चाइनिज युनिभर्सिटी अफ हङकङ (सीयूएचके)का पाँच वर्तमान तथा पूर्व विद्यार्थीलाई ५९ महिना सम्मको जेल सजाय तोकिएको छ।
करिब दुई वर्षअघि हङकङ आन्दोलनको क्रममा दंगा फैलाएको र मास्कमा लगाइएको प्रतिबन्ध पालना नगरेको आरोपमा उनीहरुलाई उक्त जेल सजाय सुनाइएको हो। करिब दुई वर्षअघि क्याम्पसमा हिंसात्मक प्रदर्शन भएको थियो।
सन् २०१९ मा भएको सरकारविरोधी प्रदर्शनमा संलग्न हुनेलाई न्यायाधीशले मंगलबार दोस्रोपटक जेल सजाय सुनाएका हुन्। वेस्ट काउलोन अदालतकी सहायक न्यायाधीश काथी चेउङ किट–यीले पाँच आरोपीले अदालतमा आफूलाई निर्दोष साबित गर्ने प्रमाण दिन नसकेको बताएकी छिन्।
मंगलबार सुनाइएको फैसलाअनुसार चारजनालाई ५७ महिनाको जेल सजाय सुनाइएको छ भने २३ वर्षीया एक महिलालाई ५९ महिनाको जेल सजाय सुनाइएको छ। अहिले जेल सजाय पाउने दुई जनाले उनीहरुमाथि लागेको मुद्दाको कारण आफ्नो पढाइ पूरा गर्न नपाउने भएका छन्।
५९ महिनाको जेल सजाय पाउने महिलाले भने आफ्नो प्रदर्शनमा सहभागी हुने निर्णयमा कुनै पछुतो नरहेको बताएकी छिन्। उनी नर्सिङकी छात्रा हुन्। उनले न्यायाधीशको फैसला तर्कहीन रहेको उल्लेख गरेकी छिन्।
प्रतिक्रिया