हङकङका ट्याक्सी चालक ड्यानियल वोङको मासिक आम्दानी करिब २१ हजार हङकङ डलर थियो। तर, रुस–युक्रेन युद्धको कारण इन्धनको भाउ बढेपछि उनी मारमा परे। उनीसँग अरु कुनै विकल्प थिएन। एलपीजीको मूल्य ४० प्रतिशत वृद्धि हुँदा उनको ट्याङ्की भर्न लाग्ने खर्च पनि तीन हजार डलरले बढ्यो ।
इन्धनको खर्च बढेसँगै वोङले आफ्नो परिवारलाई दिने समय घटाए। उनले आफ्ना ११ र १२ वर्षका छोराहरुलाई समय दिन पाएनन्। त्यस्तै उनीहरुको ट्युसन कक्षा पनि बन्द गरिदिए।
उनीहरुको विद्यालय बन्द हुँदा पनि अहिले वोङले उनीहरुलाई घुमाउन लैजान छाडेका छन्। सामान्यतया यसरी सातामा एक दिन बाहिर जाँदा सजिलै एक हजार हङकङ डलर खर्च हुने गरेको उनी बताउँछन्। यो पैसा बचाउनका लागि पनि उनले आफ्नो जीवनशैलीमा परिवर्तन गरेका हुन्। वोङजस्ता धेरै ट्याक्सी चालक अहिले बढ्दो इन्धनको भाउको कारण प्रभावित भएका छन्।
आधिकारिक तथ्यांकअनुसार हङकङमा पेट्रोलको औसत खुद्रा मूल्य जुन २०२० मा प्रतिलिटर १७.११ हङकङ डलर रहेकोमा गत मे महिनामा २२.३२ डलर पुगेको छ।
ग्यासको समग्रमूल्य मेअघिको १२ महिनामा ५५.६ प्रतिशतले बढेको छ । गत वर्षको जुनमा ग्यासको मूल्य प्रतिलिटर ३.९९ हङकङ डलरबाट बढेर गत मे महिनामा ५.४१ डलर पुगेको छ।
सरकारले ग्यासमा प्रतिलिटर दुई डलर सहुलियत दिँदै आएको छ। जुन आगामी डिसेम्बरमा सकिनेछ। हङकङ ट्याक्सी तथा सार्वजनिक हल्का सवारी संघका अध्यक्ष एडमन्ड चाउ क्वोक–केउङले औसतमा १२ घण्टा सिफ्टमा काम गर्ने चालकहरूले दैनिक ३५ देखि ४० लिटर ग्यास प्रयोग गर्ने बताए। संघमा १० हजारभन्दा धेरै सदस्य छन्।
ट्याक्सी चालकहरुको लागि धेरै पैसा कमाउने उपाय भनेको फोन तथा अनलाइन अर्डरमार्फत सेवा दिनु रहेको उनले बताए। तर, इन्धन भर्ने स्टेशनको लाइनको कारण १२ घण्टाको सिफ्टमा पनि आठदेखि नौघण्टासम्म मात्र काम गर्न सकिने चालक वोङ बताउँछन्।
न्यू टेरिटोरीज ग्रीन क्याब चालक ३८ वर्षीय लेउङ सिउ–मिङले सडकमा बढी समय बिताएर राम्रो आम्दानीको लागि आफ्नो साप्ताहिक बिदा त्यागेको बताउँछन्। इन्धनको खर्चले आम्दानी घटे पनि थप काम गरेर त्यसलाई सन्तुलनमा राखेको उनी बताउँछन्। उनले खानाको खर्च घटाउन पनि विभिन्न उपाय लगाउनुपरेको बताए।
ट्याक्सी सेवामा १७ वर्ष गुजारेका अनुभवी मार्टिन चु आफूले लगभग पूर्णरूपमा फोन अर्डरमा भर पर्न थालेको बताउँछन्।
“अन्धाधुन्ध भएर यात्रु खोज्नुको सट्टा, म केवल फोन अर्डर लिन्छु। म सवारीबाट कति कमाउँछु भनेर अनुमान गर्न सक्छु र लिने वा नलिने निर्णय गर्न सक्छु”, उनले भने।
जेसन (नाम परिवर्तन)ले तीन वर्षअघि आफ्नो रोजगारी छाडेर छोरीको हेरचाह गर्न थालेका थिए। अतिरिक्त आम्दानीका लागि उनले पनि पछिल्लो समय उबर ट्याक्सी चलाउन सुरु गरेका छन्। जेसनका अनुसार महँगो पेट्रोलले उनको औसत मासिक आम्दानी ४० प्रतिशत घटेको छ।
हङकङमा अनलाइन ट्याक्सी सेवा अवैध हो। यद्यपि हङकङमा यो सेवा लोकप्रिय छ। अहिले हङकङमा उबरका करिब १४ हजार चालक छन्।
चिनियाँ युनिभर्सिटीका एसिया प्यासिफिक इन्स्टिच्युट अफ बिजनेसका मानद फेलो साइमन ली सिउ–पोले इन्धनको बढ्दो मूल्य सरकारका लागि समस्या भएको बताउँदै पेट्रोलको करको समीक्षा र पेट्रोलको टेन्डर प्रणालीमा सुधार गर्न आग्रह गरे। साउथ चाइना मर्निङ पोस्टबाट
Shares
प्रतिक्रिया