थाका अध्यक्षहरूले आफ्नै खल्तीबाट यस्तो खर्च गर्नु पर्ने अवस्था हुँदा आर्थिक भार थियो।’
नेपाल फाइनान्सका अध्यक्ष धिरज राईले गतवर्ष करिब ६० हजार डलर (करिब आठ लाख साठी हजार रुपैयाँ) तिहारमा खर्च गरे। तर यसपाली भने पारिवारिक शोक परेको हुँदा भाइटीका लगाउने मुडमा उनी छैनन्।
‘ठूलो परिवार र धेरै नरनाता भएकाले खर्च बढी हुने गरेको छ, तर यसपाली भतिजी दुर्घटनामा परेको हुँदा भाइटीका नलगाउने निधो गरेको छु’, धिरज राई भन्छन्, ‘बरु साथीभाइसँग रमाइलो गर्दै कात्तिके दान स्वरुप दुई चार हजार जतिको तास खेल्नु पर्ला।’
व्यवसायी राजेन्द्र कुमार थापा एक्लो सन्तान हुन्। नेपाल छँदा बडाबाका छोरीको हातबाट भाइटीका थाप्थे उनी।
‘एकै कोखबाट जन्मिएका कतिपय चेली माइतीबीच पनि बोलचाल नभएको देखिएको छ, भावना, माया र मन मिले रगतको नाता चाहिँदैन, अरुलाई पनि चेली बनाउन सकिन्छ’, थापा भन्छन्, ‘म १० वर्षदेखि एक जना चेलीको हातबाट टीका थाप्दै आएको छु, यसपाली पनि त्यही गर्छु।’
थापालाई तिहार लागिसकेको छ, हर साँझ साथीभाइहरूसँग जमघट भएर खान पिउन थालिसकेका छन्। हुस्की उनको छनौट हो, दुई पेग भए उनलाई काफी हुन्छ।
‘जुवातासमा दिलचस्पी छैन, बरु लङ ड्राइभ जान्छु’, थापा भन्छन्।
खुद्रा व्यवसायीलाई आकर्षक आम्दानी
जोर्डनको सांघाई स्ट्रीटमा शुभकामना स्टोर चलाउँदै आएका गणेश गुरुङले आफ्नै चेलीको हातबाट भाइटीका ग्रहण नगरेको २९ वर्ष भयो।
‘जापानमा १० वर्ष बसियो, हङकङ बसेको १९ वर्ष भो’, गुरुङ भन्छन्, ‘लाउँलाउँ र खाउँखाउँको रहर लाग्दो उमेर विदेशी भूमीमै बित्यो।’
गुरुङलाई भाइटीका खास लाग्दैन। तर बडाबाका झन्डै आधा दर्जन दिदी बहिनीहरूलाई चाहिँ तिहार उपहार दिँदै आएका छन्।
व्यापारमा निकै प्रतिस्पर्धा भएकाले ग्राहकलाई छनौट गर्ने अवसर प्रसस्त छ। तथापी तिहार सम्बन्धि सामग्रीहरूको माग उच्च रहेको गुरङ बताउँछन्। उनका अनुसार तिहार प्याकेजमा नेपाली पसलहरूले कम्तिमा एक महिना बराबर घरभाडा तिर्ने रकम फाइदा गर्छन्।
ज्वेलरी पसलहरू मालामाल
तिहारको छेक नेपालीहरूद्वारा संचालित गरगहनाका पसलहरू झन् मालामाल हुने गरेका छन्। सामान्य दिनमा प्रायः मोबाइल फोनमै ब्यस्त हुने बराह ज्वेलरीकी सेल्स सुपरभाइजर सोमु सुब्बाले तिहारमा व्यापार व्यस्तताले खाना समेत राम्ररी खान पाएकी छैनन्।
‘शुक्रबार धन दिवस थियो, ग्राहकहरूको भिडले सास बिसाउन समेत पाइएन’, सुब्बा भन्छिन्, ‘सामान्य दिनभन्दा दोब्बर व्यापार भयो। लक्ष्मीपुजाको दिन त झन् व्यापारले डाँडा काट्ने अनुमान छ।’
आन्दोलनले रेस्टुरेन्ट व्यवसायमा असर
तिहार छेक सधैं ‘फुल बुकिङ’ हुने नेपाली रेस्टुरेन्टहरूमा यसपाली हङकङमा केही महिनायता चलिरहेको आन्दोलनको असर परेको छ। तिहार पार्टीका लागि रेष्टुरेन्ट रिजर्भ गर्ने क्रम त चलिरेहको छ तर यसअघिका तिहारमा जस्तो भिडभाड छैन। कतिपय बुकिङहरू त रद्द भएको बगैंचा रेस्टुरेन्टका म्यानेजर तिर्थ राईले बताइन्।
‘गत वर्ष तिहारको छेक दिनहुँ फुल बुकिङ हुने गरेको थियो, आन्दोलनको कारण यातायात चाँडै बन्द हुने हुँदा यसपाली कतिपय बुकिङहरू रद्द हुन थालेको छ’, राई भन्छिन्, ‘यसपालीको तिहार गत वर्षहरूजस्तो रौनक हुने देखिँदैन।’
रेष्टुरेन्टका कतिपय पार्टीहरू रद्द भएपनि हङकङमा चलिरहेको आन्दोलनले तिहारलाई खासै असर नगर्ने धेरैको भनाइ छ। हङकङका अधिकांश नेपाली आफ्नो गच्छे अनुसार खर्च गरेर तिहार मनाउने मुडमा रहेको सामाजिक सञ्जालका पोष्टिङहरूबाट पनि देखिन्छ।
आखिर यो मन त हाम्रो नेपाली हो।
प्रतिक्रिया