नेपालीहरुको घनाबस्ती रहेको यौ मा तेइमा एकै दिनमा ९० मिनेटको अन्तरमा दुई लुटपाटका घटना भएका छन्।
सोमबार बिहान करिब १०ः४५ बजे यौ मा तेइ एमटिआर(रेल स्टेसन) स्टेसन एक्जिट सि को बाहिर पट्टि नाथन रोडमा पैदल यात्रा गरिरहेको एक ब्यक्ती माथि दुई लुटेराहरुले टाउकोमा लट्ठी प्रहार गरी भुईंमा लडाई झोलामा रहेको नगद २ लाख हङकङ डलर लुटी फरार भएका छन्। नकाब लगाएका लुटेराहरु झन्डै २० वर्ष उमेरका दुई चिनियाँहरु हुन सक्ने प्रहरीको अनुमान छ। पीडितले नजिकैको बैंकबाट पैसा निकालेका थिए। घाइते पीडितलाई नजिकैको कुङ्वा अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ।
त्यसै गरी अपरान्ह अन्दाजी १२ः१५ बजे तिर यौ मा तेइ कै ३५३ साङ्घाई स्ट्रीटमा रहेको गरगहना पसलमा नकाबधारी ६ जना लुटेराहरुले चक्कु देखाई ह्याम्मरले सिसा तोडफोड गरी १२ लाख बराबरको गरगहनाहरु लुटेर प्रहरी आउन अगावै फरार भएका छन्। चोरी मा संलग्न हुनेहरु चिनियाँ र दक्षिण एशियाली मुलका पुरुषहरु रहेको प्रहरीले बताएको छ।
झन्डै ७० वर्षका उमेरका जोडी पसलका मालिकहरू घटनाको समय पसल मै थिए। उनीहरु सकुशल रहेका छन्। घटनामा बारे प्रहरीले प्रारम्भिक अनुसान्धन थालेको छ भने लुटेराहरुको खोजी कार्य जारी छ।
यौ मा तेई क्षेत्रमा साना ठुला गरी झन्डै आधा दर्जन नेपालीहरुको गहना पसल हरु पनि सञ्चालित छन्।
गत आइतवार राति कज वे बे स्थित एक घडी पसलमा तीन लुटेराहरुले सिसा तोडि ६ लाख डलर बराबरको घडी लुटेको समाचार सेलाउन नपाउँदै उक्त घटना घटेको हो।हङकङमा बिगत ६ महिनाबाट चलिरहेको सरकार बिरोधी आन्दोलन चर्किरहँदा चोरीको घटना तिब्र रुपमा हुन थालेको छ।
Shares
प्रतिक्रिया