हङकङमा क्युनेट गोर्खा ट्रेलब्लेजर हाईक एन्ड रन प्रतियोगिताको तेस्रो सस्करण आगामी फेब्रुअरी ८ तारिक हुने भएको छ।
गोर्खा सेमेट्ररी हङकङ (जीसीटी) र चाइल्ड वेल्फेर स्किम (सीडब्ल्यूएस) ले संयुक्त आयोजनामा गर्न लागिएको उक्त प्रतियोगिताको लागि अनलाइन मार्फत प्रवेश दर्ता खुल्ला गरिएको छ।
१२ र २६ किलोमिटर दुरिका लागि करिब ५०० सहभागीहरुका लागि दर्ता खुल्ला गरिएको उक्त प्रतियोगिताका लागि ईच्छुक धावक धाविकाहरुले जनवरी महिनाको अन्तिम सम्म नाम दर्ता गराउन सक्ने आयोजकका संयोजक आमोद राइले नेपालखबरलाई बताए। उनका अनुसार गत वर्ष करिब ३० राष्ट्रका ५०० धावक धविकाहरुले भाग लिएका थिए।
‘पहिलो सस्करणमै सोचेभन्दा राम्रो भएकोले दोस्रो सस्करण सफलताका साथ सम्पन्न गरियो’, उनले भने, ‘त्यसले हामीलाई थप अनुभव र ऊर्जा दिएको छ। र, हामी तेस्रोपटक तयारीको लागि युद्दस्तरमा लागेका छौँ। यो पटक अझ भब्यताको साथ सम्पन्न हुने कुरामा हामी विश्वस्त छौँ।’
प्रतियोगिता फेब्रुअरी ८ तारिक शनिबार लाउ शुइ हेउङ रिजर्भियरमा सम्पन्न हुनेछ। २६ किलोमिटर र १२ किलोमीटरका दौड क्रमशः ९ र ९ः३० मा सुरु हुनेछ। प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले नेपालबाट ट्रेल रनरलाई आमन्त्रण गर्ने परम्परा अनुसार यो वर्ष भोजपुर ट्रेल रनर बिजेता उमेश राईलाई प्रतियोगितामा समावेश गरिने संयोजक राईले बताए।
सन २०१८ बाट उक्त प्रतियोगिता विश्वयुद्धमा शान्ति स्थापनाका निम्ति आफ्नो जीवन बलिदान दिने वीर गोर्खा सैनिकहरूको सम्झना र सम्मानमा सुरु गरिएको हो।
गोर्खाहरुले सन् १९४८–९७ बीच हङकङको स्थायित्व र समृद्धिको लागि महत्त्वपूर्ण भूमिका निर्बाह गरेका थिए। उनीहरुले सिमाना सुरक्षा, प्राकृतिक प्रकोपको समयमा मानवीय सहयोग,वातावरणीय संरक्षण, तथा विश्वयुद्ध ताका प्रयोग गरिएका खतरनाक बम निस्कृय पार्ने जस्ता कार्यहरु गरेका थिए। वर्तमान विश्व चर्चित १०० किमी अक्सफान ट्रेल वाकसमेत गोर्खाहरुले नै सुरुवात गरेका थिए।
प्रतियोगिताबाट आयोजकहरुले ३ लाख ५० हजार हङकङ डलर संकलन गर्ने लक्ष्य राखेको छ। उक्त प्रतियोगिता बाट संकलित रकमले ट्रस्टका तर्फबाट अनलाइन हाइस्कूल डिप्लोमाका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, गोरखा ईतिहास संरक्षण र सम्बर्द्धन गर्ने योजना रहेको छ भने सीडब्ल्यूएसका तर्फबाट संकलित रकमको हिस्सा नेपालका बिपन्न सरकारी स्कूलहरुमा शिक्षाको गुणस्तर उकास्ने , शैक्षिक संसाधन र पूर्वाधारहरु जस्तै पुस्तकालय , शौचालय, सफा पानी, सुरक्षित कक्षा कोठा, कम्प्युटर जस्ता भौतिक पुर्बाधारहरुको सुधार गरि स्कूलहरूलाई सुरक्षित, विद्यार्थीमन्त्री वातावरण सिर्जना गर्ने , बाल तस्करी र शोषणबाट सुरक्षित वातावरण बनाउने जस्ता लक्ष्य राखेको छ।
हङकङ ट्रेल रनका लागि परिचित मानिन्छ। हङकङका नेपालीहरु उल्लेख्य मात्रामा यो खेलप्रति आकार्षित हुँदै आएका छन् भने उल्लेख्य सफलतासमेत हासिल गर्दै आएका छन्।
Shares
प्रतिक्रिया