जनवरी २०२१ मा हङकङनजिकै अमेरिकी र चिनियाँ सेनाबीच टक्कर परेको खुलासा भएको छ। वासिङ्टनमा ट्रम्प समर्थकले दंगा मच्चाउनुअघि जनवरी ५ का दिन सो घटना भएको थियो।
त्यो दिन अमेरिकी सैन्य विमान चिनियाँ पण्डुब्बी जहाजको खोजी गर्दै हङकङको किनाराबाट १५० किलोमिटर नजिकै उडेको चिनियाँ जनमुक्ति सेना (पीएलए)को एक रिपोर्टमा हालै खुलासा गरिएको छ।
रिपोर्ट अनुसार त्यो बेला पीएलएले सो क्षेत्रमा सैन्य अभ्यास गरिरहेको थियो। पीएलएले तुरुन्त जवाफ फर्काएको रिपोर्टमा उल्लेख छ। तर, कसरी जवाफ फर्काएको भन्ने खुलासा गरिएको छैन।
सो क्रममा अमेरिकी सेनाले पण्डुब्बी खोजी गर्न पानीमा उतारेको सोनार सेन्सर यन्त्र पीएलएको हातमा पर्न नदिन आफैँले ध्वस्त पारेको पनि रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार अमेरिकाले जासुसी विमानबाट ती यन्त्र तोङ्सा टापु नजिकबाट छाडेको थियो। जुन टापु ताइवानको नियन्त्रणमा छ।
सो घटना भएको तीन दिनपछि जनवरी ८ मा अमेरिकी सेनाको चिफ्स अफ स्टाफका प्रमुख जर्नेल मार्क मिलीले चिनियाँ जर्नेलसँग फोनमा कुरा गर्दै अमेरिकाले युद्ध सुरु गर्ने स्थितिमा अग्रिम सूचना दिने बाचा गरेका थिए। एससीएमपी
Shares
प्रतिक्रिया