हङकङको सरकारले कोभिड–१९ नियन्त्रणको लागि लगाइएको क्वारेन्टिनको व्यवस्था केही खुकुलो बनाउने भएको छ।
बाहिरबाट आएका मानिसले अनिवार्यरुपमा सातदिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने नियम तीन वा चारदिनमा झार्ने तयारी भइरहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।
समाचारमा उल्लेख गरिएअनुसार बाहिरबाट आउने र संक्रमितहरुका लागि फरक फरक रङको प्रणाली लागू गर्ने तयारी गरिएको छ।
हङकङ सरकारले अहिले ३ दिन क्वारेन्टिन र ४ दिन होम आइसोलेसन वा ४ दिन क्वारेन्टिन र ३ दिन होम आइसोलेसनको विकल्पबारे छलफल भइरहेको समाचारमा उल्लेख छ।
यसअघि स्वास्थ्य विशेषज्ञहरुले ५ दिन क्वारेन्टिन र दुई दिन आइसोलेसनको योजना ल्याउनुपर्ने बताएका थिए।
यद्यपि सरकारी अधिकारीहरुले अहिले नै यो मितिदेखि नयाँ योजना कार्यान्वयनमा आउँछ भनेर भन्नु हतार हुने बताएका छन्।
सरकारको योजनाबारे थप छलफल गर्नु आवश्यक हुने उनीहरुको भनाइ छ। होटल क्वारेन्टिनमा बस्ने मानिसको तेस्रो दिनमा हुने कोरोना परीक्षणको नतिजाबारे आगामी दिनमा गरिने परीक्षणको नतिजाबारे गरिने थप अध्ययनपछि कसरी अघि बढ्ने भन्ने तय गरिने अधिकारीहरुको भनाइ छ।
त्यस्तै मानिसहरुलाई क्वारेन्टिनबाट बाहिर निस्किनको लागि दुई रङको स्वास्थ्य कोड प्रणाली लगाउने तयारी पनि भइरहेको अधिकारीहरुको भनाइ छ।
उनीहरुका अनुसार कोभिड–१९ को जोखिम भएका मानिसहरुका लागि पहेँलो रङको कोड दिइनेछ। अधिकारीका अनुसार सरकार क्वारेन्टिनलाई शून्यमा झार्ने योजनाका साथ अघि बढिरहेको छ। त्यसैको लागि यो अर्को एक कदम रहेको उनीहरुको भनाइ छ।
Shares
प्रतिक्रिया