हङकङका प्रमुख कार्यकारी जोन लीले मेनल्याण्ड चीनसँगको सीमा खोल्नका लागि ‘रिभर्स क्वारेन्टिन’ को प्रस्ताव गरेका छन्।
कोरोना महामारी सुरु भएयता निकै कडाइका साथ बन्द गरिएको सीमा खोल्न लीले नयाँ प्रस्ताव अघि सारेका हुन्। बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले यस विषयमा गुआङडाङ प्रान्तका अधिकारीबाट समर्थन पनि प्राप्त गरिसकेको बताएका छन्।
नयाँ प्रस्तावअनुसार अब मेनल्याण्ड चीन भ्रमण गर्नुभन्दा पहिला मानिसहरुले निश्चित अवधि हङकङमा नै आइसोलेसनमा बस्नुपर्ने हुन्छ।
त्यसपछि भने उनीहरुले स्वतन्त्ररुपमा चीन भ्रमण गर्न पाउनेछन्। भर्चुअल मिटिङमार्फत लीले गुआङडोङका अधिकारीहरुसँग प्रारम्भिक समर्थन हात पारेका हुन्।
अब यो कार्यक्रमलाई सही तरिकाले अघि बढाउन एक टास्क फोर्सं निर्माण गरिनेछ। अहिलेको नियमअनुसार हङकङबाट मेनल्याण्ड चीन भ्रमण गर्दा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने र तीन दिन होम सर्भिलेन्समा बस्नुपर्ने हुन्छ।
हङकङ प्रमुखको पद सम्हालेसँगै लीले हङकङको चीन र बाहिरी दुनियाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने वाचा गरेका थिए। सोही अनुसार नै अहिले उनी हङकङको अन्तर्राष्ट्रिय सीमा खोल्ने प्रयासमा छन्।
Shares
प्रतिक्रिया