हङकङमा अत्यधिक गर्मीको कारण हाइकिङ गएकी एक युवतीको मृत्यु भएको छ।
आइतबार हाइकिङमा ढलेकी महिलाको अस्पतालमा मृत्यु भएको हो। आइतबार हङकङको तापक्रम ३६.१ डिग्री सेल्सियस मापन गरिएको थियो। यो तापक्रम हङकङमा जुलाइमा मापन गरिएको अहिलेसम्मकै उच्च हो।
हङकङको प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ३३ वर्षीया इन्डोनेसियाली युवती पाट ह्युङ रहेकी छिन्।
उनी फ्यान काम रोडमा रहेको काई कुङ लेङ नजिकै हिँड्ने क्रममा आइतबार बेहोस भएर ढलेकी थिइन्। त्यससँगै उनका साथीहरुले अस्पताल पुर्याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हङकङका धेरै मौसम स्टेशनको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी थियो।
सोमबार भने हङकङका धेरै तातो क्षेत्रको तापक्रम पनि केही कम रहने अधिकारीहरुले बताएका छन्।
केही क्षेत्रमा भने तापक्रम ३६ डिग्री सेल्सियससम्म रहने चेतावनी दिइएको छ।
हङकङमा तापक्रम उच्च विन्दुमा पुगेसँगै गृह मन्त्रालयले रातको समयको लागि १८ स्थान सर्वसाधारणको लागि खुला गरेको छ।
Shares
प्रतिक्रिया