चर्को विरोध र हिंस्रक प्रदर्शनपछि उक्त विधेयक सरकारले फिर्ता लिइसकेको छ। यद्यपी आन्दोलन अझैपनि रोकिन सकेको छैन। हङकङ आन्दोलनमा युवाहरुको उल्लेखनीय सहभागिता देख्न सकिन्छ।
यद्यपी बेइजिङले हालै हङकङ सरकारविरुद्ध आन्दोलन चर्काउने प्रदर्शनकारीले युवालाई प्रतिनिधित्व नगर्ने बताएको छ।
बेइजिङले प्रदर्शनकारीलाई दंगाकारीको संज्ञा दिएको छ। बेइजिङका अनुसार प्रदर्शनकारीले विनाकारण आन्दोलन गरिरहेका छन्।
सोमबार एक कार्यक्रममा हङकङका लागि विदेश मामिला मन्त्रालयका आयुक्त सेइ फेङले हङकङका दंगाकारीले युवाको प्रतिनिधित्व नगर्ने बताएका हुन्।
‘कालो टि–सर्टधारी दंगाकारीहरुले गत ६ महिना बाट हङकङ लाई सबैभन्दा खतरनाक स्थितिमा धकेलेका छन् तर उनीहरु अल्पसंख्यक हुन् जसले हङकङ शहरका युवाहरूको प्रतिनिधित्व गर्दैनन्।’ फेङले भने,‘कतिपय युवाहरूले बाटो बिराएर कानुन भंग गर्दै हिंसात्मक घटनाहरू गराउँदै सडकमा उत्रिएका देख्दा हामीलाई दुःख लागेको छ।’
आयुक्त सेइ फेङ हङकङकी कार्यकारी क्यारी लामसँग
सो क्रममा उनले आशावादी हुँदै भने,‘मलाई विश्वास छ कि हङकङका अधिकांश युवाहरूले आफ्नो देश र शहरलाई माया गर्ने असल परम्परा र विरासतका रुपमा लिएका छन् र उनीहरू हङकङको स्थायित्व र समृद्धिका लागि नयाँ आशाको किरण हुन्।’
फेङले सबै नागरिक देश प्रेममा अडिग रहनु पर्ने बताए। उनी भन्छन्,‘जसले आफ्नो देशलाई माया गर्दैन उसले अरुको सम्मान कहिले पनि पाउँदैन।’
उनले देशलाई माया गर्न जनताले ‘एक देश, दुई प्रणाली सिद्धान्त’लाई आत्मसात गर्नुपर्ने पनि उल्लेख गरे।
उनी भन्छन्,‘जसले देशलाई माया गर्छ उसले एक देश, दुई प्रणाली सिद्धान्तलाई आत्मसात गर्दछ। देशमा आइपरेको बाह्य हस्तक्षेपलाई कडाइका साथ विरोध गर्दछ र राष्ट्रिय सार्वभौमिकताको पक्षमा गर्व पर्दछ।’
प्रतिक्रिया