हङकङकी ४७ वर्षीय टो हान्ह–डुयेन टाइ कोक–त्सुईले पछिल्लो एक महिनाभन्दा लामो समय सडकमा नै बिताइन्।
श्रीमानसँग छुट्टिएर एकल महिलाको रुपमा बस्दै आएकी उनी कतै बस्ने ठाउँ नभएपछि कहिले सार्वजनिक शौचालय त कहिले सार्वजनिक स्थलमा राखिएको र बिग्रिएका वासिङ मेसिनजस्ता ठाउँमा आश्रय लिइन्।
पहिला उनी चीनको शेन्जेन सहरमा बस्ने गरेकी थिइन्। जहाँ उनले एक फ्ल्याटको करिब एक हजार हङकङ डलर मासिक भाडा तिर्थिन्। पार्ट टाइम कामकै सिलसिलामा उनी हङकङ आइन्। जहाँ उनको दैनिक आम्दानी नै पाँच सय हङकङ डलर थियो। उनी पसलमा सामान बेच्ने काम गर्थिन्।
यद्यपि कोभिड–१९ को महामारीले उनको सीमा पारको यात्रामा असर पर्यो र उनले हङकङमा आफ्नो काम जारी राख्नका लागि होटलको भाडा तिर्नुपर्ने भयो। त्यो खर्च बेहोर्न नसक्ने भएपछि उनी चीन फर्किइन् तर भनेजस्तो काम भने पाइनन्।
आफ्नो सबैजसो बचत सकिएपछि गत जुनमा उनी हङकङ आइन्। त्यसपछि उनी हङकङकै सडकमा सुत्दै आएकी छिन्। अहिले भने एक गैर सरकारी संस्थाको सहयोगमा घरबारविहीनको लागि बनाइएको होस्टलमा बस्न थालेकी छिन्।
हङकङको आधिकारिक तथ्यांकले पनि पछिल्लो १० वर्षमा हङकङमा घरबारविहीनको संख्या उच्च विन्दुमा पुगेको देखाएको छ। गत वर्ष हङकङमा घरबारविहीनको संख्या १ हजार ५८१ थियो। यो संख्या २०२० मा १ हजार ५४१ थियो। २०१९ मा भने १ हजार ३४८ मात्र थियो।
सन् २०१२ को तुलनामा भने गत वर्ष देखिएको घरबारविहीनको संख्या झण्डै तीनगुणा हो। २०१२ मा घरबारविहीनको संख्या ५५५ मात्र थियो।
गत वर्ष भेटिएका घरबारविहीनमध्ये ६०१ जना मानिसहरु याउ टिम मोङ जिल्लामा पाइएका थिए। त्यस्तै शाम शुई पोमा ४२४ घरबारविहीन भेटिएका थिए। साइ कुङ जिल्लामा पनि १० वर्षको अवधिमा पहिलोपटक घरबारविहीन भेटिएका छन्।
पछिल्लो समय घरबारविहीन महिलाको संख्या पनि बढेको छ। २०१२ मा घरबारविहीन महिलाको संख्या २१ रहेकोमा गत वर्ष १७९ पुगेको छ। जानकार तथा अधिकारकर्मीहरु पछिल्लो दुई वर्षको अवधिमा कोभिड–१९ का महामारीको कारण घरबारविहीनको संख्या बढेको बताउँछन्। यो अवधिमा मानिसहरुको रोजगारी र आम्दानीमा असर पर्नुका साथै सीमा पारको यात्रा पनि रोकिनाले पनि धेरै मानिस समस्यामा परेका हुन्।
यद्यपि हङकङमा देखिएको यो समस्यालाई भने हल्कारुपमा लिन नहुने केहीको भनाइ छ। उनीहरुका अनुसार घरबारविहीनको संख्या आधिकारिक तथ्यांकभन्दा पनि धेरै हुन सक्छ।
लिबर रिसर्च कम्युनिटीका एक सदस्य वोङ शिउ–हुङ भन्छन्, ‘बढ्दो सम्पत्तिको अन्तर, घरजग्गाको समस्याका साथै सरकारी नीतिको कारण पनि घरबारविहीन हुनेको संख्या बढेको छ।’
उनले आम्दानी र सम्पत्तिको अन्तर बढ्नाले धेरै कम आम्दानी हुने रोजगारीमा तलब जति बढे पनि त्यसबाट दैनिक गुजारा चल्ने अवस्था नरहेको उनको भनाइ छ।
पछिल्लो समय आकाश छुने गरी बढेको भाडाको कारण पनि गरीब मानिसहरुका लागि सडकमा सुत्नको विकल्प नभएको उनी बताउँछन्। परिवार भएका मानिसले जसोतसो धाने पनि एकल मानिसहरुको लागि भने यो खर्च धान्नु निकै कठिन छ।
सोसाइटी फर कम्युनिटी अर्गनाइजेसनका एनजी वाइ–टुङ महामारीको कारण घरबारविहीनको अवस्था झनै बिग्रिएको बताउँछन्। उनको संस्थाले दुई सय घरबारविहीनलाई अस्थायी आवासको व्यवस्था गरेको छ।
हङकङका घरबारविहीन भएकाहरुमध्ये धेरैजसो मेनल्याण्ड चीनमा बस्ने र हङकङ काम गर्न आउने मानिसहरु छन्। महामारीको समयमा हङकङको सीमा बन्द भयो र उनीहरु फर्किन पाएनन्, त्यसैले उनीहरु सडकमा सुत्न बाध्य भए।
हङकङका केही गैरसरकारी संस्थाहरुले यसरी सडकमा सुत्दै आएका मानिसहरुलाई सहयोग गर्दै आएका छन्। साउथ चाइना मर्निङ पोष्टबाट
Shares
प्रतिक्रिया