कोभिड–१९ को पाँचौं लहरको सामना गरेको हङकङमा सबैभन्दा धेरै प्रभावित स्याहार केन्द्रहरु भए।
त्यसैले अहिले उनीहरु छैटौं लहरको संक्रमण फैलिन सक्ने आशंकाका साथ तयारी गरिरहेका छन्। यद्यपि उनीहरुले त्यसका लागि आवश्यक पर्ने कर्मचारी भने पाउन सकेका छैनन्।
गत अप्रिलमा हङकङका स्याहार केन्द्रहरुमा ११ हजार कर्मचारीको ठाउँ खाली थियो । तर अहिलेसम्म एक हजार कर्मचारी मात्र भर्ती भएका छन्।
हङकङको वेटरन्स सर्भिस एसोसिएसनका अध्यक्ष केनेथ चान चि–युकले सोमबार केयर होमहरुले पाँचौं लहरबाट महत्वपूर्ण पाठ सिकेको र भविष्यमा वृद्धहरुमा संक्रमणको जोखिम कम हुने विश्वास व्यक्त गरे। यसको एउटा कारण पछिल्लो समय बढेको खोपको दर पनि रहेको उनको भनाइ छ।
“पाँचौं लहरको महामारीमा, केयर होमका वृद्धहरूको खोप दर लगभग २० देखि ३० प्रतिशत मात्र थियो”, उनले भने, “तर अब तिनीहरूमध्ये ९२ प्रतिशतले पहिलो डोज प्राप्त गरिसकेका छन्, र ८३ प्रतिशतले पूरा डोज खोप पाएका छन्।”
हङकङका ७८७ अर्थात् करिब ९८ प्रतिशत केयर होममा अप्रिलको सुरुवातमा कोरोना संक्रमण देखिएको थियो। सहरमा कोरोनाको पाँचौं लहर गत डिसेम्बरमा सुरु भएर मार्चमा उच्च विन्दुमा पुगेको थियो।
अहिलेसम्म हङकङका केयर होममा कोरोनाबाट मृत्यु भएका पाँच हजार २८ मध्ये करिब ५५ प्रतिशतको मृत्यु पाँचौं लहर फैलिँदा भएको थियो। त्यतिबेला पनि स्याहार केन्द्रमा करिब ११ हजार कर्मचारीको अभाव थियो।
मेनल्याण्डबाट कर्मचारी ल्याउनका लागि हङकङका सात सयभन्दा धेरै केयर होमले आवेदन दिएका थिए। सरकारले पनि उनीहरुको लागि तीन हजारको कोटा छुट्याएको थियो। यद्यपि अहिलेसम्म मेनल्याण्डबाट केवल एक हजार मात्र कर्मचारी आएका छन्।
हङकङको कर्मचारी भर्तीको प्रक्रिया नै जटिल भएको कारण पनि पर्याप्त संख्यामा कर्मचारी चीनबाट आउन नसकेको जानकारहरुको भनाइ छ।
त्यसो त सरकारले सुरु गरेको हटलाइन सेवाले पनि केही हदसम्म मानिसहरुलाई सहयोग पुर्याउने जानकारहरुले बताएका छन्। केयर होमका संक्रमितलाई आइसोलेसनमा जान जान वा सकेसम्म छिटो चिकित्सकसम्म पुग्न हटलाइन सेवाको प्रयोग गर्न सकिन्छ।
तर केयर होममा कर्मचारी अभाव हङकङको लागि एक गम्भीर समस्या बन्दै गएको छ। नयाँ हङकङ प्रमुख जोन का–चिउको नेतृत्वमा नयाँ सरकारले थप मानिसहरुलाई स्याहार केन्द्रको तालिम दिन एकेडेमी स्थापना गरेर भए पनि समाधान खोज्ने विश्वास सरोकारवालाले व्यक्त गरेका छन्।
हस्पिटल अथोरिटीका पूर्व अध्यक्ष एडवर्ड लियोङ चे–हङले सरकारले केयर होममा काम गर्ने कर्मचारीलाई काममा कायम राख्ने योजना पनि ल्याउनु जरुरी रहेको बताए।
“केयर होममा जनशक्तिको अभाव लामो समयदेखिको समस्या हो। महामारीले मानिसहरूलाई यो गम्भीर विषय हो भनेर महसुस गराएको छ।”, उनले भने। उनले स्याहार केन्द्रमा मानिसहरुलाई आकर्षित गर्ने किसिमको योजना ल्याउन पनि सरकारसँग आग्रह गरे।
Shares
प्रतिक्रिया