सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डो सधैँ चर्चाको शिखरमा हुन्छन्। यो साता प्रतिसिजन २० करोड युरो कमाउनेगरी साउदी अरबको क्लबमा आबद्ध हुने चर्चासँगै उनी समाचारमा छाए।
तर, विश्वका महान् खेलाडीमध्ये एक रोनाल्डोको फुटबल करिअर समाप्तिको चरणमा छ। यस्तोमा उनको मैदानबाहिरका गतिविधिले बढी चर्चा बटुलिरहेका छ।
पछिल्लो समय उनले आफना १२ वर्षे छोरोलाई मोबाइल फोन चलाउन प्रतिबन्ध लगाउने र उनलाई सघन फिटनेससम्बन्धी क्रियाकलापमा सहभागी गराउने निर्णय लिएका छन्।
यी बाबुछोराले आआफ्नो ‘सिक्स प्याक’ प्रदर्शन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा देखिन्छन्। रोनाल्डो जुनियरको कसरतको भिडिओ युट्युबमा पनि लोकप्रिय छ।
‘मेरो छोरामा सम्भावना छ। ऊ ठूलो खेलाडी बन्छ, बन्दैन पछि थाहा हुन्छ। कहिलेकाहीँ ऊ कोक खान्छ, चिप्स खान्छ। मलाई दिक्क लाग्छ। उसले जुनसुकै पेसा रोजे पनि त्यसमा ऊ उत्कृष्ट होस् भन्ने मेरो चाहना छ। मेहनत सबैभन्दा महत्वपूर्ण छ भनेर म उसलाई सधैँ भन्छु,’ रोनाल्डोले हालै ट्विट गरेका थिए।
तर, मनोविज्ञान र लालनपालनबारे १२ पुस्तक लेखिसकेकी टेनिथ क्यारी भने बालबालिकालाई क्षमताभन्दा बढी पेल्न नहुने बताउँछिन्।
‘उनीहरुलाई आफ्नो क्षमताभन्दा ज्यादा धकेल्नु हुँदैन। थुप्रै बालबालिकामा ‘जसरी पनि सफल हुनुपर्छ’ भन्ने यो शैलीले काम गर्दैन। त्यस्ता बाबुआमाका बच्चा दुःखी हुँदै हुर्किए भने त्यसले फाइदाभन्दा हानि ज्यादा गर्छ,’ उनले भनिन्।
नेसनल युनिभर्सिटी अफ सिंगापुरका सहप्राध्यापक रायन होङले सिंगापुरका ती घरका बच्चाबारे एक अध्ययन गरेका छन्, जुन घरमा अभिभावकले बच्चालाई छिटो सफल हुन दबाब दिने गर्छन्।
त्यस्ता हस्तक्षेपकारी बाबुआमा भएका केटाकेटीले आत्मालोचना ज्यादा गर्ने मात्र होइन, पछि गएर एन्जाइटी र डिप्रेसनको सिकार हुने सम्भावना पनि ज्यादा रहेको होङले पत्ता लगाए।
‘जब अभिभावकले सन्तानको निजी जिन्दगीमा हस्तक्षेप गर्छन्, तब आफूले गरेको कुनै पनि काम गतिलो नभएको महसुस उनीहरुलाई हुन्छ,’ होङले भने।
यस्ता आमाबुबालाई कठोर अभिभावक (टाइगर मम, टाइगर ड्याड) भन्ने गरिन्छ। तर, कठोर बुबाभन्दा कठोर आमा फरक हुने क्यारी बताउँछिन्। उनका अनुसार कठोर बुबाहरु आफ्नो सन्तानको उपलब्धिबारे खुल्लमखुला प्रतिस्पर्धात्मक हुन्छन् भने आमाहरुले भने गुप्त रुपले केटाकेटीलाई अघि बढ्न उत्प्रेरित गर्छन्।
‘आमाहरु आफ्नो सन्तान प्राकृतिक रुपले नै प्रतिभाशाली छ भन्ने हिसाबले हेर्छन्,’ उनले भनिन्।
तर, कठोर बुबाहरु भने सन्तानका लागि लक्ष्य निर्धारित गरिदिनमा ज्यादा खुसी मान्छन्।
हङकङका फिटनेस ट्रेनर तथा दुई बच्चाका बाबु नेथन सोलिया बालबालिकालाई ज्यादा दबाब दिनु प्रत्युत्पादक हुने बताउँछन्। उनका १२ र १० वर्षका छोरा र छोरी छन्।
‘मेरा केटाकेटी चिड्चिडे भए अथवा उनीहरुको गर्धन दुख्यो भने कसरत नगरेर त्यस्तो भएको हो भन्छु म,’ उनले भने, ‘उनीहरुलाई कसरतको फाइदा र नगर्दाको प्रतिफल देखाउनुस्।’
बालबालिकाले प्रत्येक दिन कुनै न कुनै खालको कसरत गर्नुपर्ने सोलियाको भनाइ छ। हलचल नगरी बस्दाको खराब नतिजा आफूले देखेको उनी बताउँछन्।
‘तपाईंको सन्तान के गर्न मन पराउँछन्, पत्ता लगाउनुस् र त्यसमा प्रोत्साहन गर्नुहोस्। खेलकुदमा जबर्जस्ती नगर्नुहोस्। कसरतलाई खेलजस्तो रमाइलो बनाउने कोसिस गर्नुहोस्,’ उनको सल्लाह छ।
कोर्दुला कोतान्को आफ्नी १० वर्षीया छोरीको मोबाइल चलाउने बानीलाई निगरानी गर्छिन्। उनकी छोरीको आँखाले धमिलो देख्न थाल्यो र आइ–ब्लिचिङ भएको पत्ता लाग्यो।
‘केही हप्ता ऊ विद्युतीय सामग्रीबाट टाढा बसी। त्यसबेला गाह्रो भयो, किनभने कोभिड थियो,’ सिंगापुरमा बसिरहेकी उनले भनिन्, ‘मैले आइ–ब्लिचिङको बारेमा कहिल्यै सुनेकी थिइनँ तर त्यसपछि निकै खोजी गरेँ।’
उनले विद्युतीय सामग्रीबाट निस्किने ब्लु लाइटले आँखामा पार्ने असरबारे थाहा पाइन्। त्यसपछि छोरीलाई मोबाइलबाट टाढा राख्न थालिन्। एससीएमपी
Shares
प्रतिक्रिया