पछिल्लो समय हङकङमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रममा छ।
कोरोना संक्रमण बढेसँगै यहाँ थप प्रतिबन्ध लाग्न सक्ने आशंका पनि बढिरहेको छ। त्यस्तै मानिसहरुमा संक्रमणको डर पनि बढेको छ। तर, हङकङका किन्डरगार्डेन कक्षा सञ्चालकले भने सरकारसँग भौतिक कक्षामा रोक नलगाउन आग्रह गरेका छन्।
बालबालिकाको सुरुवाती कक्षा सञ्चालन संघका अध्यक्ष रोसा चोव वाई चुन सरकारले कोरोनाका नयाँ संक्रमितको संख्या दैनिक १० हजार नाघेको अवस्थामा भौतिक कक्षा सञ्चालनमा रोक लाग्न सक्ने बताउँछिन्।
यद्यपि त्यसो नगर्न उनले सरकारसँग आग्रह पनि गरेकी छिन्।
पछिल्लो दुईदेखि तीन वर्ष कोरोना महामारीको कारण अन्योलको अवस्था सिर्जना भएको र यस बीचमा कक्षाहरु सञ्चालन हुने र रोकिने क्रम जारी रहेको चुनले बताइन्। अब भने भौतिक कक्षाहरु सञ्चालन हुन दिनु नै सबैभन्दा उत्तम हुने उनको भनाइ छ।
सोमबार हङकङमा कोरोनाका ८ हजार ४८८ नयाँ संक्रमित थपिएका थिए भने चारजनाको संक्रमणको कारण मृत्यु भएको थियो।
स्वास्थ्य विशेषज्ञहरुले आगामी दिनमा कोरोनाका नयाँ संक्रमितको संख्या आगामी दिनमा दैनिक १० हजार नाघ्न सक्ने चेतावनी दिँदै आएका छन्। अहिले सरकारले आधा दिन मात्र बालबालिकाको कक्षा सञ्चालनको अनुमति दिएको छ।
तर, केहीले भने आधा दिन पढाउने र आधा दिन केयर सर्भिस गरी पूरा दिन नै बालबालिकालाई विद्यालयमा राख्ने गरेका छन्।
गत जुन महिनामा सार्वजनिक भएको एक सर्वेक्षणमा हङकङका १० मध्ये १ किन्डरगार्डेन विद्यालयले अबको दुई वर्षमा आफ्नो विद्यालय बन्द हुन सक्ने बताएका थिए। बन्द हुनुमा घट्दो जन्मदर र कोरोना प्रतिबन्धको कारण बढ्दो आप्रवासनलगायतका कारण उल्लेख गरेका थिए।
बालबालिकालाई अभिभावकले कोरोनाको खोप नलगाएको कारण पनि समस्या उत्पन्न भएको अधिकारीहरुको भनाइ छ। भौतिक कक्षा सञ्चालन जारी राख्ने योजनामा अघि बढिरहँदा अभिभावकले पनि आफ्ना बालबालिकाहरुलाई पनि कोरोना खोप लगाउनुपर्ने चुनको भनाइ छ।
पछिल्लो केही समययता हङकङका बालबालिकामा कोरोना संक्रमण उल्लेख्य मात्रामा बढिरहेको समाचार आएसँगै त्यहाँका किन्डरगार्डेन कक्षाको विषयमा आशंका उत्पन्न भएको हो।
Shares
प्रतिक्रिया