हङकङमा नेपाल भ्रमण वर्ष २०२० को एक कार्यक्रम मार्फत औपचारिक उद्घाटन गरिएको छ। नेपाली महावाणिज्यदूत हङकङको प्रमुख आयोजनामा आइतवार अपरान्ह २:३० बजे सेन्ट्रल स्थित अब्जर्भेसन ह्विल बाहिर कार्यक्रम उद्घाटन गरिएको हो।
कार्यक्रममा हङकङ सरकारको तर्फबाट पर्यटन मन्त्रालयकी सहायक आयुक्त क्याथरिन छोई प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिईन्। छोईले नेपाल भ्रमण वर्ष सफलताको कामना गरिन्। महावाणिज्यदूत कमल प्रसाद भट्टराईले नेपालमा पर्यटनको महत्त्व उजागर गर्दै कार्यक्रमको औचित्य प्रष्टाएका थिए।
कार्यक्रममा तीन पटकसम्म सगरमाथाको सफल आरोहण गरेका हङकङका जोन चाङ चि सिङलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतको रुपमा घोषित गरियो।
कार्यक्रममा विभिन्न जनजातिहरुको सांस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरियो। यस्तै नेपाल झल्काउने विभिन्न किसिमका सामग्रीहरु प्रदर्शन गर्दै नौमती बाजागाजाको साथ बिग बसबाट हङकङको प्रमुख पर्यटकीय स्थलहरु सेन्ट्रल, कजवे बे, वान चाई, मिड लेबल लगायतका स्थानहरु परिक्रमा गरिएको थियो।
साे क्रममा पैदलयात्रीहरुको राम्ररी ध्यानाकर्षण भएकाे थियो। विशेष गरी चिनियाँहरुलाई लक्षित गरिएको उक्त कार्यक्रम हङकङ लगायत मुख्यभूमी चीनका जनताहरु नेपाल जान थप उत्साहित हुने महावाणिज्यदूत भट्टराईले नेपालखबरलाई बताए। चिनियाँहरुलाई निशुल्क भिसा समेत दिइँदै आएको उनले जानकारी दिए।
नेपाल भ्रमण वर्षको प्रचारप्रसार कार्यक्रम निरन्तर चलिरहने बताउँदै यही जनवरी १२ का दिन मकाउमा समेत भ्रमण वर्षको औपचारिक कार्यक्रम रहेको जानकारी दिए।
कार्यक्रमका लागि गैर आवासीय नेपाली संघ हङकङ सह आयोजकको रुपमा रहेको थियो भने अन्य विभिन्न संघ सस्थाहरुको समेतको सहभागिता रहेको थियो।कार्यक्रम स्थानीय चिनियाँ, ब्यापारी, विद्यार्थी, विभिन्न देशका कुटनैतिक ब्यक्तित्वहरु लगायत करिब ४ सय जनाको सहभागिता रहेको थियो।
प्रतिक्रिया