हङकङका स्वास्थ्य विशेषज्ञहरूले दैनिक पीसीआर परीक्षण र त्यसको नतिजा ८ घण्टाभन्दा कम समयमा उपलब्ध गराउन सकेको अवस्थामा बाहिरबाट आएका मानिसलाई होटल क्वारेन्टिनको नियम अन्त्य गर्न सुझाव दिएका छन्।
हङकङ विश्वविद्यालयको संक्रामक रोग विभागका प्रमुख प्रोफेसर इभान हङ फ्यान–नगाईले बाहिरबाट आउने मानिसहरुलाई क्वारेन्टिनको नियम हटाउन सकिने बताएका हुन्।
स्वास्थ्यमन्त्री लु चुङ–माउले पीसीआर परीक्षणको क्षमता र गति सुधार गर्ने नयाँ सरकारको लक्ष्य रहेको बताएको एक दिनपछि उनले यस्तो विचार व्यक्त गरेका हुन् ।
“२४ घण्टाको सट्टा, यदि हामी यसलाई आठ घण्टा वा चार घण्टामा झार्न सक्छौं भने यो कोभिडको वर्तमान लहरलाई नियन्त्रण गर्न धेरै महत्वपूर्ण हुनेछ”, उनले भने।
उनले पीसीआर परीक्षण क्षमता बढाउँदा ३+४ को ढाँचामा पनि ल्याउन सकिने बताए। जसअनुसार तीन दिनको होटल क्वारेन्टाइन र नियमित परीक्षणको साथ चार दिनको होम आइसोलेसन समावेश छ। यसो गर्दा लगातार सात दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने अवस्था नआउने हङले बताए।
अहिले विदेशबाट आएका पूर्ण खोप लगाएका यात्रुले तोकिएको क्वारेन्टिन होटेलमा सात दिन बस्नुपर्ने नियम छ र उनीहरूको आगमनको पहिलो दुई हप्तामा चारवटा पीसीआर परीक्षणहरू, साथै आइसोलेसनमा दैनिक एन्टिजेन परीक्षण गर्नुपर्छ।
Shares
प्रतिक्रिया